चार दलले छाने निर्विरोध संसदीय दलको नेता

twitter sharing button

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेतामा निर्विरोध चयन भएका छन्।

मंगलबार उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा ओली निर्विरोध चयन भएका हुन्।

‘अध्यक्षज्यू संसदीय दलको नेतामा निर्विरोध चयन हुनुभएको छ,’ उपाध्यक्ष विष्णु पौडेलले  सेतोपाटीसँग भने।

संसदीय दलको नेता चुनिएपछि ओलीले सांसदहरूलाई आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न निर्देशन दिएका छन्।

संसदलाई अकर्मण्यताबाट बचाउनका लागि एमालेका सांसदहरूले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ।

नयाँ सरकार गठनको समयावधि तोकिएसँगै दलहरूले धमाधम संसदीय दलका नेता चयन गर्न थालेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको ७ दिनको समयावधिको दोस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी र जनमत पार्टीले संसदीय दलको नेता छानेका छन्।

आइतबार राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार गठन गर्न सात दिनको समय आह्वान गरेकी छन्। यो निर्वाचनबाट उदाएको नयाँ दल रास्वपाले सर्वसम्मत रूपमा पार्टी सभापति रवि लामिछानेलाई संसदीय दलको नेता चयन गरेको छ। रास्वपाले प्रत्यक्ष ७ र समानुपातिकतर्फ १३ गरी २० सिट जितेको छ।

एकीकृत समाजवादीको संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन्। संसदीय दलको उपनेतामा उपाध्यक्ष राजेन्द्र पाण्डे चयन भएका छन् भने दलको सचेतकमा उपमहासचिव प्रकाश ज्वाला चयन भए। यो पार्टीले प्रत्यक्षतर्फ १० सिट जितेको छ। तर, थ्रेसहोल्ड भने कटाउन सकेन।

जनमत पार्टीको संसदीय दलको नेतामा चन्द्रकान्त (सिके) राउत चयन भएका छन्। उनलाई सर्वसम्मत रूपमा संसदीय दलको नेतामा चयन गरेको सचिवालय प्रमुख राजेश मण्डलले जानकारी दिए। यो पार्टीमा प्रत्यक्षमा जित्नेमा राउत एक्ला हुन् भने समानुपातिकमा ५ सिट गरी ६ सिट जितेको छ। दलको उपनेतामा अब्दुल खान, मुख्य सचेतकमा अनिता साह, सचेतकमा गोमा लाभ सापकोटालाई चयन गरिएको छ। यो पार्टीले सदस्य–सचिवमा बिनिताकुमारी सिंह र कोषाध्यक्षमा सोनु मुर्मुलाई चयन गरिएको छ।

नेकपा एमालेले मंगलबार संसद भेला बोलाएको छ। सोही भेलाले संसदीय दलको नेता चयन गर्ने सम्भावना छ भने कांग्रेसमा बुधबार संसदीय दलको नेता चयन गर्ने मिति तय भएको छ। कांग्रेसमा संसदीय दलको नेताका आकांक्षी धेरै छन्। सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा एवं शीर्ष नेता डा. शेखर कोइराला मुख्य आकांक्षी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *