एमसीसीबारे कांग्रेसले चिर्न चाहेका ३० भ्रम र यथार्थ

काठमाडौँ — नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार नुवाकोटका दुई गाउँपालिका भवनको उद्घाटन गर्दै नेकपा एमाले नेता भीम रावलको चर्को आलोचना गरे, एमसीसीबारे भ्रम फैलाएको र दोहोरो भूमिका निभाएको आरोपमा । रावलले एमसीसीको सबैभन्दा विरोध गरिरहेको भए पनि उनले त्यस्तो बोल्न लाज मान्नुपर्ने प्रधानमन्त्री देउवाको भनाइ थियो ।

‘एमसीसी संसद्‌बाट पास गर्नुपर्छ भनेर एमाले अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीजीले नै संसद्‌मा पेस गर्नुभएको हो । अहिले मैले त्यसैलाई संसद्‌बाट पास गराऔँ भनेको हुँ,’ देउवाले प्रश्न गर्दै भनेका थिए, ‘तर भीम रावल अहिले सबैभन्दा बढी एमसीसीको विरुद्धमा बोल्नुहुन्छ, ओलीले एमसीसी संसद्‌मा पुर्‍याउँदा के हेरेर बस्नुभएको थियो ? त्यसबेला किन विरोध गर्नुभएन, किन रोक्नुभएन ? सत्तामा हुँदा एउटा कुरा, प्रतिपक्षमा हुँदा एउटा कुरा, लाज छ कि छैन ?’

प्रधानमन्त्री देउवाले एमसीसी नेपाललाई प्राप्त भएको सबैभन्दा ठूलो अनुदान रहेको भन्दै यो राष्ट्रहितविपरीत नरहेको दाबी गरेका थिए । सभापति देउवाले मात्रै होइन, पन्ध्र दिन अगावै प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भइसके पनि अहिले दिनहुँ जसो कांग्रेस नेताहरूले त्यसैको पक्षमा वकालत गरिरहेका छन्, विरोध गर्नेहरू गलत भएको दाबी गरिरहेका छन् ।

आसन्न स्थानीय चुनावालाई लक्षित गरेर एक महिने चुनावी अभियान थालेकोमा अभियानको केन्द्रमा परेको छ, एमसीसी । नेताहरूले कांग्रेस नेतृत्वको सरकारले नेपालको लागि प्राप्त सबैभन्दा ठूलो वैदेशिक अनुदान लिएको र त्यसका विषयमा कम्युनिस्ट दलहरूले भ्रम फैलाउने काम गरेको आरोप लगाइरहेका छन् ।

कांग्रेस नेताको तर्क छ, ‘कांग्रेसले सत्ता र प्रतिपक्षमा हुँदा समेत एमसीसीको पक्षमा बोलेको, तर कम्युनिष्ट दलहरूले सत्ता र प्रतिपक्षमा हुँदा फरक–फरक मत राखेको छ ।’ कांग्रेसले अभियानकै लागि एमसीसीका भ्रम र यथार्थबारे छुट्टै दस्तावेज नै तयार गरेको छ । केन्द्रीय कार्यालयले दस्तावेज छपाई गरी ७७ वटै जिल्लामा खटिएका केन्द्रीय नेताहरूमार्फत् वडा–वडासम्म पुर्‍याउने र त्यसबारे फैलाइएका भ्रम चिर्ने भनेको छ ।

प्रवक्ता प्रकाशशरण महतले एमसीसी परियोजनासँग जोडेर कांग्रेसमाथि लगाइएका आरोपहरू चिर्न यस्तो गरिएको हो । ‘तल्लो तहसम्म एमसीसीबारे भ्रम फैलाइएको छ, त्यस्तो भ्रमलाई हामीले चिर्नुपर्छ, र सत्य कुरा जनतालाई बुझाउनुपर्छ,’ उनले भने, ‘यो अभियानले त्यही काम गरिरहेको छ ।’

कांग्रेसले आफ्नो दस्तावेजमा ३० वटा भ्रम र त्यसबारेको यथार्थ समेटेको छ । ‘एमसीसी अनुदान सहायता सम्झौता प्रक्रिया यो विन्दुसम्म आइपुग्दाको यात्रा त्यत्ति सहज हुन सकेन । एक दशकभन्दा लामो सम्झौता प्रक्रियामा संलग्न केही पार्टीहरु र पात्रहरुको दोहोरो प्रवृत्तिका कारण यो विषय गिजोलिन पुग्यो, जसले गर्दा वास्तविकता र आवश्यकताभन्दा धेरै जटिल बन्न गयो,’ कांग्रेसले भनेको छ, ‘ज–जसले यसलाई गिजोले, जनतामा भ्रम सिर्जना गरे, उत्तेजनाको राजनीति गरे र दोहोरो चरित्र देखाए, यसको मूल्यांकन आम जनताले गर्नुपर्नेछ ।’

कांग्रेसले प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भएर कार्यान्वयनको प्रक्रियामा अघि बढे पनि त्यसबारे उत्पन्न भ्रम चिर्नुलाई कर्तव्य ठानेको जनाएको छ ।

‘नेपाली जनतालाई सधैं उत्तेजित बनाउने र राजनीति गर्ने प्रवृत्तिको सधैंका लागि अन्त्य गराउने अठोट गर्नुपर्छ । एउटै पार्टी, एउटै व्यक्तिले सरकारमा रहँदा र बाहिर हुँदा दोहोरो कुरा गरेको, आफैँ मन्त्रिपरिषद्मा‌ बसेर सम्झौता गर्ने, अनि बाहिर आएर जनतालाई राष्ट्रघाती सम्झौता भनेर भ्रम छर्ने पार्टी र व्यक्तिको द्वैध प्रवृत्तिको चिरफार गर्न सक्नुपर्छ,’ कांग्रेसले भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *