एनआरएनए अमेरिकाको निर्वाचन सुरु

अमेरिका/ विभिन्न रस्साकस्सीका बीच अन्तत: गैर आवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको आगामी कार्यकालका लागि शनिवार बिहान देखि निर्वाचन प्रक्रिया सुरु भएको छ।

एनआरएनए अमेरिका पहिलो पटक फेस भेरिफिकेशन मार्फत निर्वाचनमा छ।

शनिवार बिहान आठ बजे सुरु भएको निर्वाचन आइतबार बिहान आठ बजे (पूर्वीय समय) सम्म जारी रहने छ।

निर्वाचन आयोगले सदस्यहरूलाई इमेल वा फोनमा भोटिङ लिङ्क पठाउने जनाएको छ।

यस पटकको निर्वाचनमा १३ हजार ६ सय ९२ जना मतदाता रहेका छन्। जसमा आजीवन सदस्यको सङ्ख्या सात सय ८९ मात्र रहेको छ।

फेसभेरिफिकेशन पक्रियामा सहभागी नभएको कारण झन्डै १७ सय आजीवन सदस्य यस पटक मतदानबाट वञ्चित भएका हुन्।

एनसीसी, च्याप्टर र आइसिसी सदस्यका लागि दुई सय भन्दा बढी उम्मेदवार चुनावी मैदानमा छन्।

आगामी कार्यकालका लागि अध्यक्ष पदमा डिलु पराजुली र डा. अर्जुन बन्जाडे प्रतिस्पर्धामा छन्। बन्जाडे पूर्व वरिष्ठ उपाध्यक्ष हुन् । उनी अघिल्लो पटकको चुनावमा अध्यक्ष पदमा नै पराजित भएका थिए।

यस्तै केन्टकी च्याप्टरको अध्यक्ष दुई कार्यकाल सम्हालेका पराजुली वर्तमान कमिटीको उपाध्यक्ष हुन्।

यस्तै वरिष्ठ उपाध्यक्षमा अञ्जन चौलागाई र विकास उप्रेती आमान्ने सामुन्ने भएका छन्। वर्तमान कमिटीका उपाध्यक्ष विकास उप्रेती डा. बन्जाडे टिमका हुन। यस्तै वर्तमान महासचिव अञ्जन चौलागाई पराजुली टिमबाट चुनावी प्रतिस्पर्धा छन्।

खुल्ला उपाध्यक्षमा चार पदका लागि नौ जना चुनावी मैदानमा छन्।यस्तै महिला उपाध्यक्ष र युवा उपाध्यक्षमा पनि चुनाव हुँदै छ।

महासचिवमा रामहरि अधिकारी र गोपेन्द्र भट्टराई प्रतिस्पर्धामा छन्। न्यु योर्क च्याप्टरमा दुई कार्यकाल अध्यक्ष भएका अधिकारी अघिल्लो निर्वाचनमा उपाध्यक्षमा पराजित भएका थिए।

अघिल्लो निर्वाचनमा उपाध्यक्षमा विजयी भएका भट्टराई पद घटुवा हुँदै पुन महासचिवमा प्रतिस्पर्धा गर्न आएका हुन्। सन् २०१९ को निर्वाचनमा भट्टराई महासचिवमा पशुपति पाण्डे सँग पराजित भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *