एनआरएनए विधान संशोधनमा अध्यक्ष कुलआचार्य तगारो, वर्तमान कार्यसमिति भंग गर्न माग

गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र विधान संशोधनमा तीब्र विवाद हुँदा वर्तमान कार्यसमिति भंग गरेर तदर्थ समिति गठन गर्न माग गरिएको छ । गैरआवासीय नेपाली संघको काठमाडौंमा जारी साधारणसभामा संघका अध्यक्ष कुल आचार्यले अनलाइन मतदानलाई अस्वीकार गरेपछि विवाद सिर्जना भएको हो ।

मंगलवार रातिसम्म चलेको साधारणसभामा विधान संशोधनको पक्षमा बोल्दै संघका उपाध्यक्ष डिबी क्षेत्रीले सदस्यहरुको भावना नबुझी अझै पनि विवाद सिर्जना गर्ने हो भने वर्तमान कार्यसमितिको औचित्य नरहेको तर्क गरे ।

विधान संशोधन समितिको सर्वसम्मत निर्णयलाई आचार्यले संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले अनलाइन भोटिङ नगर्नु भन्नु भएको भन्दै सो प्रस्तावलाई अस्वीकार गरेपछि साधारणसभा अनिर्णयको बन्दी बनेको छ ।

संघका उपाध्यक्ष महेश श्रेष्ठले अनलाइन भोटिङमा जान नहुने कारणको माग गरेका थिए । उनले अहिलेको जमना डिजिटल प्रविधि भएको भन्दै अनलाइनमार्फत मतदानको माग गरेका छन् ।

साधारणसभामा अनलाइन भोटिङ र प्रतिनिधि छनोटका बारेमा आचार्यले तगारो हालेका थिए । विधान समितिले सो संशोधन प्रस्ताव संघका अध्यक्षद्वय रविना थापा र डा। बद्री केसी, महासचिवद्वय गौरीराज जोशी, डा। केशव पौडेलको समेत पूर्ण सहमतिमा संशोधन पेश गरेको थियो ।

साधारणसभामा बोल्दै संघका युवा उपाध्यक्ष रोशन थापाले संस्थामा पूर्वअध्यक्षहरुको रवैयाका कारणले संकटमा परेको भन्दै पूर्वअध्यक्षहरुलाई टाढै बस्न सुझाव दिएका थिए । उनले संस्थापक अध्यक्ष डा महतोलाई आफ्ना भनाईहरु संस्थाभित्र आएर राख्न चुनौती दिए ।

साधारणसभामा उपस्थित एक पदाधिकारीले आचार्यको नियत र क्षमतामाथि प्रश्न उठेको बताए । ‘गत १० औं महाधिवेशनमा सत्ताको दम्भ देखाएर महाधिवेशन भाड्ने काम भयो, अहिले फेरी संस्थापक अध्यक्षको नाम विवादमा पारियो’ उनले बताए ।

विधान संशोधनमा सहमति नजुटेपछि कार्यकारी अध्यक्ष रविना थापाले भोलिसम्म अध्यक्षत्रयका बीच सहमति खोजिने र सहमति नजुटे पुरानै विधान अनुरुप निर्वाचन हुने भन्दै साधारणसभा स्थगित गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *