काँग्रेस महाधिवेसनमा भत्किएको गुट, फरक चुनावी तालमेल

काठमाडौँ — कांग्रेसको १३ औं महाधिवेशनमा देखिएको चुनावी समिकरण अहिले १४ औं महाधिवेशनको उम्मेदवारी दर्तासम्म आइपुग्दा तितरबितर भएको छ । चुनावी प्रतिस्पर्धामा आ–आफ्नो जितका लागि नेताहरूले समूह अदलबदल गरेका छन् भने केही नेता नेतृत्वको प्रतिस्पर्धाबाटै बाहिरिएका छन् ।

 

गत महाधिवेशनमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाका तीनवटा समूह बनेका थिए । शनिबार उम्मेदवारी दर्ता गर्दासम्म ती सबै समूहमा औपचारिक फुट देखिएको छ ।

देउवाबाट निधि अलग

देउवालाई ३६ वर्षदेखि साथ दिँदै आएका विमलेन्द्र निधि अहिले फरक कित्तामा उभिएर सभापतिमा देउवासँगै भिड्न आइपुगेका छन् । निधि कुनै समय देउवाका विश्वासपात्र थिए । कांग्रेसबाट विभाजन भएर नेपाली कांग्रेस प्रजातान्त्रिक बनाउँदा निधिले देउवालाई साथ दिएका थिए ।

पार्टीभित्र आफ्ना बुबा महेन्द्रनारायण निधिको विरासत बोकेर अघि बढेका निधि शनिबारबाट भने आफ्नो छुट्टै अतित्व रहेको देखाउन सभापतिमा उम्मेदवारी दिएका छन् । उनले आफ्नो पक्षबाट दिव्येश्वरी शाहलाई उपसभापति र महामन्त्रीमा राजाराम कार्कीलाई उठाएका छन् ।

पौडेलको बहिर्गमन, सिटौला देउवामा विलय

अघिल्लो महाधिवेशनमा देउवालाई कडा टक्कर दिएका रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला अहिले सभापतिको प्रतिस्पर्धाबाटै बाहिरिएका छन् । पौडेल त पार्टी राजनीतिबाटै अवकाश लिने भन्दै अलग्गिएका छन् भने सिटौला देउवाको सहयोगीको रुपमा प्रकट भएका छन् ।

देउवाको सहयोगी बन्दै गर्दा सिटौलाले आफ्नो पक्षबाट प्रदीप पौडेललाई महामन्त्री र उमाकान्त चौधरीलाई सहमहामन्त्री पदमा उठाएका छन् । आफू भने केन्द्रीय सदस्यसमेत नबस्ने भन्दै पार्टीलाई बाहिरबाट सहयोग गर्ने घोषणा गरेका छन् । गत महाधिवेशनमा सिटौला पार्टी‍भित्र रुपान्तरण र पुस्तान्तरण समेतको एजेन्डा अघि सारेर देउवा र पौडेलको विकल्पमा उभिएका थिए । त्यसबेला उनको साथमा गगन थापा, प्रदीप पौडेल, उमाकान्त चौधरी, भिमसेनदास प्रधान लगायतका नेताहरू थिए ।

यसपटक सिटौला सुरुमै देउवाको सहयोगीको रुपमा प्रकट भए । देउवा पक्षको प्यानल बनाउने समेत निर्णायक भूमिका सिटौलाको रह्यो । निधि बाहिरिउको अवस्थामा प्रधानमन्त्रीसमेत रहेका देउवालाई आफ्नो जित सुनिश्चित गर्नका लागि सिटौलाको सहयोग निर्णाय हुने अवस्था थियो ।

त्यसैले देउवामा समूहमा रहेर उनलाई निरन्तर सहयोग गर्दै आएका धेरै नेताहरूलाई थामथुम पार्दै देउवाले सिटौलालाई आफ्नो समूहमा रेडकार्पेट विच्छ्याए । जस वापत् उनले पदाधिकारीमा कम्तीमा दुई पद सुनिश्चित गरे ।

पौडेल समूहमा फुट

गत महाधिवेशनमा शेरबहादुर देउवाविरुद्ध एकढिक्का हुन नसकेको रामचन्द्र पौडेल समूह फेरि फुटेको छ । त्यसबेला पौडेलको नेतृत्व स्वीकार गर्न नसकेर सिटौला बाहिरिएका थिए, यसपटक पौडेल नै नेतृत्वबाट अलग भइसकेपछि यो समूह फुटेर अब शेखर कोइराला र प्रकाशमान सिंह गुटमा बदलिएको छ । शनिबार कोइराला र सिंहले अलग-अलग प्यानल तयार गरी उम्मेदवारी दर्ता गरेका छन् ।

पौडेल समूहभित्र साझा उम्मेदवार बनाउने कोशिस अन्तिम समयसम्म पनि सफल नभएपछि यो समूह दुई कित्तामा लागेको हो । सिंहसँग आफ्ना बुबा गणेशमान सिंहको विरासत जोडिएको छ भने शेखरसँग कोइराला परिवारको । दुवै नेताहरूबीच सहमति गराउने अधिकतम कोसिस भएको थियो । तर दुवै नेताहरू यसपटक अरुलाई छोड्दै नछोड्ने अडानमा बसेपछि यो समूह औपचारिक रुपमा विभाजित भएको हो ।

कोइराला परिवार दुईतिर

कांग्रेसको राजनीतिमा कोइराला परिवारको वर्चस्व रहने गरेको छ । तर शनिबारको उम्मेदवारीले कोइराला परिवार भित्रको आन्तरिक बेमेल पनि बाहिर प्रकट भयो । सभापतिमै उम्मेदवारी दिन्छु भन्ने महामन्त्री शशांक कोइराला सुरुमै अलग भए । उनले पौडेल समूहबाट साझा उम्मेदवारीका लागि भन्दै यसपटक नउठ्ने घोषणा गरे ।

सभापति नउठ्ने भएपछि उनले केन्द्रीय सदस्यको मात्र उम्मेदवार बनेका छन् । कोइराला परिवार शेखरले सभापतिमा उम्मेदवारी दिँदा गिरिजाप्रसाद कोइरालापुत्री सुजाता कोइराला प्रकाशमान सिंहको कित्तामा पुगेकी छन् । उनले सिंहको प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिएकी छन् । कोइरालाहरू सबै एउटै कित्तामा रहने भनेपनि सुजाता शेखरभन्दा फरक कित्तामा पुगेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *