बुधबार एमसीसीबिरुद्ध प्रदर्शन हुनसक्ने भन्दै नेपालमा रहेका आफ्ना नागरिकलाई सचेत रहन अमेरिकाले सुझाव दिएको छ । अमेरिकी दूतावास काठमाडौंले आफ्ना नागरिकका लागि अलर्ट जारी गर्दै विगतका आम हडताल हिंशात्मक भएको उल्लेख गर्दै सचेत रहन सुझाव दिएको हो ।
बुधबार गतिविधिको प्रभाव कहाँ कहाँ पर्ने भन्ने स्पष्ट नभएपनि काठमाडौंका विभिन्न स्थानमा यातायातमा अवरोध हुनसक्ने र नेपाल प्रहरी तथा अन्य सुरक्षा निकायले भींड नियन्त्रणका लागि बल प्रयोग गर्नसक्ने भएकाले ठूला जमघट र विरोध प्रदर्शनबाट टाढा रहन सुझाव दिइएको छ । काठमाडौं उपत्यकामा अत्यावश्यक अवस्थामा मात्र व्यक्तिगत सवारी साधन प्रयोग गर्न सुझाव दिइएको छ ।
कुनै अप्ठ्यारो अवस्था भएमा वा सुरक्षाको अवस्था आएमा प्रहरीलाई खबर गर्न सुझाव दिइएको छ । अपडेटहरुका लागि स्थानीय संचारमाध्यमहरु पढ्न, सुन्न र हेर्न सुझाव दिइएको छ । कुनै स्थानमा जान नसक्ने भन्दै कसैले चुनौति दिएको खण्डमा त्यस्ता चुनौतिको सामना गर्न भन्दै ती स्थानमा जानेजस्ता व्यवहारमा संलग्न नहुन समेत भनिएको छ ।
लो प्रोफाइलमा रहन र आफ्नो आसपासको अवस्थाबारे सचेत रहन समेत अमेरिकी दूतावास काठमाडौंले आफ्ना नागरिकहरुलाई सुझाव दिएको छ ।