कोरोनाको ओमिक्रोन भेरियन्ट सम्बन्धित अवरोधका कारण आइतबार विश्वभर ३८ सय भन्दा धेरै उडानहरु रद्द गरिएका छन् । जसमा आधाभन्दा धेरै अमेरिकाका उडानहरु रहेका छन् । खराब मौषम र ओमिक्रोन भेरियन्टका कारण बढ्दो कोरोना संक्रमणका कारण ती उडानहर रद्द भएका हुन् ।
आइतबार दिउसोसम्मको विवरण अनुशार अमेरिका आउने जाने र अमेरिकाभित्रैका गरी २२ सय भन्दा धेरै उडानहरु रद्द भएका छन् । त्यस्तै विश्वब्यापी रुपमा झण्डै ९ हजार उडानहरु ढिलो भएका छन् । सबैभन्दा धेरै स्काई वेष्ट र साउथ वेष्टका उडानहरु रद्द भएका छन् । यी एयरलाइन्सका हरेकका ४ सयभन्दा धेरै उडान रद्द भएका छन् ।
क्रिसमस र नयाँ बर्षको समय सामान्यतया धेरै व्यक्तिले उडान भर्ने समय हो । तर कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमण बढ्दा कैयन पाइलट र विमानका कर्मचारीहरु क्वारेन्टीनमा बस्नुपर्ने अवस्था आएकाले उडानहरु रद्द गर्नु परेको एयरलाइन्सहरुले जनाएका छन् । कोरोना सम्बन्धित कारणले कर्मचारीहरुको अभाव हुँदा अमेरिकाभित्रका यातायात एजेन्सीहरुले पनि सेवा कटौती गरेका छन् ।
अमेरिकामा शनिबार झण्डै साढे ३ लाखमा कोरोना संक्रमण पुष्टी भएको छ । त्यस्तै थप ३७७ को मृत्यु हुँदा कोरोनाबाट अमेरिकामा ज्यान गुमाउनेहरुको संख्या ८ लाख २८ हजार ५ सय ६२ पुगेको छ । नयाँ बर्षसँगै कर्मचारीहरु बढाउने योजनामा रहेका कैयन कम्पनीहरुले आफ्ना योजनाहरु परिवर्तन गर्न बाध्य भएका छन् ।