नेपाली कांग्रेसले आज निर्वाचनबाट संसदीय दलको नेता चयन गर्ने भएको छ।
आज बिहान ८ बजेदेखि १० बजेसम्म मतदान गर्न समय दिइएको छ। मतदान कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हुनेछ।
संसदीय दल नेताका लागि दुई जनाले मनोनयन दर्ता गरेका छन्। प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दिएका हुन्। संस्थापन पक्षबाट देउवा र संस्थापनइतर समूहबाट थापाले उम्मेदवारी दिएका छन्।
कांग्रेसबाट प्रतिनिधि सभामा ८९ जना सांसद छन्। उनीहरू नै मतदाता हुन्।
महामन्त्री थापाका पक्षमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेललगायत समर्थक छन्। उनीहरूले पार्टीभित्र रूपान्तरण र परिवर्तन जरूरी रहेको बताएका छन्।
सभापति देउवा पक्षले भने गठबन्धन गरेर चुनाव गरिएको र अब पनि गठबन्धनकै सरकार बन्ने भएकोले दल नेतामा देउवा हुनुपर्ने बताइरहेका छन्।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थायित्व र रूपान्तरणको लागि महामन्त्री गगनकुमार थापालाई संसदीय दलको नेतामा प्रस्ताव गरेको बताएका छन्।
मंगलबार पार्टीका महामन्त्री थापाको संसदीय दलको नेताको प्रस्तावका रूपमा कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबार पुगेका उनले आगामी पार्टी सभापतिको सहमतिको विषयमा भने भविष्यका दिनलाई हेर्दै अघि बढ्ने बताए।
‘हामीहरूको बीचमा धेरै छलफल भयो। गगन थापाले भने जस्तै स्थायित्व र निरन्तरताको लागि हामीले गगन थापालाई संसदीय दलको नेतामा अगाडि सारेका हौं। आगामी पार्टी सभापतिको सहमतिको विषयमा भोलिका दिनहरू हेर्दै जानुपर्छ। त्यो विषयमा गगनजीले बोलिसक्नुभएको छ,’ उनले भने।
नेपाली कांग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन्।
देउवाको प्रस्तावकमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल छन् भने समर्थकमा पूर्णबहादुर खड्का छन्।
यस्तै महामन्त्री थापाको प्रस्तावकमा शेखर कोईराला छन्। समर्थनमा महमन्त्री विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेल र उपसभापति धनराज गुरूङ छन्।
संसदीय दलको नेता चयनका लागि कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य मतदाता हुन्छन् । ८९ जना मतदाता रहेका छन् । संसदीय दलको नेता निर्वाचित हुन ५० प्रतिशत मत कटाउनुपर्ने हुन्छ । यसअनुसार संसदीय दलको नेता बन्न ४५ सांसदको समर्थन जुटाउनुपर्ने देखिन्छ ।