काठमाडौं महानगरपालिकाले महिला प्रहरीलाई दुर्व्यवहार गरेको आरोप लागेका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेमाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ।
प्रहरी हवल्दार गंगा उप्रेतीले आफूलाई सुत्केरी हुँदा पाण्डेले दुर्व्यवहार गरेको भन्दै उजुरी दिएपछि त्यसबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले जानकारी दिए।
उक्त छानबिन समितिको संयोजकमा सामाजिक विकास विभागका प्रमुख गोपालप्रसाद पोखरेल छन् भने न्याय प्रशासन विभागकी सुमित्रा लामिछाने र सहरी योजना आयोगकी उपनिर्देशक सरिता कुमारी राई सदस्य छिन्।
‘छानबिन समिति पुस ८ गते गठन गरिएको हो,’ उनले भने, ‘समितिले १५ दिनभित्र प्रतिवेदन बुझाउने छ। त्यसपछि समितिले भनेअनुसार नै कारबाही प्रक्रिया अघि बढ्ने छ।’
गंगाले आफूलाई दुर्व्यवहार गरेको भन्दै मंसिर ९ गते प्रमुख प्रशासकीय अधिकृत अधिकारी र त्यसको केही समयपछि उपमेयर सुनिता डंगोलसमक्ष निवेदन दिएकी थिइन्।
त्यसपछि महानगरपालिकाले मंसिर १९ गते पाण्डेसँग स्पष्टीकरण सोधेको थियो। उनले पुस ५ मा मात्रै स्पष्टीकरण बुझाएका थिए।
यसबीचमा महिला प्रहरीले दुर्व्यवहारको उजुरी गरेपछि पाण्डेमाथि तत्काल छानबिन सुरू गर्नुपर्नेमा महानगरले उल्टो उनलाई पुरस्कृत गर्ने निर्णय गर्यो। महानगरको २८ औं स्थापना दिवसका अवसरमा मंसिर २९ गते पाण्डेलाई ‘महानगर गौरव’ पुरस्कार दिइएको थियो।
दुर्व्यवहारका आरोपी पाण्डेलाई पुरस्कृत गर्ने निर्णयमाथि महानगरभित्र मतभेद भएको स्रोत बताउँछ।
‘हामीले विवादित मान्छेलाई पुरस्कार दिनुहुँदैन भनेर भनेका थियौं,’ स्रोतले भन्यो, ‘वसन्त अधिकारीले मान्नुभएन। यस्ता कुरा आइरहन्छन् भनेर उहाँले तर्क गर्नुभयो। पाण्डेलाई पुरस्कृत गर्ने उहाँको एक्लौटी निर्णय थियो।’
अधिकारीले यो कुरा अस्वीकार गरे। आरोप लागे पनि पुष्टि नभइसकेकाले छनौट समितिकै निर्णयका आधारमा पाण्डेलाई पुरस्कृत गरिएको उनले बताए।
आफ्नो एकल निर्णय नभई, पाँच सदस्यीय छनौट समितिले पाण्डेलाई पुरस्कृत गर्ने निर्णय गरेको उनको भनाइ छ।
छनौट समितिका अधिकारी नै संयोजक थिए भने वित्त विभागका बुद्धरत्न मानन्धर, कानुन तथा मानव अधिकार विभागका वसन्त आचार्य, सम्पदा तथा पर्यटन विभागका अर्चना शाक्य र प्रशासन विभागका महेश काफ्ले सदस्य थिए।
‘उहाँ अरू सबै कुरामा उहाँ उत्कृष्ट हुनुहुन्थ्यो, कतै पनि दोष लगाउने ठाउँ थिएन,’ उनले भने, ‘त्यही पुष्टि नभएको एउटा आरोपका भरमा उहाँलाई पुरस्कार नदिन अयोग्य कसरी मान्नु?’
नगर प्रहरीको हवल्दार पदमा कार्यरत गंगा उप्रेतीले गत मंसिर ९ गते प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र त्यसको केही समयपछि उपमेयर सुनिता डंगोलसमक्ष निवेदन दिएकी थिइन्। तर उनीहरूले पाण्डेमाथि कुनै पनि कारबाही अघि बढाएका छैनन्। न मेयर बालेन शाहले कुनै कदम चालेका छन्।
न्यायिक समितिकी संयोजकसमेत रहेकी उपमेयर डंगोललाई यो विषयमा कारबाही चलाउने अधिकार छ। उनी भने आफूकहाँ निवेदन नै नपरेको भन्दै पन्छिएकी छन्।
‘हो, बाहिर मिडियाबाट मैले यस्तो कुरा सुनेँ तर मकहाँ निवेदन नै परेको छैन। पीडितले निवेदन नदिएसम्म मैले के गर्ने हो र? निवेदन पर्नुपर्यो नि त,’ डंगोलले सेतोपाटीसँग भनिन्।
गंगालाई पाण्डेले अपशब्द बोल्नेदेखि मानसिक तनाव दिने गरेको कुरा सार्वजनिक भएको दुई साता हुन लाग्यो। महानगरका एक अर्का कर्मचारीले पनि पाण्डेले गंगामाथि दुर्व्यवहार गरेको पुष्टि गरेका छन्।
कार्यस्थलमा महिलामाथि दुर्व्यवहार भएको सूचना मात्रै पाए पनि कार्यालयका प्रमुख/उपप्रमुखले छानबिन गरेर पीडितलाई न्याय दिलाउनुपर्ने थियो। तर नगर प्रहरी हवल्दार गंगा स्वयंले आफूलाई दुर्व्यवहार भएको भन्दै प्रशासनमा निवेदन दिँदा पनि महानगरका पदाधिकारीले कुनै कारबाही अघि बढाएका छैनन्। गंगाले प्रशासकीय अधिकृतसमक्ष दिएको निवेदन गत मंसिर ११ गते नै दर्ता भएको थियो।
२०७३ सालदेखि नगर प्रहरीको हवल्दार पदमा कार्यरत गंगा स्थायी कर्मचारी हुन्। गत माघदेखि उनी सुत्केरी बिदामा थिइन्। जेठमा फेरि ड्युटी गर्न फर्किइन्। सुत्केरी र गर्भवती महिला कर्मचारीलाई टेकुस्थित नगरपालिकाकै कार्यालयमा ड्युटी दिइन्थ्यो। अन्यत्रभन्दा सजिलो ड्युटी हुने भएकाले त्यहाँ खटाइन्थ्यो। सुत्केरी बिदा सकिएपछि उनी पनि त्यहीँ ड्युटी गर्थिन्।
गत असोजमा उनलाई टेकुबाट बागदरबारस्थित नगर प्रहरीको कार्यदल शाखामा सरूवा भएको मौखिक जानकारी आयो। त्यसपछि नै गंगा र नगर प्रहरी प्रमुख पाण्डेबीच समस्या उत्पन्न भएको देखिन्छ।
गंगाले आफ्नो स्वास्थ्य स्थितिका कारण कार्यदल शाखामा काम गर्न नसक्ने जानकारी पाण्डेसमक्ष दिन गएकी थिइन्। कार्यदल शाखामा कार्यरत नगर प्रहरीहरू बाहिर फिल्डमा खटिनुपर्छ। त्यतिखेर महानगरले अनधिकृत संरचना हटाउने, अतिक्रमित सार्वजनिक जग्गा खाली गर्ने र फुटपाथ व्यापारी हटाउने काम गरिरहेको थियो। नगर प्रहरी ती काममा सक्रिय हुनपर्थ्यो।
त्यस्ता काम गर्दा भारी उचाल्नुपर्ने, दौडधुप गर्नुपर्ने हुन्छ। शल्यक्रिया गरेको आफ्नो शरीरलाई त्यस्ता काम गर्दा गाह्रो हुने कुरा राख्न गंगा पाण्डेकहाँ गएकी थिइन्। यो कुरा गंगाले उपमेयर डंगोललाई दिएको निवेदनमा समेत उल्लेख छ।
तर पाण्डेले गंगाको कुरा सुनेनन्। ‘आफ्ना घरका समस्या घरमै राख्नू’ भन्ने जवाफ दिए। त्यति बेला पाण्डेले १२ घन्टा ड्युटी गर्न पनि आदेश दिएको उनको भनाइ छ।
‘आफूले रहरले पाएको बच्चा कसरी हुर्काउने आफैं विचार गर, १२ घन्टा ड्युटी गर्ने, नसके राजीनामा दिएर जाने,’ पाण्डेका भनाइ उद्धृत गर्दै गंगाले उजुरीमा लेखेकी छन्।
त्यसपछि गंगा चार दिन कार्यदल शाखामा गइन्। बाहिर दौडधुप र भारी उचाल्ने काम गरिन्। त्यसपछि उनको शल्यक्रिया गरेको पेटको भागबाट रगत आयो। डाक्टरकहाँ देखाउँदा पनि भारी नउचाल्न र दौडधुप नगर्न सुझाव पाइन्। स्वास्थ्यमा समस्या भएपछि उनी केही दिन बिदा बसिन्।
अलि सन्चो भएपछि उनले ड्युटी इन्चार्जलाई समस्या सुनाएकी थिइन्। ड्युटी इन्चार्जले उनलाई अफिसमै बस्ने काम मिलाइदिने भएका थिए। तर पाण्डे राजी भएनन्। उनी पनि फिल्डमा जान सकिनन्।
पाण्डेले अब उनलाई दिनदिनै आफ्नो कार्यकक्षमा बोलाउन थाले। उनले त्यो बेला वरिपरि मान्छे भए साविक ड्युटी गर्न भन्थे। मान्छे नभए अपशब्द बोल्दै गाली गर्थे। पाण्डेको दुर्व्यवहार बढ्दै गएपछि उनलाई डर लाग्न थालेको थियो। मानसिक तनाव भइरहेको थियो।
एकदिन पाण्डेले फेरि बोलाए। गंगाले फेरि पनि आफ्नो स्वास्थ्य अवस्थाको जानकारी गराउँदै बच्चालाई स्तनपान गराउनसमेत गाह्रो हुने भएकाले फिल्डमा जान नसक्ने बताइन्। पाण्डेले उनका कुरै सुनेनन्।
‘तैंले मेरो बच्चा पाएको होस् र तैंले जस्तो भन्यो त्यस्तै ड्युटी मिलाउनलाई? जागिर खान मन भए बच्चा घरमै छाडेर आउने, मन नभए राजीनामा दिने,’ पाण्डेले त्यति बेला आफूलाई भनेको कुरा गंगाले निवेदनमा लेखेकी छन्।
त्यो दिनपछि त गंगा कार्यालय जानसमेत सकिनन्। केही दिन बिदामा बसिन्। असोज १४ गते उनलाई कार्यालयमा उपस्थित हुन फोन आयो। उनी पनि आफ्नो सुनुवाइ नभए राजीनामा दिएर आउने सोच बनाएर कार्यालय गइन्। उनलाई छाड्न श्रीमान पनि गएका थिए। उनीहरूले बच्चा पनि साथै लगेका थिए।
गंगाको निवेदनमा उल्लेख भएअनुसार पाण्डेले उनलाई देख्नेबित्तिकै ‘बच्चा बोकेर आउने भए अहिल्यै राजीनामा दे’ भनेर थर्काए।
गंगाले राजीनामा दिने कुरा भनिन्। फेरि पाण्डेले तथानाम गाली गर्न थाले। पाण्डेले गाली गर्न थालेपछि गंगाका श्रीमानले फोनमा भिडिओ रेकर्ड गरेका थिए। त्यसपछि पाण्डेले गंगाका श्रीमानलाई पनि हातपात गरेको निवेदनमा उल्लेख छ। त्यो बेला मोबाइल पनि खोसे।
एक महिनासम्म मोबाइल पाण्डेले नै राखे। यो अवधिभरि गंगा कार्यालय जान सकिनन्। कात्तिक १७ गते मात्र आफूले मोबाइल पाएको गंगाले निवेदनमा उल्लेख गरेकी छन्। मोबाइलबाट आफूविरूद्धका प्रमाण हटाएपछि पाण्डेले आफ्नो तलब रोक्का गर्ने कारबाही अघि बढाएको निवेदनमा उल्लेख छ।
चुनावको आचारसंहिता फुकुवा भएपछि राजीनामा दिने सोचे पनि पाण्डेको अन्यायविरूद्ध निवेदन दिएको गंगाको भनाइ छ। ड्युटी मिलाउने कुरामा व्यक्तिगत रिसइबी साँधेर गालीगलौज, अभद्र व्यवहार गरेको र मानसिक तनाव दिएको गंगाको उजुरीमा उल्लेख छ।
यसबारे कुरा गर्दा पाण्डेले आफूमाथि लागेका सबै आरोप निराधार भएको बताएका छन्।
‘यी जे जेजति कुरा छन् ती सबै गलत हुन्,’ पाण्डेले सेतोपाटीसँग भने, ‘म सधैं नारी सशक्तीकरणबारे आवाज उठाउने व्यक्ति हुँ। यो सबै हाम्रो काम असफल बनाउन र संयन्त्र बिगार्न खोजिएको एक कार्य हो। यी सबै निराधार हुन्। यदि भएको भए उनी आफैं मिडियामा आएर बोल्थिन् नि!’
उनी आफैं मिडियामा आएर नबोलेको र आफूलाई असफल बनाउन खेलिएको खेल भएका कारण सबै कुरा झुटा भएको उनको दाबी छ।
गंगा भने उपप्रमुखबाट न्याय पाउने विश्वास गरेर बसेको उनी निकट एक कर्मचारीले बताए।
‘हामीले त गंगालाई यस विषयमा बोल भनेका थियौं तर उनी निवेदनमाथि कारबाही भयो भने न्याय पाइहाल्छु नि भन्ने आशमा बसिन्।तर मेयर र उपमेयरज्यूले किन चासो देखाउनुभएको छैन, अचम्म छ!’ उनले भने।