काठमाडौँ — पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अमेरिकी निकाय मिलेनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी)को अनुदान नेपालले स्वीकार नगरेको भए नेपाल आर्थिक रुपमा टाट पल्टिने अवस्थामा पुगिसक्ने बताएका छन् ।

नेपालले एमसीसी अनुदान स्वीकार नगरेको भए अहिले श्रीलंका जस्तै आर्थिक संकट भोगिरहेको अवस्थामा हुने उनको भनाइ छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (ईप्पान) ले आयोजना गरेको हिमालय हाइड्रो एक्स्पो २०२२ मा पाण्डेले यस्तो बताएका हुन् ।
‘हाम्रो आर्थिक परिदृश्य कहीँ न कहीँ एमसीसीसँग जोडिएको छ । एमसीसी फेल भएको भए हामी श्रीलंकाभन्दा चरम संकटमा जान्थ्यौं,’ पाण्डेले भने । आफ्नो दल नेकपा एमाले प्रतिपक्षी भएकाले एमसीसी पास गर्ने बेलामा केही नबोलेको पनि उनले बताए ।
‘सरकारमा भएको दलले एमसीसी अनुदान स्वीकार गर्ने प्रस्ताव संसदमा लग्यो । दुई तिहाइबाटै सरकार बन्ने भएकाले त्यो पास गर्न सक्थ्यो । हामी प्रतिपक्षले पास गर्छु भन्दै दौडिँदै जान भएन ।’ उनले भने, ‘प्रतिपक्षले बजेट पास गर्न दिन्छ ? एमसीसीको अवस्था पनि त्यस्तै हो ।’