ओलीको चियापान नेपाल समूहले बहिष्कार गर्ने

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको चियापान कार्यक्रम माधव नेपाल समूहद्वारा बहिष्कार गर्ने भएको छ । मंगलबार बिहान ११ बजेपछि आयोजना गरिएको चियापान कार्यक्रममा माधव नेपाल समूहले आफ्नो समूहका कोही पनि नेताहरुलाई नजान निर्देशन दिएको छ ।

ओलीले चियापानमा सरकारका मन्त्री, सांसद र एमालेका नेताहरुलाई बोलाइएको छ ।

त्यस्तै माधव नेपाल-झलनाथ खनाल समूहले चैत ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेला नरोक्‍ने जनाएको छ । राष्ट्रिय कार्यकर्ता भेला रोकेर पार्टी एकतालाई बलियो बनाएर साझा सहमति बनाएर जान ओलीले प्रस्ताव गरे पनि नेपाल समूहले भेला नरोक्‍ने भएको हो । सो भेलाबारे जानकारी दिन आज २ बजे ललितपुरको हेरिटेज गार्डेन सानेपामा पत्रकार सम्‍मेलन आयोजना गरिएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

ओलीसँगको छलफलपछि नेता नेपालले सोमबार आफ्नो समूहका केन्द्रीय सदस्य, सांसदलगायतलाई ब्रिफिङ गरेका थिए । नेता नेपाल निकट एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले हाम्रो कार्यक्रमहरु यथावत रहेको बताए । त्यसमा कुनै अन्यौलता नआओस् भनेर संक्षिप्त बैठक बोलाइएको बताए ।

आफु निकट नेताहरूसँग नेता नेपालले प्रधानमन्त्री ओलीले फागुन २८ गतेको निर्णयको विषयमा कुरा उठेपछि त्यो निर्णयबाट आफू पछि नहट्ने भन्दै जंगिएको बताएका थिए । नेता नेपालले सहकार्य सहज नरहेको बैठकमा बिफ्रिङ गरेका थिए ।

सर्वोच्‍च अदालतले एमाले ब्युँताएपछि चर्को विवाद छ । केही दिनअघि मात्रै ओलीले नेपाल समूहका केही नेतालाई हटाएका थिए । नेपाल समूहका केही प्रदेश प्रमुखसमेत ओलीले हटाएपछि नेपाल समूहले केन्द्रदेखि स्थानीय तहसम्म समानान्तर कमिटी घोषणा गर्ने बताएका थिए । सात वटै प्रदेशमा नेपाल समूहले आफ्‍नै समानान्तर कमिटी घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published.