बिहार, भारत — हजुरबुबाले सन् १९४२ मा बनाएको घरमा बस्दै आएका रञ्जन उपाध्याय उमेरले ६ दशक पुग्नै लागे । नेपाली सीमा क्षेत्रबाट गाडीमा डेढ घण्टामा पुगिने भारतीय राज्य बिहारको पश्चिम चम्पारण जिल्लाको रामनगर छङ्गुरहीमा छ यो घर । घर आफैंमा ऐतिहासिक त छँदै छ सीमाभन्दा पर भए पनि यो घरमा नेपालको इतिहाससँग जोडिएका थुप्रै कथा र दस्ताबेज पनि सुरक्षित छ ।

हल्का गुलाबी रङको दुईतले घरको फराकिलो आँगनमा छिर्नुअघि प्रवेशद्वारको आडैमा लेखिएको छ ‘क्षणिक निवास’ । घरको बैठक कक्षको भित्तामा निकै पुराना पुराना तस्बिरहरू झुन्डिएका छन् ।
जब रञ्जनले ती तस्बिरहरूको वर्णन सुरु गरे तनहुँका सेनवंशी र नेपालका शाहवंशी राजाहरूको सन्दर्भ जोडिएर आउन सुरु भयो । हल्का अग्लो शरीरका रञ्जन बिनामुस्कान बोल्दै बोल्दैनन् ।
‘राजा महाराजाको कुरा गर्दै गरौंला अहिले ल यो एल्बम हेर्नुहोस् । यसमा कांग्रेससँग जोडिएका फोटा प्रशस्तै छन्,’ रञ्जनले मुस्कुराउँदै एल्बम ल्याए । यो चल्तीको जस्तो एल्बम थिएन । तस्बिरहरू केही साना पनि थिए । साना तस्बिर त्यसै त ठम्याउन अलि गाह्रो हुने, निकै आँखा गाडेर हेर्दा पनि चिन्न सक्ने व्यक्तिहरू एकाध मात्रै फेला परे । एल्बममा अहिलेका हैनन् दशकौं पहिलेका तस्बिरहरू थिए ।
‘तस्बिर खिच्ने मेरो बुबा नै हो । त्यसैले संग्रह गरेर सुरक्षित साथ राख्नुभयो । अब यसलाई जोगाउने जिम्मा मेरो भयो,’ रञ्जनले भने । एल्बमको अगाडि अंग्रेजीका ठूला तीनवटा अक्षर ‘एनडीसी’ लेखिएको छ । एनडीसी अर्थात् नेपाल प्रजातन्त्रिक कांग्रेस । वि.सं. २००६ सालमा एनडीसी र नेपाली राष्ट्रिय कांग्रेसको एकीकरण भएर अहिलेको नेपाली कांग्रेस बनेको हो । अहिलेको कांग्रेसभन्दा पनि पुराना तस्बिर एल्बममा छन् । रञ्जनका बुबा हुन् राजेश्वरीप्रसाद उपाध्याय । तनहुँका सेनवंशी राजाहरूको राज्य कुनै बेला अहिलेको भारत विहार रामनगरसम्म फैलिएको थियो । नेपाल एकीकरण हुँदा तनहुँ र चितवन शाहवंशको अधीनमा आए पनि रामनगर आएन । त्यहाँ रहेका सेनवंशी राजाले राजपाठमा सहयोग गर्न तनहुँका खनाल, पौडेललगायतलाई साथमै राखे ।
पौडेलहरू रामनगरमा सेन राजाको फौजदार भए । तिनै फौजदारका खलक हुन् रञ्जन । भारतमा समेटिएको रामनगरमा रञ्जनका पुर्खाले भारतका लागि राजनीतिकदेखि सामाजिक र न्यायिक क्षेत्रमा योगदान दियो । नेपाली भाषी भएका कारण नेपालप्रतिको चाख, चासो र सरोकार पनि घटेन । रञ्जनका हजुरबुबा अम्बिकाप्रसाद उपाध्यायले नेपालको इतिहास नै लेखे ।
बुबा राजेश्वरीप्रसाद नेपालमा प्रजातन्त्र ल्याउन भारतमा गठित पार्टीमा सामेल भए । ‘उहाँ एनडीसीको संस्थापक नै हो । नेपाली कांग्रेस बनेपछि पनि उहाँ महामन्त्रीसम्म हुनुभयो,’ रञ्जनले भने । २००५ सालमा कलकत्तामा भएको भेलामा राजेश्वरीप्रसाद पनि सहभागी थिए । त्यही भेलाले एनडीसी खोल्ने निर्णय गर्यो । सोही वर्षको पुसमा कलकत्ताको टाइगर हलमा भएको भेलाले एनडीसीको अध्यक्ष महेन्द्रविक्रम शाह र कोषाध्यक्ष राजेश्वरीप्रसादलाई तोक्यो । एल्बममा टाइगर हलको कार्यक्रमको तस्बिर पनि छ । ‘फोटोका सबैलाई म पनि चिन्दिनँ । यसमा भएका तस्बिरहरू सबै एनडीसीसँग नै सम्बन्धित छन्,’ रञ्जनले भने ।
२००६ सालमा दुई पार्टी एकीकरण भएपछि बन्यो नेपाली कांग्रेस । २००७ सालमा क्रान्तिको दुई वर्षपछि भएको कांग्रेसको पाँचौं महाधिवेशनले बीपी कोइरालालाई सभापति, राजेश्वरीप्रसाद उपाध्याय र धनमानसिंह परियारलाई महामन्त्री चुन्यो । त्यसपछि राजनीतिबाट क्रमशः ओझेलमा पर्दै गएका राजेश्वरीप्रसादले परिवारलाई समय दिन थाले । ‘उहाँ फोटोग्राफीमा पनि निकै चाख राख्नु हुन्थ्यो । युरोप गएका बेलामा जर्मनीबाट क्यामेरा किनेर ल्याउनुभयो । हाम्रो घरमा बुबाले खिचेका फोटोहरू हेर्नुभयो भने दुई दिन लाग्छ,’ रञ्जनले भने । त्यसमध्ये एनडीसीसँग जोडिएको एल्बम यही एउटा हो । लगभग दुई सय तस्बिरहरू त्यसमा छन् । कतै केआई सिंह त कतै बीपी नै भेटिन्छन् ।
महिलाहरू पनि ठाउँठाउँमा छन् । नेपालमा सर्वसाधारणले क्यामेरा प्रयोग गर्न नपाउने बेलामा खिचेका तस्बिरहरू त्यो पनि राजनीतिक पार्टीका गतिविधिका तस्बिरहरू निकै महत्त्वपूर्ण छन् भन्ने लागेर उनले यो एल्बम निकै स्याहार गरेर राखेका छन् । ‘मसँग राजनीतिक दस्ताबेजहरू पनि थिए । नेपाल पुकार पत्रिकाको पहिलो अंक थियो । बहिखाताहरू थिए । त्यो सूर्यप्रसाद उपाध्यायको नातिलाई जिम्मा लगाएँ,’ रञ्जनले भने । ‘अब यो एल्बम दिऊँ कि नदिऊँ भएको छ । यो नेपालको राजनीतिक इतिहासको साक्षी पनि हो । तर कसलाई दिऊँ ? फेरि यो एल्बमको यति माया पनि लाग्ने कि, आफैंसँग राखौं झैं हुने,’ रञ्जनले भने ।