प्रदीप पौडेल आफ्नो जन्मस्थान तनहुँ–२ बाटै चुनाव लड्न चाहन्थे। र, त्यसैको तयारी गरिरहेका थिए। तनहुँ–२ मा उनका लागि अनुकूल वातावरण थियो। तैपनि उनलाई त्यो ठाउँ छाड्न बाध्य पारियो।
उनलाई तनहुँ छाड्न बाध्य पार्न प्रमुख भूमिका निर्वाह गरेका थिए– वरिष्ठ नेता रामचन्द्र पौडेलले। रामचन्द्रले आफू तनहुँ–१ मा सुरक्षित हुन क्षेत्रीय कार्यसमितिबाट सिफारिस नै नभएका केन्द्रीय सदस्य शंकर भण्डारीलाई तनहुँ–२ मा टिकट दिलाउन नेतृत्वसँग ‘लबिइङ’ गरेका थिए।
प्रतिनिधि सभा र प्रदेश सभाको टिकट बाँडफाँटमा संलग्न एक नेताले तत्कालीन समयमा वरिष्ठ नेता पौडेलको हस्तक्षेपका कारण प्रदीप गृहजिल्ला तनहुँ छाड्न बाध्य हुनु परेको बताएका थिए।
‘तनहुँ–२ मा प्रदीपजीको परिस्थिति अनुकूल र चाहना हुँदाहुँदै पनि जिल्ला छाड्न बाध्य पारियो,’ तनहुँ–२ को टिकट भण्डारीलाई दिइएपछि ती नेताले भनेका थिए, ‘यसमा रामचन्द्र दाइले आफू सुरक्षित हुन क्षेत्रीय समितिबाट सिफारिस नै नभएका शंकर भण्डारीलाई टिकट दिलाउन लबिइङ गर्नुभयो।’
ती नेताले तनहुँको टिकट बाँडफाँटका क्रममा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला अगाडि पौडेलले वरिष्ठ नेता पौडेलप्रति चर्काे असन्तुष्टि व्यक्त गरेको पनि बताएका थिए।

यद्यपि, त्यसअघि भने उनलाई सभापति देउवा र वरिष्ठ नेता पौडेलले तनहुँ–२ बाट प्रतिनिधि सभा सदस्यका लागि टिकट दिने आश्वासन दिएका थिए। तर, पछि दुवै शीर्ष नेतृत्वले प्रदीपलाई काठमाडौं–५ का लागि टिकट दिएर पठाएका थिए।
उम्मेदवारी मनोनयनकै दिन अर्थात् गत असोज २३ गते नै उनलाई पार्टीले काठमाडौं–५ का लागि प्रतिनिधि सभामा टिकट दिएर पठाएको थियो। बिरानो भूगोलमा आएर मनोनयन दर्ता गरेसँगै उनलाई कमजोर पार्न विपक्षीहरुले प्रदीप ‘टुरिस्ट’ उम्मेदवार भएको नारा लगाए।
तर, राजनीतिमा अनेक हण्डर खाँदै आएका प्रदीप विपक्षीको प्रचारबाजीलाई चिर्दै काठमाडौं–५ मा नेकपा एमालेका दोस्रो वरीयताका नेता (वरिष्ठ उपाध्यक्ष) ईश्वर पोखरेललाई पराजित गरेका छन्।