कांग्रेसको चेतावनी : बागी उम्मेदवारी फिर्ता नलिए प्रस्तावक र समर्थकसमेत पार्टीबाट स्वतः निष्कासित

काठमाडौँ — कांग्रेसले बागी उम्मेदवारलाई बुधबार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन अल्टिमेटम दिएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवार तथा गठबन्धन दलका उम्मेदवारहरुलाई विजय गराउन निर्देशन दिएका हुन् ।

 

तोकिएको समयसीमाभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा बागी उम्मेदवार र निजको प्रस्तावक र समर्थक पार्टीवाट स्वतः निष्कासित हुने पनि विज्ञप्तिमा जनाइएको छ ।

यसअघि मंगलबार दिउँसो गठबन्धनका ४ दलका शीर्ष नेताले संयुक्त विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका थिए ।  सत्तारुढ गठबन्धनले सहमतिविपरीत दलका नेताहरूले दिएको उम्मेदवारी फिर्ता गराउन निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सत्तारुढ गठबन्धनको बैठकले कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबाट पूर्वसहमतिविपरीत दलका नेताहरूले दर्ता गराएको उम्मेदवारी फिर्ता गराउन निर्देशन दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *