‘एनआरएनए ग्लोबल स्पीच कन्टेस्ट’मा म्यानमारबाट प्रतिनिधित्व गर्नुभएकी अभिलाषा खतिवडा विजेता बन्नुभएको छ । १९ वर्षमुनीका नेपाल बाहेक विदेशमा स्थायी बसोबास गर्ने अभिभावकका बालबालिकाबीच भएको ‘ग्लोबल स्पीज कन्टेस्ट’ मा अभिलाषा खतिवडा विजेता बन्नुभएको हो । विजेता सँगै खतिवडाले एक लाख नगद सहित प्रमाणपत्र प्राप्त गर्नुभएको छ । त्यस्तै, रसियाबाट प्रतिनिधित्व गर्नुहुने समरिया केसी दोस्रो बन्न सफल हुनुभएको छ । समरियाले साठी हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
यूकेबाट प्रतिनिधित्व गर्नुहुने टिया आचार्यले तेस्रो स्थान (उहाँ ९ वर्षमुनीको हुनुहुन्छ ) हासिल गर्नुभएको छ । टियाले चालीस हजार सहित प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
त्यस्तैगरि, अस्ट्रियाबाट प्रतिनिधित्व गर्नुहुने कुञ्जन बोहरालाई ‘राइजिङ स्टार’ र १३ वर्षभन्दा मुनीका ‘लिटल मास्टर’ को टाइटल अस्ट्रियाकै दिब्या ढकालले प्राप्त गर्न सफल हुनुभएको छ । उहाँहरु दुवैले तीस /तीस हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
त्यस्तै, नाइजेरियाका सुहिम थापा र साउदी अरवबाट प्रतिनिधित्व गर्नुहुने जस्मिन सायदले चौथो स्थान हासिल गर्न सफल हुनुभएको छ । थाइल्याण्डबाट प्रतिनिधित्व गर्नुहुने दंग तिमिल्सीनाले पाँचौ स्थान हासिल गर्नुभएको छ । सान्त्वना हुनुहुने सुहिम, जस्मिन र दंग तीनै जनाले बीस /बीस हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
गैर आवासिय नेपाली संघ एसिया प्याशिफिक युवा कमिटिको आयोजना, एनआरएन एसिया प्याशिफिक तथा एसिया प्याशिफिकका सबै एनसिसीको सक्रियतामा सम्पन्न प्रतियोगितामा २९ देशका ६१ जना प्रतियोगी सहभागि हुनुहुन्थ्यो । ‘राष्ट्रको लागि मेरो सपना’ शीर्षकमा नेपाली र अंग्रेजी दुवै भाषामा प्रतियोगीता गरिएको थियो ।
प्रतियोगितामा अमेरिका, यूके, अष्ट्रेलिया, बहराइन, बोस्वाना, क्यानाडा, चीन, हङकङ, आइरल्याण्ड, इटाली, जापान, केन्या, मकाउ, मलेसिया, मोरोक्को, म्यानमार, नाइजेरिया, पोर्चुगल, कतार, रसिया, साउदी अरब, सिंगापुर, कोरिया, स्पेन, थाइल्याण्ड, युएई , अष्ट्रीया, आयरल्याण्ड र स्कटल्याण्डबाट प्रतिनिधित्व रहेको थियो ।
अनलाईन जुम मार्फत (अडियो, भिडियो) मा भएको प्रतियोगितामा हाँस्यकलाकार सन्दिप क्षेत्री, साहित्यकार प्रकाश सायमी, पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठ र सञ्चारकर्मी समा थापा निर्णयक मण्डलमा रहनु भएको थियो । यस्तै, कार्यक्रममा संचारकर्मीहरु भूषण दाहाल र रवि लामिछाने विशेष अतिथिको रुपमा सहभागि हुनुहुन्थ्यो ।
आयोजक कमिटि तथा एनआरएन एसिया प्याशिफिक कमिटिका संयोजक दिपक कँडेलले स्वागत गर्दै शूरु गरिएको कार्यक्रममा एनआरएनका पूर्व अध्यक्ष भवन भट्ट, वर्तमान अध्यक्ष कुमार पन्तले विदेशमा रहेका दोस्रो पुस्तालाई नेपालसँग जोड्न यस्तै खालका कार्यक्रमको खाँचो औल्याउनुभएको थियो ।