कांग्रेसभित्र असन्तुष्टि चुलियो, राप्रका १५ नेता काँग्रेस प्रबेश

 

पार्टीका पूर्वसहमहामन्त्रीसहित ३ जनालाई कारबाही गर्ने नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको निर्णयले पार्टीभित्र तीब्र असन्तुष्टि बढेको छ । महामन्त्रीसहित पार्टीका प्रभावशाली नेताहरुले कारवाही गर्ने निर्णयको खुलेरै विरोध गरेका छन् भने अनुशासन समितिकै सदस्यले पनि निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।
२०७४ सालको संघीय निर्वाचनमा पार्टीका आधिकारिक उम्मेद्वारबिरुद्ध बागी उम्मेद्धारी दिएको र अन्र्तघात गरेर आधिकारीक उम्मेद्धारलाई हराउन भूमिका खेलेको भन्दै गत शनिवार केन्द्रीय अनुशासन समितिले पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, पूर्वराज्यमन्त्री पुष्करनाथ ओझा र डडेल्धुरा पार्टी कार्यालयका सचिव रामबहादुर विष्टलाई कारवाही गर्ने निर्णयसंगै कांग्रेसभित्र तरङ्ग उत्पन्न भएको छ । समितिको निर्णयप्रति महामन्त्री डा.शशांक कोइराला, प्रभावशाली नेता डा.शेखर कोइराला, मिनेन्द्र रिजाललगायतले समितिको निर्णयको खुलेरै विरोध गरेका छन् । नेताहरुले अनुशासन समितिको निर्णयले लोकतन्त्रलाई कमजोर पार्ने र पार्टीले उदार लोकतान्त्रिक चरित्र गुमाउने खतरा उत्पन्न भएको टिप्पणी गरेका छन् । समितिको निर्णयपछि कांग्रेसभित्र शीर्ष नेताहरुको प्रभावमा परेर निर्णय गरेको र कारवाही पनि भागबण्डाको आधारमा भएको चर्चा समेत चल्न थालेको छ । महामन्त्री डा. कोइरालाले सबैलाई मिलाएर लैजानुपर्नेमा पार्टीमा लामो समय योगदान गरेका नेताहरुलाई कारवाही गर्नु गलत भएको प्रतिक्रिया दिनुभएको छ । त्यसो त अनुशासन समितिकै सदस्यले पनि निर्णयप्रति असन्तुष्टि जनाएका छन् । समितिका सदस्य एंव केन्द्रीय सदस्य देबेन्द्र राज कडेलले समितिको निर्णयमा पुर्नविचार हुनसक्ने प्रतिक्रिया दिनुभयो ।
जोशीले वरिष्ठ नेता रामचन्द्र पौडेल, ओझाले आरजु राणा देउवा र डडेल्धुरा पार्टी सचिवले पार्टीका आधिकारीक उम्मेद्धारबिरुद्ध अन्तरघात गरेको समितिको ठहर छ । समितिले जोशीलाई र ओझालाई ५ वर्ष र विष्टलाई ३ वर्षको लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको थियो । निर्वाचनमा पार्टीका आधिकारीक उम्मेद्वार हराउन भूमिका खेलेको भन्दै अनुशासन समितिमा १२ सय ५० वटा उजुरी परेका थिए । जसमध्ये समितिले स्पष्टिकरण सोधेका मध्ये ८ सय जनाले स्पष्टिकरण दिएका छन् भने ४ सय ५० जनाले स्पष्टिकरण समेत दिएका छैनन् ।

यसैबीच पूर्व मन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व महामन्त्री सुनिल बहादुर थापा सहित राप्रपाका २१ जना केन्द्रीय सदस्य नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस मुख्यालय सानेपामा आयोजित कार्याक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले उहांहरु मध्ये थापा सहित १४ जनालाई औपचारिक रुपमा कांग्रेस प्रवेश गराई स्वागत गर्नुभयो । नवआगन्तुकहरुलाई पार्टीमा स्वागत गर्दै देउवाले लोकतान्त्रीक शक्तिहरुको बीचमा एकता भएमात्र कम्युनिष्ट अधिनायकवादविरुद्ध लड्न सकिने बताउनुभयो । अधिनायकवादीहरुले लोकतान्त्रिक मूल्य र मान्यतामाथि गम्भिर प्रहार भैरहेको समयमा लामो संघर्ष पछि आएको लोकतान्त्रिक व्यवस्थालाई बचाउन लोकतान्त्रिक चरित्र भएका संस्थाहरु एक ठाउँमा उभिनुको विकल्प नभएकोमा जोड दिनुभयो ।
कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतान्त्रिक संविधानलाई संस्थागत गर्न थापाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । सहमहामन्त्री पद सहित कांग्रेस प्रवेश गर्नुभएका थापाले आफू पार्टीमा भाग खोज्न नभइ लोकतान्त्रीक व्यवस्थालाई संस्थागत गर्न होमिएर कांग्रेसलाई साथ दिन आएको बताउनुभयो । थापाले लोकतान्त्रिक पद्धतिमा थप उर्जा थप्ने जिम्वेवारी सहित कांग्रेसमा भएको प्रवेशले अत्यन्तै हर्ष लागेको धारणा व्यक्त गर्नुभयो । कांग्रेस प्रवेश गरेका वृज लाल यादवले देशमा शान्ति र संविधान जारी गर्ने अभिभारा लिएको कांग्रेसले देशलाई निकास र विकास दिने भएकाले पार्टी प्रवेश गरेको बताउनुभयो ।
राप्रपामा गणतन्त्रका पक्षमा आवाज उठाउँदै आउनुभएका थापासहित ३१ नेताले शनिबार संयुक्त रूपमा राप्रपा परित्याग गरेका थिए । थापा पूर्व प्रधानमन्त्री एवं राप्रपाका संस्थापक नेता सूर्यबहादुर थापाका छोरा हुनुहुन्छ । थापासँगै राप्रपा केन्द्रीय सदस्यहरु दिलीप राई, आशाराम चौधरी, चतुरमान विश्वकर्मा र उच्चस्तरीय कार्य सम्पादन समितिका सदस्य विष्णुविक्रम थापा, बाबुराम बस्नेत, पदमबहादुर बस्नेतलगायत पनि कांग्रेस प्रवेश गरेका छन्।अन्य नवप्रवेशीहरुलाई के पद दिने भन्ने टुंगो लागि नसकेको कांगे्रस मुख्यसचीव कृष्ण पौडेलले जानकारी दिनुभयो ।

उता १४औं महाधिवेशनको मिति तय भइसकेपछि संस्थापन पक्षले एकलौटी गठन र विस्तार गरेको विभाग र समिति खारेज गर्न नेपाली कांग्रेसको संस्थापनइतर जिल्ला सभापतिहरुले माग गरेका छन् । सोमबार राजधानी काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुले बौद्धमा बैठक गरेर महाधिवेशनको मिति तय भएर कार्यतालिका प्रकाशित भइसकेपछि महाधिवेसनलाई प्रभावित पार्ने उद्देश्यले गठन भएका विभाग र समिति खारेज गर्न माग गरेका हुन् । बैठकमा संस्थापन इतरका करिब १२ जना सभापतिहरुको उपस्थिती रहेको नुवाकोट कांग्रेस जिल्ला सभापति जगदिश्वरनरसिंह केसीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *