कतार विश्वकपको लागि आकर्षक आठै रङ्गशालाका आ–आफ्ना विशेषता

–सोमराज पोखरेल   

कतार विश्वकपका खेलहरू आठवटा रङ्गशालामा खेलिने छ। आठै रङ्गशालाका आ–आफ्ना विशेषता रहेका छन्। यी रङ्गशालाको बनावटले कतारको भौगोलिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको देखिन्छ। पहिलो पटक खाडी क्षेत्रमा हुन लागेको विश्वकपलाई निकै महत्त्वका साथ हेरेको कतारले रङ्गशाला निर्माणमा कुनै कमी बाँकी राखेको छैन। सबै रङ्गशाला वातानुकूलित छन्।

अल बेट स्टेडियम

यो रङ्गशालाको नाम ‘बेट अल शा आर’ बाट लिइएको हो। वास्तवमा यी पाल थिए, जुन ऐतिहासिक रूपमा कतार र खाडी क्षेत्रमा घुमन्ते मानिसले प्रयोग गर्दथे। यस रङ्गशालाको डिजाइनले कतारको विगत र वर्तमानलाई सम्मान गर्दछ। यो रङ्गशाला धेरै ठूलो छ। यस रङ्गशालाको उद्घाटन सन् २०२१ को नोभेम्बर ३० मा फिफा अरब कपका क्रममा गरिएको थियो।

६० हजार दर्शक क्षमताको यस रङ्गशालालाई विश्वकपपछि पुनर्निर्माण गरेर पाँच तारे होटल, सपिङ सेन्टरसँगै खेल चिकित्सा अस्पताललगायतका थुप्रै सुविधा उपलब्ध हुने स्थानमा परिणत गर्ने योजना कतारको छ। जीएसएएसबाट पाँच तारा रेटिङ पाएको यस रङ्गशालामा विश्वकपको उद्घाटन खेल हुनेछ। त्यसैगरी एक सेमिफाइनल खेलसहित नौ खेल यस रङ्गशालामा खेलाइने छ।

स्टेडियम ९७४

दोहा स्काइलाइनको शानदार दृश्यका साथमा एक मात्र पानी अगाडिको खेल स्थलका रूपमा स्टेडियम ९७४ रहेको छ। बन्दरगाह र औद्योगिक इतिहास प्रतिध्वनित हुने यो रङ्गशाला मानक प्रमाणित  ढुवानी कन्टेनरहरू र मोड्युलर स्टिलको प्रयोग गरेर निर्माण गरिएको छ। जसका कारण यो रङ्गशाला एक विशिष्ट, आधुनिक र रङ्गिन क्षेत्र बन्न पुगेको छ। यस रङ्गशालाको अवधारणा फेनविक इरिबरेन आर्किटेक्ट्सले डिजाइन गरेको थियो।

यसमा पारम्परिक रङ्गशालाको तुलनामा कम निर्माण सामग्री खर्च भएको छ। त्यति मात्र हैन यस रङ्गशालालाई उद्देश्य पूरा भएपछि पूर्ण रूपमा भत्काएर अन्य योजनाका लागि प्रयोग गर्न सकिनेछ। यसका सामग्रीहरू पुनः प्रयोग गर्न मिल्नेछ। यस रङ्गशालाले यसको डिजाइन र निर्माण दुवैका लागि विश्वव्यापी स्थिरता मूल्याङ्कन प्रणाली (जीएसएएस)बाट पाँच तारा रेटिङ पाएको छ।

सन् २०२१ को नोभेम्बर ३० मा संयुक्त अरब इमिरेट्स र सिरियाबीच भएको अरब कपको खेलबाटै औपचारिक रूपमा यस रङ्गशालाको उद्घाटन भएको थियो। यो रङ्गशालालाई पहिले रास अबु अबुड स्टेडियमका नामले चिनिन्थ्यो। अहिले यसको नाम ९७४ रङ्गशाला भनेर कतारको अन्तर्राष्ट्रिय फोन कोडबाट राखिएको छ। रङ्गशालाको डिजाइनमा ९७४ थान ढुवानी कन्टेनरको प्रयोग भएको थियो।

यस रङ्गशालामा विश्वकपका सात खेल खेलिने छन्। छ खेल समूह चरणका र एक खेल प्रिक्वाटरफाइनलको हुनेछ।

अल थुमामा स्टेडियम

यो रङ्गशाला कतारको दोहामा रहेको छ। यो रङ्गशालाको डिजाइन लोभलाग्दो छ। यसको डिजाइनले गहफियालाई प्रतिनिधित्व गर्दछ। गहफिया अर्थात् मध्यपूर्वका पुरुषले लगाउने परम्परागत बुनेको टोपीको आकार हो। यसले यस क्षेत्रको परम्परागत पोसाकको आधारभूत तह झल्काउँछ। यसलाई स्वाधीनता र स्वाभिमानको प्रतीकका रूपमा पनि लिइन्छ।

४० हजार दर्शक क्षमता भएको यस रङ्गशालाको उद्घाटन सन् २०२१ को अक्टोबर २२ मा भएको थियो। यस रङ्गशालामा विश्वकपका आठ खेल खेलिने छन्। जसमा छ खेल समूह चरणका, एक खेल प्रिक्वाटरफाइनलको र एक खेल क्वाटरफाइनलको हुनेछ।

खलिफा इन्टरनेसनल स्टेडियम

यो रङ्गशाला नयाँ चिस्याउने प्रणाली राखेर बनाइएको छ। कतारमा बढी गर्मी हुने भएकाले यस रङ्गशालामा सन्तुलित रूपमा वातानुकूलित बनाउन प्रणालीको प्रयोग गरिएको छ। विश्वकपका लागि यस रङ्गशालाको पुनः निर्माण गरियो। जसका कारण १० हजार ४५० सिट थपेर रङ्गशालाको दर्शक क्षमता ४० हजार पुगेको छ। यस रङ्गशालामा नयाँ एलईडी प्रकाश प्रणाली राखेर नयाँ आयाम थपिएको छ। यो रङ्गशाला सन् १९७६ मा बनाइएको थियो। यो रङ्गशालामा विश्वकपका आठ खेल खेलिने छन्। समूह चरणका छ, प्रिक्वाटरफाइनलको एक र तेस्रो स्थानको खेल यहाँ खेलिनेछ।

अहमद बिन अली स्टेडियम

यो रङ्गशालाले कतारको समग्र प्रतिनिधित्व गरेको छ। यसको विशेषता भनेकै देशका विभिन्न पक्षलाई चित्रण गर्नु हो। यसको ढाँचाले परिवारको महत्व, मरुभूमिको सौन्दर्य, लोरा र जीवजन्तुका साथै स्थानीय र अन्तर्राष्ट्रिय व्यापारलाई प्रतिनिधित्व गरेको छ। रङ्गशालाको छेउमा मल अफ कतारका अतिरिक्त पार्क, क्याफे र पैदल मार्ग रहेका छन्।

रङ्गशालाको उद्घाटन सन् २०२० को डिसेम्बरमा अमिरकपको फाइनल खेलबाट भएको थियो। ४० हजार दर्शक क्षमता भएको यो रङ्गशालामा विश्वकपका सात खेल खेलिने छन्। छ खेल समूह चरणका र एक खेल प्रिक्वाटरफाइनलको हुनेछ।

अल जानोब स्टेडियम

यो रङ्गशाला अल वक्राको समुद्री यात्राको विगतलाई श्रद्धा दिन पारम्परिक डो डुङ्गाको पालबाट डिजाइन गरिएको छ। यसको शीतल प्रणाली र हटाउन सकिने छतका कारण रङ्गशाला वर्षैभर प्रयोग गर्न सकिने खालको छ। यो रङ्गशाला एइकम र जहा हादिद आर्किटेक्टबाट डिजाइन गरिएको हो। ४० हजार दर्शक क्षमताको यो रङ्गशालाको उद्घाटन सन् २०१९ को मेमा गरिएको थियो। यस रङ्गशालामा विश्वकपका समूह चरणका छ खेल र प्रिक्वाटरफाइनलको एक खेल खेलाइने छ।

एजुकेसन सिटी स्टेडियम

यो रङ्गशाला थप विशेषखालको छ। रङ्गशालाको मुहारमा त्रिकोणहरू रहेका छन्। जसले हीरा जस्तो ज्यामितीय ढाँचाहरू बनाउँछ। यसमा आकाशमा सूर्यको गतिसँगै रङ परिवर्तन भएको समेत देखिने छ। हीराजस्तै रङ्गशालाको डिजाइनले गुणस्तर, स्थायित्व र लचिलोपनको प्रतिनिधित्व गरेको छ। यसकै कारण यो रङ्गशाला कतारको विगतको सम्झना र भविष्यका लागि बहुमूल्य संरचनासमेत बनेको छ। ४० हजार दर्शक क्षमताको यो रङ्गशाला सन् २०२० को जुनमा उद्घाटन गरिएको थियो। विश्वकपमा यस रङ्गशालामा समूह चरणका छसहित आठ खेल खेलिने छन्।

लुसेल स्टेडियम

लुसेल रङ्गशाला यो विश्वकपको सबैभन्दा महत्त्वपूर्ण रङ्गशाला हो। किनकि कतार विश्वकपको फाइनल खेल यही रङ्गशालामा खेलिनेछ। यस रङ्गशालाको डिजाइन प्रकाश र छायाँको अन्तक्र्रियाबाट प्रेरित रहेको छ। यसले फनार लाल्टेनलाई चित्रण गर्दछ। यो रङ्गशालाको आकार र अग्रभागले कचौरा तथा अन्य भाँडाकुँडामा जडित सजावटी आकृतिहरू प्रतिविम्बित गरेको छ। यसलाई अरब र इस्लाम दुनियाँमा कला र शिल्प कौशलको स्वर्णयुगको विशेषताका रूपमा पनि चित्रित गरिएको छ।

विश्वकप सकिएपछि यो रङ्गशालामा सुविधाजनक आवास एकाइ, पसल, चमेनागृह, स्वास्थ्य क्लिनिक, विद्यालयलगायत निर्माण गर्न सकिने योजना छ। यो रङ्गशाला निर्माणमा दिगो भवन अभ्यासको प्रयोग गरिएको छ। रिसाइकल गरिएको पानी रङ्गशाला वरपरका बिरुवालाई सिँचाइ गर्न प्रयोग गरिनेछ। यहाँ प्रयोग भएको पोलिटेट्राफ्लुरोइथाइलिन नामक अत्याधुनिक सामग्रीले रङ्गशालालाई तातो हावा र धुलोबाट जोगाउँछ। रङ्गशालाको वातानुकूलित प्रणालीमा बोझ कम गर्न यसले छायाँसमेत प्रदान गर्नेछ र पर्याप्त प्रकाश दिनेछ । यो रङ्गशालाले जीएसएएसबाट पाँच तारा रेटिङ पाएको छ।

कतारको सबैभन्दा ठूलो यो रङ्गशालामा ८० हजार दर्शक अट्ने क्षमता रहेको छ। यो रङ्गशालामा विश्वकपका १० खेल खेलिने छन्। समूह चरणका छ खेलका साथै बाँकी हरेक चरणका एक–एक खेल यहाँ खेलाइने छ।

Leave a Reply

Your email address will not be published.