एमालेमा ओली निरंकुश बन्दै, नेपाल पक्षलाई पेल्ने रणनीति

काठमाडौं : सत्तारुढ एमालेमा प्रधानमन्त्री केपी शर्मा ओली अझ शक्तिशाली बनेका छन्। संसदीय दलको विधान संशोधन गर्दै प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई कुनै पनि सांसदले पार्टी हितविपरीत गतिवधि गरे ६ महिनासम्म निलम्बन गर्ने, समानुपातिक सांसद हेरफेर गर्न पाउने अधिकार दिइएको छ। निर्वाचन आयोग, अदालतलगायत संवैधानिक निकायमा पार्टीका तर्फबाट आधिकारिक पत्राचार गर्नेदेखि दलका उपनेता, राष्ट्रियसभामा दलका नेतालगायत चयन गर्नेसम्मको अधिकारसमेत दिइएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको केन्द्रीय समिति बैठकले ओलीलाई यी अधिकार प्रत्यायोजनको निर्णय गरेको हो। वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेता भने उक्त बैठकमा अनुपस्थित थिए। बैठकले वरिष्ठ नेता नेपालसहित उनी पक्षधर चार नेतालाई पार्टी हितविपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधेको छ। पार्टीले समानान्तर गतिविधि नगर्न गरेको निर्देशनविपरीत चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला राखेर पार्टी हितविपरीतका गतिविधि गरेकामा स्पष्टीकरण सोध्ने निर्णय गरिएको नेता प्रदीप ज्ञवालीले बताए।

‘पार्टीले समानान्तर गतिविधि नगर्न उहाँहरूलाई आग्रह गरेको थियो। तर, उहाँहरूले भेला आयोजना गर्नुभयो। भेला गर्नु असाध्यै गम्भीर अनुशासनविपरीत काम हो। गम्भीर र अनुशासन विपरीतको भूमिकामा लाग्नुभएकामा माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय पार्टीले गरेको छ’, परराष्ट्रमन्त्रीसमेत रहेका नेता ज्ञवालीले भने, ‘अन्य बाँकी साथीको हकमा गम्भीर आत्मसमीक्षासहित उहाँहरूलाई पार्टीमा फर्किन आग्रह गर्ने निर्णय भएको छ। उहाँहरू जो–जो त्यसरी फर्किनुहुन्छ, उहाँहरूको हकमा पार्टीले आवश्यक जिम्मेवारी दिने घोषणा अध्यक्षले गर्नुभएको छ।’

अर्का वरिष्ठ नेता झलनाथ खनाल भने कारबाही प्रक्रियाबाट जोगिएका छन्। नेत्री रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने विषयमा छलफल चलेको थियो।

० केन्द्रीय समिति महाधिवेशन आयोजकमा रूपान्तरण
० नेपाल, रावल, पाण्डे र भुसाललाई स्पष्टीकरण
० संसदीय दलमा कडा बनाइयो अनुशासन
० अध्यक्षलाई कारबाहीसम्बन्धी सम्पूर्ण अधिकार

नेपाल र खनाल पक्षले अध्यक्ष ओलीले फागुन २८ मा केन्द्रीय समितिको एकपक्षीय बैठक राखेर जिम्मेवारी हेरफेरदेखि केन्द्रीय समितिमा नेता थप गरेकामा असहमति जनाएको थियो। उक्त पक्षले त्यसलाई नमान्ने र त्यस्ता गतिविधि फिर्ता नभएसम्म पार्टी बैठकमै सहभागी नहुने निर्णय गरेको थियो। उक्त पक्षले चैत ४ र ५ गते काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला गरेर स्थानीय तहसम्मै समानान्तर संगठनात्मक समिति गठन गरेर जाने निर्णयसमेत गरेको थियो। नेपाल पक्षले शुक्रबार दलको बैठक प्रधानमन्त्रीको सरकारी निवासमा राखेर पार्टीलाई निजीकरण गरेकाले त्यसमा सहभागी नहुने, फागुन २८ मा गरेको निर्णय खारेज नभएसम्म केन्द्रीय समिति बैठकमा नजाने निर्णय लिएको थियो।

नेपाल पक्षका कृष्णभक्त पोखरेल भने शनिबारको केन्द्रीय समिति र दलको बैठकमा गएका थिए। ओली र खनाल नेपाल दुवै समूहमा नखुलेका नेता वामदेव गौतम दलको बैठकमा गए पनि केन्द्रीय समिति बैठकमा सहभागी भएनन्। माओवादीबाट एमालेमा आएका रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझीलगायत नेता भने दुवै बैठकमा सहभागी थिए।

केन्द्रीय समिति महाधिवेशन आयोजकमा रूपान्तरण
एमाले केन्द्रीय समिति बैठकले १० औं महाधिवेशन मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको छ। फागुन २८ मै यो निर्णय भए पनि त्यसलाई शनिबार अनुमोदन गरिएको हो।

बैठकले केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्ने निर्णयसमेत गरेको नेता ज्ञवालीले बताए। केन्द्रीय महाधिवेशन आयोजक समिति २ सय ६४ सदस्यीय हुनेछ। अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेललाई महाधिवेशन आयोजक समितिमा यथावत् राखेर अन्यलाई आयोजक समिति सदस्यका रूपमा रूपान्तरण गर्ने निर्णय बैठकले गरेको छ। महाधिवेशन आयोजक समितिमा माओवादीबाट एमालेमा आएका थापासहितका नेतालाई समेटिएको छ।

आयोजक समितिको माइन्युट गर्ने जिम्मा विष्णु रिमाल र प्रदीप ज्ञवालीलाई दिइएको छ।  बैठकले २ सय ६४ जना केन्द्रीय सदस्यको कार्यविभाजन गर्न र संगठनलाई व्यवस्थित गर्न संगठन विभाग प्रमुख विष्णु पौडेल, जनसंगठन विभाग प्रमुख टोपबहादुर रायमाझी र स्थायी समिति सदस्य शंकर पोखरेल रहेको कार्यदल गठन गर्ने निर्णय पनि गरेको नेता ज्ञवालीले बताए।

‘अबउप्रान्त प्रदेशमातहतका जिल्ला समितिलाई जिल्ला संगठन समितिमा रुपान्तरित गर्न र ती जिल्लाको समयमै अधिवेशन सम्पन्न गर्ने। पालिका समिति र वडा समितिलाई समेत व्यवस्थित ढंगले कामलाई अगाडि लैजान त्यससम्बन्धी जिम्मेवारी सातवटै प्रदेश समितिलाई सुम्पेको छ’, प्रवक्ता ज्ञवालीले भने, ‘यसभन्दा अगाडिको बैठकबाटै हामीले ०७८ असार मसान्तसम्म पार्टी सदस्यता नवीकरण गर्ने समय तोकेका छौं। नवीकरण सम्पन्न भएसँगै अब तलसम्मका समितिलाई व्यवस्थित ढंगले लैजाने अधिवेशन सम्पन्न गर्ने काम गरिनेछ।’

बैठकले नेकपा स्थापना दिवसका दिन वैशाख ९ मा (अप्रिल २२)  बल्खुको मदननगरमा रहेको पार्टीको जग्गामा कार्यालय बनाउन शिलान्यास गर्ने निर्णय पनि गरेको छ।

सरकार टिकाउन अनुचित सम्झौता गर्दिनँ : ओली
प्रधानमन्त्री ओलीले सरकार टिकाउन आफूले कुनै पनि शक्तिसँग अनुचित सम्झौता नगर्ने बताएका छन्। प्रधानमन्त्री ओलीले जनताको भावनाविपरीत कुनै काम नगर्ने बताएको एमाले प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए।

‘सरकार टिकाउन हामी कुनै पनि प्रकारको अनुचित सम्झौता गर्ने छैनौं, जनताको भावनाको विपरीतका काम गर्ने छैनौं’, नेता ज्ञवालीले प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै भने, ‘हामीलाई फेरि थप घेराबन्दी गरियो भने थप शक्तिसाथ पुनःस्थापित हुनेछौं।’

लुरुलुरु बालुवाटार जाँदिनँ : नेपाल
एमाले वरिष्ठ नेता नेपालले आफूहरू पार्टी छाडेर कतै नजाने बताएका छन्। तर, पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउँदैमा अवैधानिक रूपमा भएका निर्णय मानेर बालुवाटार भने नजाने नेपालको भनाइ छ।

नेपालले ओलीसँग आफ्नो माया–पिरती ४८–४९ वर्ष लामो रहेको बताए। ‘केपी ओलीसँग ४८–४९ वर्ष लामो माया पिरती छ’, नेपालले शनिबार युवा संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै भने, ‘त्यत्रो समयको माया–पिरती कहाँ एकै रातमा सिद्धिन्छ र ?’

उनले माओवादी केन्द्रसँगको एकता अगाडिको २०७५ जेठ २ गतेको अवस्थामा फर्किए अझै नयाँ ढंगले पार्टीलाई एकताबद्ध बनाएर लैजाने ठाउँ रहेको बताए।  ‘अहिले पनि केपी कमरेडलाई मेरो प्रस्ताव हो, नयाँ ढंगबाट जाऊँ, एकताको बाटोमा अगाडि बढौं’, उनले भने, ‘त्यसका निम्ति ०७५ जेठ ३ भन्दा अगाडिको अवस्थामा फर्किनुस् र यसबीच भएका बैठक अवैध भएकाले फिर्ता लिनुस् भन्ने छ।’ उनले ओली पूर्ववत् अवस्थाको पार्टी संरचनामा फर्किए अल्पमतमा पर्ने डरले विधानविपरीत केन्द्रीय समितिमा मनोनयनमा लागेको आरोप लगाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *