काठमाडौँ : पछिल्लो राजनीतिक परिस्थितिबारे धारणा तय गर्न बसेको नेपाली कांग्रेस संसदीय दलको बैठक पर्ख र हेर कै दुविधामा अलमलिएको छ । संघीय ससंद् भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको संसदीय दल बैठक समसामयिक राजनीतिक विषयमा छलफल भए पनि कुनै निष्कर्षमा पुग्न सकेन ।
बिहिबार बसेको पदाधिकारी बैठकले संसदीय दलको बैठक पनि सांसदहरुको धारणाका आधारमा निष्कर्षमा पुग्ने निर्णय गरेको थियो । तर, शुक्रबार बसेको संसदीय दलमा २९ जना सांसदहरुले धारणा राखेको भए पनि राजनीतिक विषयमा लिने निर्णयबारे भने दल निष्कर्षमा पुग्न सकेन ।
आगामी आइतबारको प्रतिनिधिसभा बैठकमा नेकपाका सांसदहरुको भूमिकाको विश्लेषण गरेर मात्रै कांग्रेसले निर्णय गर्ने भएको छ । बैठक पछि संचारकर्मीलाई प्रतिक्रिया दिँदै प्रमुख सचेतक बालकृष्ण खाँडले कांग्रेसले उचित समयमा उचित निर्णय लिने बताए । ‘बैठक प्रारम्भ भएपछि बैठकभित्र राजनीतिक दलका साथीहरुले खासगरी नेकपाका साथीहरुले कसरी आफूलाई प्रस्तुत गर्नुहुन्छ, ती सबै कुराहरुलाई गम्भीरतापूर्वक समीक्षा, विश्लेषण गरेर कांग्रेसले उचित समयमा उचित निर्णय गर्छ,’ उनले भने।
बैठकले प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले संविधानवाद र लोकतन्त्रको विजय भएको निष्कर्ष निकालेको छ । त्यसैगरी कोभिड—१९ को खोप सबैलाई दिलाउने गरी बन्दोबन्द मिलाउन र कोभिडको समय देखि बन्द भएका सीमा नाकाहरू स्वास्थ्य सर्तकताको मापदण्ड अपनाएर अबिलम्ब सञ्चालनमा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।