प्रसिद्ध हिन्दू धर्मग्रन्थ रामायणमा वर्णित अयोध्या देश नेपालमा रहेको दाबी गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको देशभित्र र बाहिर चर्को आलोचना भएको छ । मर्यादा पुरुषोत्तम राम भारतका नभई नेपालका राजकुमार भएको अभिव्यक्ति दिएपछि उहाँ फेरी एकपटक आलोचनाको शिकार हुनुभएको हो । ओलीको पार्टीभित्र मात्र नभई भारतमा पनि चर्को आलोचना गरिएको छ । देशभित्रै कतिपयले सीमा विवादका कारण छिमेकी भारतसँगको सम्बन्ध चिसिएको बेला प्रधानमन्त्रीको पछिल्लो टिप्पणीले दुई देशको सम्बन्धमा अझ विश्वासको संकट थपेको प्रतिक्रिया दिएका छन् ।
नेकपाका प्रमुख नेताहरुले भने प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आत्मालोचना गर्न माग गर्न थालेका छन् । नेता बामदेव गौतमले राम जन्मभूमिबारे ओलीले दिएको अभिव्यक्ति फिर्ता लिन माग गर्नुभएको छ । प्रधानमन्त्रीले राम जन्मभूमि अयोध्या नेपालमा पर्ने भनी दिएको अभिव्यक्ति प्रमाणित नभएको भन्दै नेता गौतमले यो अभिव्यक्तिबाट राष्ट्रिय अन्तर्राष्ट्रिय विवाद सिर्जना भएकाले फिर्ता लिँदै जनतासमक्ष आत्मालोचना गर्न माग गर्नुभएको हो । सामाजिक सञ्जाल फेसबुकमार्फत गौतमले प्राविधिक तथा इतिहासविद्हरुको टोली बनाई यसबारेमा अनुसन्धान र तथ्य संकलनमा लाग्न प्रधानमन्त्री ओलीलाई सुझाव दिनुभएको छ । आफूलाई प्रधानमन्त्रीले यो विषय दुई वर्षअघि नै सुनाएको उल्लेख गर्दै उहाँले यस सम्बन्धमा आफुले अध्ययन गरेका कतिपय सन्दर्भ सामाग्री उल्लेख गर्दै बिना अनुसन्धान, बिना तथ्य प्रमाण यस्तो विषयलाई कहीँ कतै व्यक्त नगर्न भन्दै सल्लाह पनि दिएको उल्लेख गर्नुभएको छ । नेता गौतमले प्रधानमन्त्री र सत्तारुढ पार्टीका अध्यक्षसमेत रहेका ओलीले चाहँदा यस विषयमा अनुसन्धान र सबै तथ्य जुटाउन सक्ने पनि उल्लेख गर्नुभएको छ । यसअघि अर्का नेता नारायणकाजी श्रेष्ठ, भीम रावललगायतले पनि यस्ता अप्रमाणित कुरा ल्याएर बहसलाई विषयान्तर नगर्न आग्रह गर्नुभएको थियो ।
यता प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लिम्पियाधुरा छाडेर अयोध्यातिर ध्यान नमोड्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको कर्तव्य तत्काल कोरोना र कालापानी भएको भन्दै सर्वसाधारणलाई अयोध्यातिर ध्यान नमोड्न आग्रह गर्नुभएको हो । लिम्पियाधुरासहितका भुभाग फिर्ता ल्याउन राजनीतिक र कुटनीतिक सम्वाद गर्नु पर्नेमा सरकारले अयोध्यातिर ध्यान मोड्न खोजेको र अतिरञ्जित आनन्दमा प्रधानमन्त्री लागेको उहांको आरोप छ ।
यसैबीच प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई लिएर भारतमा पनि चर्को विरोध भएको छ । भारतीय समाचार संस्था पीटिआईले नेपालका प्रधानमन्त्रीको अभिव्यक्ति ‘राजनीतिक विवाद उक्साउने’ र ‘भारतलाई चोट पु¥याउने आश्चर्यजनक कदम’ भनेको छ । सत्तारूढ भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले ओलीको भनाइको निन्दा गर्नुभएको छ । अर्को भारतीय समाचार संस्था आइ.ए.एन.एस.ले लेखेको समाचारमा ओलीको भनाइलाई ‘स्तब्ध पार्ने बयान’ भनेर उल्लेख गरिएको छ । नेपाल भारत सम्बन्धमा उतारचढाव देखिएको बेला आएको अभिव्यक्तिलाई नेपालभित्र पनि जनताले विश्वास नगरेको दावी भारतीय मिडियाले गरेका छन् । एनडिटीभी डट कमले ओलीको अभिव्यक्तिले विश्वभर छरिएर रहेका रामका अनुयायीहरूलाई उत्तेजित पार्ने समाचार सम्प्रेषण गरेको छ ।
परराष्ट्र मन्त्रालयले अयोध्याबारे प्रधानमन्त्री ओलीको अभिव्यक्ति कुनै पनि राजनीतिक विषयसँग नजोडिएको स्पष्ट पारेको छ । मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग नजोडिएको र कसैको भावनामा चोट पु¥याउने आशयको पनि नरहेको स्पष्ट पारेको हो । श्रीराम र उहाँसँग सम्बन्धित धेरै स्थानका बारेमा बहुधा कल्पित कथा र प्रसङ्ग रहेको र सोही सन्दर्भमा प्रधानमन्त्रीले रामायण र श्रीरामसम्बन्धी विशाल सांस्कृतिक भूगोलका साथै राम र रामायणसँग सम्बन्धित उन्नत सभ्यताको थप अध्ययन–अनुसन्धान गर्नुपर्ने महत्व दर्शाउने क्रममा टिप्पणी गर्नुभएको मन्त्रालयले जनाएको छ । अयोध्याको महत्ता र त्यसको सांस्कृतिक मान्यता अवमूल्यन गर्नेतर्फ प्रधानमन्त्रीज्यूको अभिव्यक्ति लक्षित थिएन, विज्ञप्तिमा भनिएको छ । परम्परागत रुपमा विवाह पञ्चमी महोत्सवको आयोजना हुने गरेको र भारतको अयोध्याबाट नेपालको जनकपुरमा हरेक वर्ष जन्ती आउने गरेको उल्लेख गर्दै विज्ञप्तिमा दुई वर्षअघि नेपाल र भारतका प्रधानमन्त्रीले जनकपुर–अयोध्या यात्रु बस सेवा प्रारम्भ गर्नुभएको स्मरण गरेको छ । यी वास्तविकताले लामो समय देखिको नेपाल र भारतका साथै दुवै देशका जनताको सम्बन्धलाई पुष्टि गर्दछ, परराष्ट्र मन्त्रालयले भनेको छ ।प्रधानमन्त्री ओलीले सोमबार भानु जयन्तीको अवसरमा बालुवाटारमा आयोजित एक कार्यक्रममा रामायणमा वर्णन गरिएको वास्तविक आयोध्या नेपालमा पर्ने र मर्यादा पुरुष श्रीराम पनि नेपालकै राजकुमार भएको जिकिर गर्नुभएको थियो ।