कमजोर परराष्ट्र नीति: भुराजनीतिक चेपुवामा नेपाल

अपार प्राकृतिक सम्पदा भइकन पनि भूपरिवेष्ठित हुनुका दुःख धेरै छन् नेपालका। समुद्रसँग नछोइनु तर भारतबाट मात्रै तीन तिरबाट घेरिनु र अर्काेतिर पनि विशालकाय चीन हुँदा भौगोलिक रूपमा त नेपाल चेपुवामा छँदैछ, भूराजनीतिको ऐँठन पनि छ।

खासमा देश भूगोल र जनसंख्याले ठूलोसानो हुने भए पनि सबैको सार्वभौमिकता भने बराबर नै हो। तर व्यवहारमा दक्षिण भारतको बलमिच्याइँ र हेपाइ नेपाली जनजनले अनुभूत गर्छन्। त्यसमाथि नेपालको राजनीतिमा प्रत्यक्ष हस्तक्षेप, राजनीतिक दल र नेताहरूको लम्पसारवादी चरित्र पनि देशले दुःख पाउनुका मुख्य कारण हुन्। आआफू शक्ति राष्ट्रका रूपमा उदाइरहेका भारत र चीनका राष्ट्रिय, अन्तर्राष्ट्रिय स्वार्थ छन्। व्यापारिक सम्बन्ध घनीभूत गर्दै लगेका यी मुलुकहरू आफ्ना राजनीतिक र अन्तर्राष्ट्रिय अभीष्टको भने चर्को प्रतिस्पर्धामा छन्। असंलग्न परराष्ट्र नीति छ हाम्रो। तर कुनै न कुनै रूपमा नेपाली भूमि वा यहाँको राजनीतिलाई दुरुपयोग गर्ने हर्कत गर्न पनि दुई राष्ट्र प्रतिस्पर्धा गर्छन्।

मित्र फेर्न सकिए पनि फेर्न नसकिने छिमेकी हुनुका हिसाबले भारत र चीनसँगको सन्तुलित सम्बन्ध कायम राख्न सानो मुलुक नेपाललाई सधैं चुनौती हुँदै आएको छ। भारत र चीनबाट नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुष्ण राख्ने चुनौती सधैं छ। पहिलापहिला सुषुप्त लाग्ने चीन पछिल्ला वर्ष नेपालको राजनीतिमा समेत प्रत्यक्ष चासो र हस्तक्षेपकारी भूमिकामा देखा परिरहेको छ। त्यसमाथि आकाशको छिमेकी अमेरिकादेखि युरोपेली मुलुकहरू नेपाली परोक्ष, परोक्ष नेपाली मामलामा सरोकार राख्न आइपुग्छन्। त्यसैले नेपाललाई भूराजनीतिको ऐंठन छ।

अन्तर्राष्ट्रिय कूटनीतिका विज्ञ तथा पूर्वअमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरलाई मान्ने हो भने चीन र अमेरिका युद्धको दिशामा अग्रसर छन्। त्यसको प्रत्यक्ष, अप्रत्यक्ष चेपुवामा नेपाल पनि पर्न सक्छ। शक्ति राष्ट्रहरूको संघर्षका बीच हामी कस्तो कूटनीतिक कौशल प्रदर्शन गर्न सफल हुन्छौं, हाम्रा लागि त्यो नै सबैभन्दा महत्त्वपूर्ण र चुनौती हुन्छ। भूराजनीतिक चपेटामा मात्रै नभई नेपालको त्यसको इपिसेन्टरै बन्ने खतरा देख्ने विश्लेषक पनि उत्तिकै छन्।

ठूला मुलुकका सुरक्षा र सामरिक पासोबाट नेपाललाई जोगाउने चुनौती सामना गर्न सबै राजनीतिक दलहरूबीचको मतैक्य जरुरी छ। सरकार फेरिए पनि कहिल्यै नेपालको असंलग्न परराष्ट्र नीतिमा तलमाथि नहुने परम्पराको जरा राम्ररी गाडिनुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *