काठमाडौँ — नेपालले क्यानडालाई काठमाडौंमै भिसा कार्यालय खोल्नका लागि आग्रह गरेको छ । नेपाल र क्यानडाबीच बिहीबार ओटावा भएको तेस्रो नेपाल–क्यानडा द्वीपक्षीय परामर्श संयन्त्रको बैठकमा नेपालले उक्त प्रस्ताव राखेको हो ।
नेपाली टोलीको नेतृत्व गर्दै उक्त संयन्त्रको बैंठकमा भाग लिन पुगेका परराष्ट्र सचिव भरतराज पौड्यालले क्यानडामा नेपाली डायस्पोराको संख्या बढिरहेको तथा दुई मुलुकबीच जनता–जनता बीचको सम्बन्ध पनि बढिरहेको उल्लेख गर्दै क्यानडालाई अब काठमाडौंमै भिसा कार्यालय खोल्नका लागि आग्रह गरेका हुन् ।
नेपालीहरूले अहिले क्यानडाको भिसाका लागि भारतको राजधानी नयाँ दिल्लीमा आवेदन पठाउनु पर्छ । जसले गर्दा आर्थिक र समयका हिसाबले नेपालीहरूले समस्या झेल्नु परेको छन् ।
पौड्याल संयुक्त राष्ट्रसंघको ७७ औं महासभामा भाग लिएर क्यानडा गएका हुन् । नेपाली टोलीमा क्यानडाका राजदूत भृगु ढुंगानासहित अन्य सदस्य थिए । संयन्त्रमा क्यानडाको तर्फबाट सहायक उपमन्त्री ग्लोबल अफियर्स पल थोपिलको नेतृत्वमा टोली थियो ।
नेपाली राजदूतावास क्यानडाका अनुसार उक्त संयन्त्रको बैठकमा दुवै पक्षले द्वीपक्षीय चासोका विषयहरू विकास सहकार्य, व्यापार र लगानी, शिक्षा, संस्कृति, पर्यटन, जलवायु परिवर्तनसहित अन्य विषयमा छलफल गरेका थिए ।