काठमाडौँ — पार्टीभित्रको मर्यादाक्रमबारे विवाद भएपछि नेपाली कांग्रेसमा नयाँ मर्यादाक्रम निर्धारण गर्ने तयारी छ । केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकमा नयाँ मर्यादाक्रम निर्धारणका लागि मस्यौदा प्रस्तुत भएको छ
यसअघि मर्यादाक्रममा को माथि वा तल हुने भन्नेबारे नेताहरूबीच विवाद भएपछि सभापति शेरबहादुर देउवाले सहमहामन्त्रीहरू जीवन परियार, डिना उपाध्याय र बद्री पाण्डेलाई मर्यादाक्रमको मस्यौदा तयारी गर्ने जिम्मेवारी दिएका थिए ।
सहमहामन्त्रीत्रय परियार, उपाध्याय र पाण्डेले मर्यादाक्रमको मस्यौदा तयार गरी केन्द्रीय कार्यसमितिको बैठकमा पेस गरेका हुन् । मंगलबारको बैठकमा सहमहामन्त्री बद्री पाण्डेले मर्यादाक्रमको मस्यौदा छलफलका लागि प्रस्तुत गरेका छन् ।
उनले विधानले व्यवस्था गरेको तहगत संरचनाको आधार, पदाधिकारी, सदस्यको मर्यादाक्रम, सरकारको मर्यादाक्रम र वर्तमान तथा भूतपुर्व पदको आधारलाई मर्यादाक्रम निर्धारणको मस्यौदा तय गरेको बताएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
मस्यौदाअनुसार कांग्रेसमा वरिष्ठ नेता हुने व्यवस्था हटाइएको छ । हाल सभापति देउवाले महाधिवेशनमा सहयोगी बनेका नेता रामचन्द्र पौडेललाई वरिष्ठ नेताको रुपमा दोस्रो वरियतामा राखेका छन् ।
प्रस्तावित मस्यौदाअनुसार मर्यादाक्रमको सबैभन्दा माथि केन्द्रीय सभापति हुने, र त्यसपछि क्रमशः पुर्वकेन्द्रीय सभापति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र संसदीय दलको नेता हुने व्यवस्था छ । मर्यादाक्रममा त्यसपछि पार्टीका केन्द्रीय पदाधिकारी हुन्छन् । यसआधारमा अब सभापति देउवापछि मर्यादाक्रममा उपसभापतिहरू हुनेछन् ।
मस्यौदाअनुसार मर्यादाक्रम लागू भए हाल सभापतिपछि वरिष्ठ नेताका रूपमा सम्मान पाइरहेका रामचन्द्र पौडेल पदाधिकारीभन्दा तल पर्नेछन् ।
विगतमा महाधिवेशनमा सभापतिपछि सबैभन्दा धेरै मत ल्याउने नेतालाई सभापतिपछिको वरीयतामा राख्ने अभ्यास रहेको थियो । तर, यसपटक सभापति देउवाले सभापतिमा पराजित नेता शेखर कोइरालालाई दोस्रो नम्बरमा राख्न अस्वीकार गरेपछि मर्यादाक्रमबारे विवाद उत्पन्न भएको थियो ।