काँग्रेसमा बनेको नयाँ संरचना र आशाको अनुभुति

काठमाडौँ — नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले मंसिर २४ मा महाधिवेशन उद्घाटन समारोहमा भनेका थिए, ‘म जहाँ हुन्छु, कांग्रेस त्यहीँ रहनेछ ।’ उनले यसलाई अहंका रूपमा नबुझ्न आग्रह गरेका थिए तर उक्त भनाइभित्र उनले नेतृत्व गरेको समूहको शक्ति लुकेको थियो ।

 

 

महाधिवेशनमा सिटौलाले आफ्नो समूहको शक्तिका आधारमा सभापति शेरबहादुर देउवालाई दबाबमा राख्दै एक महामन्त्री, एक सहमहामन्त्रीसहित आधा दर्जन केन्द्रीय सदस्यलाई चुनावी समीकरणमा उम्मेदवार बनाएका थिए । उनको समूहबाट महामन्त्री बनेका प्रदीप पौडेलको पराजयपछि पार्टीभित्र सिटौला–शक्तिको लेखाजोखा सुरु हुन थालेको छ ।

सिटौला मात्र होइन, १४ औं महाधिवेशनपछि कांग्रेसमा अन्य पुराना समूहको आगामी अवस्था के हुन्छ भन्ने बहस सुरु भएको छ । महाधिवेशनपछि उदाएका नयाँ समूहको विकास कसरी हुन्छ भन्ने विषय पनि प्रतीक्षित बनेको छ । लामो राजनीतिक जीवनमा कोइराला परिवार (समूह) सँग रहेका रामचन्द्र पौडेल १३ औं महाधिवेशनमा आफैं सभापतिको उम्मेदवार बने । निर्वाचित हुन नसके पनि देशव्यापी रूपमा ‘पौडेल समूह’ को नाममा गुट निर्माण भयो । यसपटक भने पौडेल न चुनाव लडे न त कुनै उम्मेदवारलाई स्पष्टसँग समर्थन गरे ।

‘रामचन्द्र दाइले यसपटक आफ्नै कारणले आफ्नो नाममा संगठित बनेका साथीहरूलाई निराश बनाउनुभयो,’ उनीनिकट एक नेताले भने, ‘१३ औं महाधिवेशनमा जन्मेको पौडेल समूह १४ औं महाधिवेशनमै संकटमा परेको छ ।’ ती नेताले भनेझैं यसपटक वडा तहदेखि नै देउवा र पौडेल समूहका नाममा कार्यकर्ताबीच प्रतिस्पर्धा भएको थियो । संस्थापनइतर भनेर चिनिने पौडेल समूहभित्र प्रकाशमान सिंह, शशांक कोइराला र शेखर कोइरालाका उपसमूह थिए । निर्वाचनमा शेखर र प्रकाशमानले प्यानलसहित सभापतिमा उम्मेदवारी दिए । केन्द्रीय सदस्य उठेका शशांकलाई चारवटै प्यानलले आफ्नो सूचीमा राखे ।

कांग्रेसबारे जानकार राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले यसपटकको महाधिवेशनले मूल रूपमा देउवा र कोइराला समूहलाई स्थापित गरेको बताए । ‘जति जना उम्मेदवार बने पनि मतका आधारमा देउवा र शेखर सशक्त देखिएका छन्, अब समूहगत रूपमा यी दुईबीच संघर्ष र सहकार्य हुनेछ,’ उनले भने, ‘पछिल्लो ५–६ वर्षमा बनेका विभिन्न गुट–उपगुटहरू अस्तित्व कसरी जोगाउने भन्ने अवस्थामा पुगेका छन् ।’

कांग्रेसमा कोइराला समूह सबैभन्दा ठूलो र पुरानो समूह हो । बीपीको विरासत जोडिएको उक्त समूहलाई विगतमा गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले निरन्तरता दिएका थिए । १३ औं महाधिवेशनमा कोइराला परिवार नेतृत्वबाट बाहिरिएपछि उक्त समूहमा मूलनेताको अभाव खड्कियो । शशांक महामन्त्री बने पनि उनी कोइराला समूहको साझा नेता बन्न सकेनन् । शेखर र सुजाता आ–आफ्नै तबरले समूह निर्माणमा अघि बढे । यसपटकको महाधिवेशनमा शेखरले संस्थापनइतर समूहको नेतृत्व गर्दै सभापतिमा उम्मेदवारी दिए भने शशांशको उम्मेदवारी केन्द्रीय सदस्यमै सीमित भयो । सुजाताचाहिँ सिंहको समूहबाट उपसभापति उम्मेदवार बनिन् ।

मध्यपश्चिम विश्वविद्यालयका राजनीतिशास्त्रका सहप्राध्यापक अर्जुनबहादुर अयडी अब संस्थापनबाहेक समूहको नेतृत्व शेखरले गर्ने सम्भावना औंल्याउँछन् । ‘उहाँले एकैपटक दुईटा (कोइराला र संस्थापनइतर) समूहको नेतृत्व गरेर अघि बढ्ने देखिन्छ, अर्को महाधिवेशनमा आफैं सभापतिको उम्मेदवार बन्ने कि नबन्ने भन्नेचाहिँ समूहका अन्य नेताको आकांक्षामा निर्भर होला,’ उनले भने ।

१४ औं महाधिवेशनमा विमलेन्द्र निधिले फरक समूह निर्माणको प्रयास थालेका छन् । साढे दुई दशकसम्म देउवासँग रहेका उनी सभापतिमा उम्मेदवारी घोषणा गर्दै अलग्गिएका थिए । निर्वाचनमा छुट्टै समूह निर्माण गर्न नसकेका उनले दोस्रो चरणको निर्वाचनमा देउवालाई समर्थन गरी विलय भए । सहप्राध्यापक अयडीको विचारमा अब निधिले संस्थापन वा अन्य कुनै समूहसँग मिलेर आफ्नो टिम विस्तार गर्न सक्छन् ।

प्रकाशमान सिंहले पनि सभापतिमा उम्मेदवारी दिएर आफ्नो समूहलाई ठोस आकार दिने प्रयास गरेका छन् । उपसभापतिमा उम्मेदवार बनेकी सुजाता कोइराला र महामन्त्री जितेका विश्वप्रकाश शर्माले भविष्यमा उनलाई कसरी सहयोग गर्छन् भन्ने कुराले पनि सिंह समूहको भविष्य निर्धारण गर्नेछ । देउवा समूहमा रहेका शर्मा र संस्थापनइतर समूहमा रहेकी कोइराला मनोनयन गर्ने दिनमात्र सिंहको समूहमा खुलेका थिए । सिंह समूहबाट उम्मेदवारी दिए पनि शर्माले स्वतन्त्र हैसियतमा उम्मेदवार बनेको भन्दै भोट मागेका थिए ।

महाधिवेशनबाट निर्वाचित हुने १ सय ३४ सदस्यीय कार्यसमितिमा कुन समूहका कति जना पुग्छन् भन्नेले आगामी दिनमा समूहको प्रभाव परीक्षण हुनेछ । सम्पूर्ण नतिजापछि मात्र कांग्रेसको आगामी शक्ति सन्तुलन र समीकरणबारे निर्क्योल हुनेछ । सिंहको समूहबाट शर्मा महामन्त्री निर्वाचित भए पनि उनको समूहबाट अन्य उम्मेदवार केन्द्रीय समितिमा निर्वाचित हुने सम्भावना न्यून छ । निधिले देउवा, कोइराला र सिंह समूहका उम्मेदवारलाई समेटेर प्यानल निर्माण गरेका थिए । उनको ‘खुद’ समूहका उम्मेदवार निर्वाचित हुने सम्भावना पनि निकै न्यून छ । सिटौला समूहबाट महामन्त्रीका उम्मेदवार पराजित भए पनि सहमहामन्त्रीमा उमाकान्त चौधरी विजयी भएका छन् । उक्त समूहले देउवाको प्यानलबाट महामन्त्री, सहमहामन्त्री र ७ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको थियो । केन्द्रीय सदस्यहरूको परिणाम आइसकेको छैन ।

सिटौलाले देउवासँग मिलेर प्रदेश १ मा आफूपक्षीय उद्धव थापालाई सभापति जिताएका छन् । ‘निर्वाचन परिणाम हेर्दा अब उनले भनेजस्तो ‘जहाँ सिटौला त्यहाँ कांग्रेस’ हुने अवस्था देखिँदैन,’ एक कांग्रेस नेता भन्छन्, ‘तर सहमहामन्त्रीसहित केही केन्द्रीय सदस्य जित्दा पार्टीभित्र उनको भूमिका सक्रिय नै रहन सक्छ ।’

विश्लेषक आचार्यका अनुसार आगामी केन्द्रीय समितिमा मूल रूपमा देउवा र कोइराला समूहको वर्चस्व हुनेछ । यद्यपि यसपटक कार्यकर्ताले समूहभन्दा माथि उठेर नेता छानेका कारण कांग्रेस समूहगत अभ्यासमा रुमल्लिने सम्भावना कम देख्छन् ।

‘पहिला पार्टीले नेता बनाउँथ्यो, यसपटक जनताले नेता बनाएर पार्टीलाई दिएका छन्, महाधिवेशनले त्यसलाई अनुमोदन गरेको छ,’ उनले भने, ‘बीपी कोइरालाको समयमा पनि ठीक यसैगरी जनताको बीचमा जन्मेका नेताले पार्टी निर्माण गरेका थिए ।’ शेखर कोइराला, गगन थापा, विश्वप्रकाश शर्माजस्ता नेतालाई पार्टीले भन्दा जनताले नेतृत्वमा स्थापित गरेको उनले बताए । विगतमा कोइराला समूहमा रहेका महेश आचार्य यसपटक कुनै पनि समूहमा लागेनन् । उनले स्वतन्त्र हैसियतमा उपसभापतिमा उम्मेदवारी दिएका थिए । आगामी दिनमा उनले आफ्नै समूह निर्माण गर्छन् कि अन्य कुनै समूहमा मिसिन्छन् भन्ने स्पष्ट भइसकेको छैन ।

Leave a Reply

Your email address will not be published.