कांग्रेसमा शेखरको नयाँ नेतृत्व आउने संकेत

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको सँघारमा अहिले पूरा नेपाल नै कांग्रेसमय भएको छ । नेकपा एमालेको अधिवेशनमा पनि पहिलो दिन चहलपहल धेरै नै थियो । तर पछिल्ला दिनमा निर्वाचनको समयमा सन्‍नाटा छाएजस्तै भयो । किनभने सहमतिको अधिवेशन भन्दै केही इच्छुक प्रत्याशीले पनि उम्मेदवारी दिन नपाएको गुनासो सुनियो ।

यसका नेतालाई सहमतिका लागि सर्वाधिकार सम्पन्‍न बनाइयो । अन्ततः केही स्थानमा प्रतिस्पर्धा भयो भने बाँकी स्थानमा पार्टी नेताको इच्छाअनुसार तय भयो । तर नेपाली कांग्रेसमा उम्मेदवारीको दिनमा देखिएको जीवन्तताले नेपाली कांग्रेसको प्रजातान्त्रिक चरित्रलाई प्रतिविम्बित गरेको छ । अहिले तीन तीन समूहको बीच प्रतिस्पर्धा भइरहेको छ । यसो हेर्दा यथास्थितिवादी तथा परिवर्तनका वाहकको बीचमा प्रतियोगिता हुँदै गरेको जस्तो देखिन्छ ।

अहिलेको निर्वाचनमा त्रिकोणीय प्रतिद्वन्द्विता भइरहेको छ । एउटा समूहबाट नेपाली कांग्रेसका सभापति तथा वर्तमान प्रधानमन्त्रीले सभापतिको उम्मेदवारी दिएका छन् भने अर्काे समूहबाट पूर्वउपप्रधानमन्त्री, नेपाली कांग्रेसका पूर्वउपसभापति तथा केन्द्रीय समितिका सदस्य साथै गणेशमानका सुपुत्र श्री प्रकाशमानसिंह सभापतिका प्रत्याशी भएका छन् ।

तेस्रो समूहका सभापतिका उम्मेदवार केन्द्रीय सदस्य शेखर कोइराला देखिएका छन् । उपसभापतिमा देउवा समूहबाट पूर्णबहादुर खड्का र विजय गच्छदार, सिंह पक्षबाट सुजाता कोइराला तथा कोइराला पक्षबाट चन्द्र भण्डारी तथा धनराज गुरुङले उम्मेदवारी दिएका छन् । तीनवटै समूहबाट महासचिवको पदमा युवा नेताले इच्छा प्रदर्शन गरेका छन् । देउवा समूहबाट प्रदीप पौडेल, सिंह समूहबाट विश्वप्रकाश शर्मा तथा कोइराला समूहबाट गगन थापाले आफनू नाम दर्ता गरेका छन् । सहमहामन्त्री तथा अन्य पदमा तीनै समूहबाट सुप्रसिद्ध व्यक्तिले उम्मेदवारी दिएका छन् । अन्य सभापतिका उम्मेदवारमा विमलेन्द्र निधि, कल्याण गुरुङ रहेका छन् ।

निर्वाचनको विजयमा सबै समूहका सदस्यको भूमिका रहन्छ । तर बहुधा सभापतिलाई समूहको मुहारको रूपमा हेर्ने गरिन्छ । त्यसकारण देउवा, सिंह र कोइरालाको तुलना पर्यवेक्षकहरूले गरेका छन् । देउवा पदाशीन तथा बहालवाला प्रधानमन्त्री एवं सभापति हुन् । त्यसै गरी सिंह पनि उपप्रधानमन्त्री तथा उपसभापति भइसकेका छन् । कोइरालाले त्यस्तो पदभार अहिलेसम्म ग्रहण गरेका छैनन् । यो भन्दा पहिले भएको सभापतिको निर्वाचनमा देउवा विजयी भएका हुन् । पहिलो चरणमा भएको उनी, रामचन्द्र पौडेल तथा कृष्ण सिटौलाको बीच प्रतिस्पर्धा भयो । कसैले पनि ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न सकेनन् । पार्टीको विधानअनुसार प्रथम तथा दोस्रो अधिकतम मत ल्याउने उनी र रामचन्द्र पौडेलको बीचमा फेरि निर्वाचन भयो । यस निर्वाचनमा अधिकतम मत प्राप्त गरेकाले देउवा विजयी भए ।

प्रकाशमान सिंह पनि अत्यधिक मत ल्याएर १२ औं अधिवेशनमा उपसभापतिमा निर्वाचित भएका थिए । शेखर कोइरालाले १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरेका थिए र सबैभन्दा उच्च मत ल्याएर उनी विजयी भए । यसबाट पार्टीभित्र देउवा र सिंहको भन्दा शेखर कोइरालाको लोकप्रियता कम होइन समानान्तर या सीमान्त रूपमा बढी भएको आँकलन गर्न सकिन्छ । देउवा, सिंह र कोइरालाको बीच विद्यमान उल्लेख्य अन्तर भनेको देउवाको वर्तमान सरकार तथा पार्टीमा एवं प्रकाशमान सिंहको विगतमा भएको उपस्थिति अथवा पदाशीनता हो ।

बहालवाला नेताले फेरि विजय प्राप्त गर्न सक्ने नसक्नेबारे विभिन्‍न अध्ययन भएका छन् । एउटा यस्तो अध्ययनमा पदाशीनता, कम मतदाता सहयोगका साथ सरकारमा अनुपस्थिति, विशाल मतदाता सहयोगका साथ सरकारमा उपस्थिति एवं विशाल मतदाता सहयोगलाई आधार लिइएको छ । यो अध्ययन सन् १९९० देखि २०२० सम्मका युरोपका चार देश जर्मनी, इटाली, फ्रान्स तथा स्पेनका साम्यवादी, समाजवादी सबै गरी १६ राजनीतिक दललाई लिएर गरिएको थियो ।

यसका लागि ४ वटा अनुकल्पनाको सूत्रपात गरिएको छ । पहिलो पदाशीन व्यक्तिको विजयी हुने सम्भावना बढी रहन्छ । दोस्रो कम मतदाता सहयोग तथा सरकारमा अनुपस्थिति रहे पनि जीत हुन सक्तछ । तेस्रोे सरकारमा उपस्थिति तथा विशाल मतदाता सहयोग भएमा पनि सफलता हात लाग्न सक्तछ र चौथो विशाल मत प्राप्त भयो पनि विजय हासिल हुन सक्तछ । यी अनुकल्पनामा विषमता, सम परिमाण सम्भावना तथा घटनायोगकृत संकटलाई कार्य कारणका कारकका रुपमा लिइएको छ । यी संरुपण अध्ययनमा कार्य कारणको सिद्धान्तका अन्तरनिहित विशेषता हुन ।

यसका लागि गुणात्मक तथा तुलनात्मक विश्लेषण विधिको उपयोग गरिएको थियो । किनभने यो परिप्रेक्ष्यमा यसलाई अति विकसित, प्रचलित तथा सुपरिचित विधि हो । युरोपको आर्थिक, राजनीतिक तथा सांस्कृतिक अवस्था नेपालबाट फरक भएको हुनाले यसको निष्कर्ष कति उपयुक्त हुन्छ भन्‍ने प्रश्न स्वाभाविक रूपमा उठ्दछ । तर यस सैद्धान्तिक अध्ययनबाट आएको निष्कर्ष हाम्रो देशमा भर्खरै भएका समान खालका राजनीतिक परिघटनालाई मध्यनजर गर्दा अभिरुचिपूर्ण रूपमा मिलेको पाइएको छ ।

अनुसन्धानबाट प्रथमतः के थाहा भएको छ भने पदाशीन भएको खण्डमा विजय प्राप्त हुन सक्तछ । बहालवाला उम्मेदवारको विजयको सम्भावना बढी हुन्छ । परन्तु बहाली अधिक समय भएको अवस्थामा विजयको सम्भावना कम हँुदै जान्छ । यसबाट के थाहा भयो भने देउवा बहालवाला भएकाले उनको विजयको सम्भावना बढी भए पनि उनको बहालीको अवधि बढी भएकाले यो कम हुँदै जान सक्तछ । उनी पॉच पॉच पटक प्रधानमन्त्री भएका र अहिले सभापतिको पदमा विद्यमान भएका हुनाले यो अनुकल्पनाअनुसार कम अवधि बहाली भएका सिंह र विशेष गरेर शेखर कोइरालाको सम्भावना सीमान्त रूपमा बढी भयो ।

दोस्रो सरकारमा नरहेको तर सामान्य मतदाता सहयोग भएको उम्मेदवारको पनि विजयको सम्भावना बढी रहन्छ । कोइराला सरकारमा नरहेका र विशाल मतदाता सहयोग भएकाले यस पाटोमा पनि उनी देउवा तथा सिंहभन्दा अगाडि देखिन्छन् । यो किन पनि हो भने सरकारमा रहँदा विभिन्‍न गल्ती भइरहेका हुन्छन् तर सरकारमा नहुँदा यस्तो हुँदैन ।

तेस्रो सरकारमा उपस्थिति भएको तथा विशाल मतदाताको सहयोग दुबै भएमा विजय हासिल गर्न सकिन्छ । यसअनुरूप देउवाको विजय हुने सम्भावना बढी देखिन्छ । तर उनी कोइराला तथा सिंहजस्तो अत्यधिक मतले विजयी भएका होइनन् । गत अधिवेशनमा भएको सभापतिको निर्वाचनको पहिलो चरणमा उनले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेर दोस्रो चरणको मतदान भयो । तर सिंह र कोइरालाले अत्यधिक मतले विजय प्राप्त गरेका थिए । त्यसकारण यस परिप्रेक्षमा पनि सिंह र विशेष गरी कोइरालाको सम्भावना बढी भयो किनभने कोइराला १३ औं अधिवेशनमा विजयी भएका थिए भने सिंह १२ औँ मा । कोइरालाको लोकप्रियता सिंहको भन्दा ताजा छ ।

चौथो विगतको निर्वाचनमा विशाल मत प्राप्त भयो भने पनि विजयी हुने सम्भावना बढी रहन्छ । विगतको निर्वाचनमा सिंह र कोइरालाले अत्यधिक मत ल्याएर विजय प्राप्त गरेकाले सिंह र विशेष गरेर कोइरालाको सम्भावना बढी देखियो । यो सैद्धान्तिक स्थापनालाई व्यावहारिक रूपमा पनि परीक्षण गर्न सकिन्छ । हालै एमालेको अधिवेशन समाप्त भयो । यसमा केपी ओलीको विजय तथा डा.भीम रावलको पराजय भयो । ओली पदाशीनताले गर्दा विजयी भए । यदि उनको पदाशीनता बढी अवधिको भए उनको पराजयको सम्भावना थियो । रावल विभिन्‍न समयमा सरकारमा रहे । यदि उनको सरकारमा अनुपस्थिति रहेको भए विजयको संभावना हुन्थ्यो । अनुसन्धानको एक निष्कर्ष अनुसार सरकारमा रहेर पनि विशाल मतदाता सहयोग भए पनि विजयको सम्भावना हुन्छ । तर ओली तथा रावलको तुलना गर्दा दुबै सरकारमा रहेका र मतदाताको सहयोग ओलीकै बढी भएको हुनाले उनको विजय भयो ।

दोस्रो राजनीतिक परिघटना राप्रपाको अधिवेशन हो । कमल थापा निर्वाचनको बेला पार्टीमा पदाशीन धेरै समय भएका हुनाले उनको पराजय भएको हो । राजेन्द्र लिङ्देन सरकारमा रहे तापनि तुलनात्मक रूपमा कम समय रहेका हुनाले उनले जीत हात पारे । त्यसै गरी भर्खरै भएको संघीय निर्वाचनमा उनले अत्यधिक मत ल्याएर एक मात्र राष्ट्रिय प्रजातन्त्र पार्टीको संसद्का रूपमा विजयी भएका थिए भने कमल थापाले हार बेहोर्नुपरेको थियो । त्यसकारण माथिका अनुसन्धानबाट निस्किएका निष्कर्ष युरोपको परिवेशमा गरिएको भए तापनि नेपालमा भएका भर्खरैका राजनीतिक परिघटनाले यिनलाई पुष्टि गरेको छ ।

माथि लेखिए अनुसारका सैद्धान्तिक प्रक्षेपण नेपालको सन्दर्भमा पनि उचित देखिएको आधारअनुसार यस निर्वाचनमा कोइरालाको विजय हुने सम्भावनालाई उजागर पारेको छ । यसका अन्य कारण पनि विद्यमान छन् । देउवाको छात्र नेताका रूपमा कार्य सम्पादन सह्रानीय भए पनि उनी सत्तामा आएपछि एकपछि अर्को गल्ती गरेका हुनाले अब उनी नेतृत्वमा बस्नु उचित नभएको बहुसंख्यक मानिसले विचार प्रकट गरिरहेका छन् । उनको उच्च कद तथा खिरिलो स्वरूपबाहेक शीर्ष नेतामा चाहिने अन्य गुण नभएको सबैले देखेकै छन ।

उनी प्रधानमन्त्री भएपछि देशमा के समस्या छ र कसरी यसलाई सम्बोधन गर्ने बारेमा कहिले उनले जनतासमक्ष राखेनन् । देशको प्रधानमन्त्रीको नियुक्ति भएको हो या कुनै सरकारी कार्यालयको नयॉ अधिकारीको नियुक्ति भएको हो जनताले केही अन्तरको अनुभूति गर्न सकेनन् । नेपाली कांग्रेसमा नेतृत्वबारे मात्र छलफल छ तर नीतिबारे यो मौन नै छ भन्दा अत्युक्ति होओइन् । उनले यसबारे केही आरम्भ नै गर्न सकेनन् ।

सिंहले पनि पदाशीन हुँदा त्यस्तो स्मरणीय काम गरेनन् । उनी अडान लिन सक्ने हक्की स्वभावका नेता भने हुन् । यसो हुँदा हुँदै पनि कोइरालाको सम्भावना बढी देखियो । फेरि देउवा तथा सिंह र विशेष गरी देउवा समूह यथास्थितिवादी तर कोइराला परिवर्तनकारी तथा युवाको प्रतिनिधित्व गर्ने समूहका रूपमा देखिएका छन् । विद्युतीय मतदान लोकप्रिय भइ सके तापनि पारम्परिक मतदानको प्रयोगले पनि यसलाई पुष्टि गर्दछ । मतदातामा अहिले ५१ प्रतिशत युवा भएकाले पनि कोइरालाको सम्भावना बढेको छ । तथ्य निर्वाचनको नतिजा आएपछि थाहा हुने नै छ ।

Leave a Reply

Your email address will not be published.