एनआरएनले राष्ट्रिय उद्यमी सम्मेलन गर्ने

एनआरएन अस्ट्रेलियाको आयोजना तथा अस्ट्रेलियन एजुकेसन कन्सल्टेन्ट अलायन्सको विशेष सहयोगमा आउँदो अप्रिल २४ तारिखका दिन एक दिने अस्ट्रेलियाव्यापी राष्ट्रिय उद्यमी सम्मेलनको आयोजना गर्ने भएको छ।

अस्ट्रेलियामा छरिएर रहेका नेपाली उद्यमी तथा बुद्धिजीवीहरूलाई समेटेर समसामयिक विषयमा व्यवसायको विकास र विस्तारसँंगै सिकेको ज्ञान र अनुभवलाई आपसमा साटासाट गर्ने यस सम्मेलनको मूल उद्देश्य रहेको एनआरएन अस्ट्रेलियाका महासचिव डा ज्ञानेन्द्र रेग्मीले बताए।

सिड्नीको मुटुमा रहेको टाउनहलस्थित रिज होटलमा आयोजना हुन लागेको यस सम्मेलनमा अस्ट्रेलियाभरका करिब दुई सय उद्यमी तथा व्यवसायीहरूको सहभागिता रहने कार्यक्रमका संयोजक तथा एनआरएनका कोषाध्यक्ष अनिल पोखरेलले बताए।

सम्मेलनमा विभिन्न विधाका युवा उद्यमीहरूले सम्भावना र यसको प्रभावका बारेमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

यसपटक एनआरएन अस्ट्रेलियाको यस युवा उद्यमी सम्मेलनलाई कम्युनिटी माइग्रेन्ट रिसोर्स सेन्टरले समेत सहयोगीको भूमिका निर्वाह गर्दै आर्थिक सहयोग समेत गर्ने भएको छ।

कार्यक्रमका प्रमुख वक्तामा अस्ट्रेलियाका नेपालीमूलका धनाध्य शेष घलेको समेत विशेष प्रस्तुति रहनेछ।

कार्यक्रमको महत्वपूर्ण पाटोको रूपमा की नोट स्पीकरहरू रहेका छन्। जसमा यसपटक एनएसडब्लु सिपिएका कार्यकारी निर्देशक मिचेली कारुसो रिचार्ड सरम्यान, नेपाली युवा उद्यमी प्रवीण गौतम लगायत रहेका छन्।

यसपटक सम्मेलनलाई थोरै तर प्रभावकारी विषयमा छलफल गरेर उपलब्धीमूलक बनाउने अभियानमा जुटेको कुरा सम्मेलन तयारी समितिका संयोजक अनिल पोखरेलले बताए।

‘धेरै खाले विषयको छलफल र अनेकन कार्यपत्रले सम्मेलनलाई लामो मात्र होइन यसबाट निक्लने निचोडलाई पनि प्रभावकारी बनाउन सक्दैन, त्यसैले यस पटक थोरै तर महत्वपूर्ण विषय र वक्ताहरूको छनोट गरिएको हो’, एनआरएनका महासचिव डा ज्ञानेन्द्र रेग्मीले भने।

यसअघि पनि एनआरएनले उद्यमी सम्मेलनको आयोजना गर्दै आएको थियो। एनआरएनका पूर्वकोषाध्यक्ष डिला खरेलले पछिल्ला उद्यमी सम्मेलनको संयोजन गरेका थिए।

Leave a Reply

Your email address will not be published.