५५ वर्षीया कमला ह्यारिसको जन्म क्यालिफोर्नियाको ओकल्यान्डमा भएको थियो । उनका आमाबुवा प्रवासी थिए । उनकी आमाको जन्म भारतमा भएको थियो भने बुवा जमैकाबाट आएका थिए ।
यसभन्दा पहिले अमेरिकामा दुई पटक उपराष्ट्रिपति पदका लागि दुई जना महिला उम्मेदवार चुनाव लडेका थिए । सन् १९८४ मा डेमोक्रेटिक पार्टीबाट गिरालडिन फेरारो र सन् २००८ मा रिपब्लिकन पार्टीबाट सारा पालिन उपराष्ट्रपति पदका लागि निर्वाचन लडेका थिए । तर दुवै जनाले चुनाव भने जितेनन् । अमेरिकाका प्रमुख दुई पार्टीले अहिलेसम्म कुनै अश्वेत महिलालाई राष्ट्रपतिको उम्मेदवार बनाएका छैनन् । अहिलेसम्म अमेरिकामा कोही पनि महिला राष्ट्रपतिमा निर्वाचित पनि भएका छैनन् ।
क्यालिफोर्नियाबाट सिनेटक्री सदस्य रहेकी कमला ह्यारिस कुनै समय जो बाइडनलाई राष्ट्रपति पदको उम्मेदवारका लागि चुनौती दिइरहेकी थिइन् । राष्ट्रपति उम्मेदवारको दौडबाट बाहिरिएसँगै जो बाइडनले उनलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने चर्चा सुरु भएको थियो । कमला यसअघि क्यालिफोर्नियाको महान्यायाधिवक्ता भइसकेकी छिन् ।
उनी अमेरिकी प्रहरीमा व्यापक सुधार गरिनुपर्छ भन्ने मान्यता राख्छिन् । आउँदो नोभेम्बर ३ तारिकमा हुने चुनावमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जो बाइडनले चुनौती दिँदैछन् । उनले कमलालाई आफ्नो उपराष्ट्रपतिको उम्मेदवार बनाउन पाउँदा गर्व महसुस भएको बताएका छन् । बाइडनले कमलालाई ‘बहादुर योद्धा तथा अमेरिकाकै सबैभन्दा उत्र्कृष्ट कर्मचारी’ को संज्ञा दिएका छन् ।
कमला ह्यारिसलाई उपराष्ट्रपतिको उम्मेदवारबनाउने बाइडनको घोषणासँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अमेरिकाका लागि गलत’ भएको प्रतिक्रिया दिएका छन् । ट्रम्पले पत्रकारहरुसँग कुरा गर्दै भने, ‘कमला ह्यारिस तीनै व्यक्ति हुन् जसले कैयौं कथाहरु सुनाइन् जुन सत्य थिएन । तपाईँहरुलाई थाहा छ उनले प्राइमरी चुनावमा कति खराब प्रदर्शन गरेकी थिइन् भनेर । यसैले पनि म अचम्मित भएको छु कि बाइडनले उनलाई किन चुने ?’