एनआरएनएमा अहिलेसम्म को–कसको पर्‍यो उम्मेदवारी ? निर्वाचन ‘फेसियल भेरिफिकेसन’का आधारमा

काठमाडौं । गैरआवासीय नेपाली संघको ११ औँ महाधिवेशनमा ४ जना अध्यक्षको लागि प्रतिस्पर्धा गर्दै छन्।

हालका अध्यक्ष २ जना पुनः दोहोरिएका छन् भने २ उपाध्यक्षले अध्यक्षमा उम्मेदावारी दर्ता गराएका छन्।

मंगलबारबाट हुने निर्वाचनमा अध्यक्ष पदको लागि रुसका डा. बद्री केसी, अमेरिकाकी रविना थापा, जापानका महेशकुमार श्रेष्ठ र कतारका राजेन्द्रकुमार शर्माले उम्मेदवारी दर्ता गराएका हुन्।

१० औं महाधिवेशनमा विवादको कारण निर्वाचन हुन नसक्दा ३ अध्यक्षको व्यवस्था गरी ६–६ महिना सञ्चालन गरे। हाल डा. केसी कार्यकारी अध्यक्ष रहेका छन् भने थापा आलंकारिक अध्यक्ष हुन्।

राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने गैरआवासीय नेपाली विश्व सम्मेलन तथा ११ औं महाधिवेशनमा अध्यक्षका दाबेदारहरु कुनै न कुनै राजनीतिक दलनिकट भए पनि टिम मिश्रित खालका रहेका छन्।

अध्यक्षमा डा. केसी र श्रेष्ठले बलियो टिमसहित प्रतिस्पर्धा गर्दै छन्। राजेन्द कुमार शर्माको आफ्नै टिम भए पनि सबै पदका दाबेदार उनीसँग छैनन्। हालकी अध्यक्ष थापाले छुट्टै टिमबिनै उम्मेदवारी दर्ता गराएकी छन्।

११ औं महाधिवेशनमा ४ हजार २ सय प्रतिनिधिले फेसियल भेरिफिकेसनको आधारमा अनलाइनबाट वा काठमाडौंमा उपस्थित भएर मतदान गर्न पाउँछन्। मतदानको लागि काठमाडौं नै आउनुपर्ने अवस्थाको भने अन्त्य भएको छ।

अध्यक्षका ४ उम्मेदवारः को कस्ता ?

डा. बद्री केसी गैरआवासीय नेपाली संघ (एनआरएनए)को अभियानमा स्थापनाकालदेखि नै सक्रिय छन्।

१० औं महाधिवेशनमा ३ जना अध्यक्ष चयन भएकामा केसी हाल कार्यकारी अध्यक्ष रहेका छन्। एनआरएनएमा उनी कोषाध्यक्ष, महासचिव हुँदै अध्यक्ष बनेका हुन्।

काठमाडौंको फर्पिङमा जन्मेका केसीको रुसमा विभिन्न व्यवसायसँगै नेपालका बैंक तथा वित्तीय संस्था, जलविद्युत, चिया लगायतका व्यवसायमा लगानी छ। उनी एमालेनिकट उम्मेदवार मानिन्छन्। तर उनको साथमा बेलायत र अमेरिकामा राम्रो प्रभाव पार्ने कांग्रेसनिकट हेमराज शर्मा र गौरीराज जोशी छन्। बेलायतका हेमराज शर्मा उपाध्यक्षमा दोहोरिएका छन् भने अमेरिकाका जोशीले महासचिवमा।

सुरुमा हेमराज शर्मा अध्यक्षमा उठ्ने तयारी गरे पनि डा. बद्री केसीलाई समर्थन गर्नकै लागि पछि हटेका छन्। केसीलाई  गैरआवासीय नेपाली संघका संस्थापक उपेन्द्र महतोलगायतको समर्थन रहेको छ।

‘व्यक्तिमा राजनीतिक आस्था केही न केही त हुन्छ तर एनआरएनए संस्था नेतृत्व गर्दा देखाउनुहुँदैन,’ केसी भन्छन्।

सत्ता गठबन्धनबाट २ वटा उम्मेदवार रहेका छन्। नेपाली कांग्रेस र माओवादीनिकटले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन्।

अध्यक्षका उम्मेदवार महेशकुमार श्रेष्ठ कांग्रेसनिकट हुन्। श्रेष्ठ गठबन्धनको साझा उम्मेदवार बन्ने प्रयासमा रहे पनि सफल हुन सकेनन्।
संघको सुरुवाती चरणदेखि नै एनआरएन अभियानमा जोडिएका उनी जापानबाट राष्ट्रिय परिषद्को संस्थापक हुँदै २०१९–०२१ मा कोषाध्यक्ष भए। हाल उपाध्यक्षको भूमिकामा छन्।

उनले जापान र नेपालमा व्यवसाय गर्दै आएका छन्। सिटी एक्सप्रेस मनी ट्रान्सफरदेखि सूचना प्रविधि, पर्यटन, जलविद्युत तथा वित्तीय क्षेत्रमा लगानी गरेका छन्।

उनलाई पूर्वअध्यक्ष जीवा लामिछानेको सद्धभाव रहेको छ भने हालका अध्यक्ष कुल आचार्यले समेत समर्थन गरेका छन्।
रुपन्देहीको पाँचतारे होटल टाइगर प्यालेस खरिद गरेका बुद्धिसागर लामिछाने उनको टिमबाट महासचिवमा उम्मेदवारी दर्ता गराएका छन्।
श्रेष्ठले एनआरएनएमा समन्वयात्मक भूमिका निभाउने बताएका छन्।

‘एनआरएनएमा अहिले मेलमिलाप, एकता र सहमति गरेरै अघि बढ्ने परिस्थिति रहेको छ,’ श्रेष्ठ भन्छन्, ‘गफ लगाउनेमा विश्वास गर्दैन, परिणाममुखी काम गर्नुपर्छ।’

बाग्लुङका राजेन्द्रकुमार शर्मा (आरके शर्मा) ११ औं अधिवेशनमा अध्यक्ष हुनका लागि विश्व भम्रण गरी फर्किएका छन्। कतारमा व्यवसाय गर्दै आएका शर्मा माओवादीनिकट हुन्। शर्माले आफू प्रधानमन्त्रीनिकट भएकाले एनआरएनएको मुद्दालाई स्थापित गर्न सहज हुने सार्वजनिक कार्यक्रममै बोल्दै आएका छन्।

शर्माले टिमसहित प्रतिस्पर्धा गर्न उम्मेदवारी दर्ता गराएका छन्।

शर्मा गैरआवासीय नेपाली अभियानमा सन् २००५ देखि सक्रिय छन्। उनले संघको राष्ट्रिय समन्वय परिषद्, कतारको सल्लाहकारदेखि अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य, मध्यपूर्व संयोजक र आईसीसी सचिव भएर काम गरिसकेका छन्।

११ औँ महाधिवेशनका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष रबिना थापाले सोमवबार उम्मेदवारी दर्ता गराएकी छन्। थापालाई अध्यक्ष पदकै उम्मेदवारको चर्चामा रहेका विनय अधिकारीले समर्थन गरेका छन्। तर, उनीसँग प्यानल भने छैन।

गैर आवासीय नेपाली संघको निर्वाचन फेसियल भेरिफिकेसनको आधारमा हुने भएको छ। मंगरबारबाट हुने ११ औँ अधिवेशनको नयाँ नेतृत्व अनलाइनबाट समेत मतदान गरी चुनिने  भएको हो।

४ दिनसम्म चल्ने अधिवेशन राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहालले समापन गर्ने छन्।

निर्वाचनमा ५९ देशका ४ हजार २२७ प्रतिनिधि सहभागी हुँदै छन्। ८६ देशमा एनआरएनए विस्तार भैसकेकोमा ५९ देशमा अधिवेशन भएको थियो। जसमध्ये ११ देशमा अनलाइन भेरिफिकेसनको आधारमा निर्वाचन भएको थियो।

एनआरएनएका प्रवक्ता सोम सापकोटाले संसारको जुनसुकै स्थानमा बसेर सजिलै मतदानमा भाग लिन सकिने व्यवस्था गरिएको बताए।

संघ स्थापना २० वर्षमा नागरिता दिने व्यवस्था, सेयरमा लगानी गर्न सक्ने कानुनी व्यवस्था भैसकेको बताउँदै विदेशमा बस्ने नेपालीलाई मतदानको कानुन निर्माणको चरण भएको बताए।

गैर आवासीय नेपाली संघको नयाँ नेतृत्वका लागि ४ जनाको उम्मेदवारी परेको छ। ११ औं महाधिवेशनमा हालका अध्यक्षसहित उपाध्यक्ष प्रतिस्पर्धा गर्न लागेका हुन्।

संघको निर्वाचन समिति अनुसार अध्यक्षमा डा. बद्री केसी, महेशकुमार श्रेष्ठ, राजेन्द्रकुमार शर्मा, रविना थापाले उम्मेदवारी दर्ता गरेका छन्। मंगलबार काठमाडौंमा महाधिशेन शुरू हुँदै छ।

केसी कार्यकारी अध्यक्ष रहेका छन् भने थापा ३ अध्यक्ष मध्ये एक हुन्। श्रेष्ठ र शर्मा एनआरएनए उपाध्यक्ष रहेका छन्।

निर्वाचनमा अध्यक्ष, महिला र युवा उपाध्यक्ष सहित ८ जना, महासचिव १ जना, उपमहासचिव २ जना, महिला सहित ७ जना सचिव, १ कोषाध्यक्ष र १ महिला कोषाध्यक्षसहित ४ जना सहकोषाध्यक्ष, महिला सहसंयोजक १, युवा संयोजक १ जना प्रतिस्पर्धा गर्दै छन्।

त्यसैगरी, क्षेत्री संयोजक ६ जना, क्षेत्रीय उपसंयोजक १७ जना, क्षेत्रीय महिला संयोजक ६ जना, क्षेत्रीय महिला उप संयोजक ६, क्षेत्रीय युवा संयोजक ६ जना, क्षेत्रीय युवा उप संयोजक ६ जना र देस्रो पुस्ताका गैर आवासीय नेपाल संयोजक १ जना रहने छन्।

 

हेर्नुस् को–कसको उम्मेदवारी
– शिवप्रसाद पौडेल (जापान) क्षेत्रीय संयोजक एसिया प्रशान्त
– सुपेन्द्र घिसिङ (जापान) युवा संयोजक
– दिनेश पोखरेल क्षेत्रीय संयोजक ओसियाना
– अरुणकुमार ठाकुर क्षेत्रीय उपसंयोजक ओसियाना
– रोविनप्रसाद शेरचन (जापान) उपाध्यक्ष,
– सीपी पौडेल सहकोषाध्यक्ष
– गोकुलप्रसाद घिमिरे क्षेत्रीय उपसंयोजक ओसियना
– प्रदीप न्यौपाने, क्षेत्रीय संयोजक एसिया प्रशान्त
– राधिकार गुरुङ (हङकङ) महिला सचिव
– पारशमणि पोखरेल, सचिव,
– मनोज श्रेष्ठ, सचिव
– सोमनाथ सापकोटा, उपमहासचिव
– गोविन्दप्रसाद श्रेष्ठ (जापान) उपाध्यक्ष
– आरके शर्मा, अध्यक्ष
– राजु रेग्मी उपाध्यक्ष
– यज्ञराज सुवेदी, सचिव,
– पूर्णचन्द्र बानियाँ, उपसंयोजक अमेरिकाज
– भीमसेन थापा, डिआरसी यूरोप
– कृष्णजगनाथ गिरी उपमहासचिव
– अभिमानसिंह बस्नेत, उपाध्यक्ष
– राजेन्द्र अर्याल मध्यपूर्व संयोजक
– सरिता भण्डारी पौडेल, (मध्यपूर्व) महिला उपसंयोजक
– लक्ष्मी गिरी, क्षेत्रीय महिला संयोजक (मध्यपूर्व)
– यसिमा बेगम सैयद, महिला उपाध्यक्ष
– अब्दुल वासिद, युवा उपाध्यक्ष
– राजु अर्याल, उपसंयोजक यूरोप
– रामशरण सिम्खडा, उपाधयक्ष
– अनिता गुरुङ महिला संयोजक
– रविन अधिकारी, युवा संयोजक
– कमलराज पाठक, क्षेत्रीय उपसंयोजक ओसियाना
– प्रकाश भण्डारी, क्षेत्रीय संयोजक युरोप
– मोहम्मद मुक्तदा मुसलमान, सहकोषाध्यक्ष
– रमेश श्रेष्ठ, क्षेत्रीय युवा उपसंयोजक (मध्यपूर्व)
– डा. केशव पौडेल, उपाध्यक्ष
– प्रविण गुरुङ, उपमहासचिव
– नारायणप्रसाद आचार्य उपाध्यक्ष
– बेदराज बस्नेत, क्षेत्रीय संयोजक अमेरिकाज
– श्रवणकुमार सत्याल, क्षेत्रीय उपसंयोजक (एसिया प्यासेफिक)
– गौरीराज जोशी, महासचिव
– रामजी पोखरेल, सचिव,
– सुजनकुमार थापा, कोषाध्यक्ष
– प्रमोद सिटौला, उपमहासचिव
– डण्डपाणी कँडेल (डीपी) क्षेत्रीय संयोजक ओसियाना)
– सूर्य आचार्य, क्षेत्रीय युवा संयोजक ओसियाना
– कृष्णप्रसाद तिमल्सिना, सहकोषाध्यक्ष
– राजेन्द्रप्रसाद पुडासैनी, सचिव
– ठाकुरप्रसाद ढुंगाना, कोषाध्यक्ष
– अमृता थापा, महिला सहसंयोजक
– दिपक केसी, उपसंयोजक एसिया प्यासेफिक
– डा. चिरञ्जीवी खड्का, क्षेत्रीय संयोजक यूरोप
– अनुजा प्रधान, महिला संयोजक
– टंकप्रसाद गैरे, सचिव
– रोशन थापा, युवा उपाध्यक्ष
– खगेन्द्र न्यौपाने, उपाध्यक्ष
– सन्तोषकुमार भट्टराई, उपमहासचिव
– महेश अधिकारी (डीआरसी)
– गंगाधर गौतम, उपाध्यक्ष
– प्रकाश सापकोटा, सचिव
– देवकी खत्री गुरुङ, महिला संयोजक
– देविदल खड्का, सहकोषाध्यक्ष
– विजय मोक्ता उपाध्यक्ष
– चिरञ्जीवी घिमिरे, उपाध्यक्ष,
– विकास बस्नेत, क्षेत्रीय युवा संयोजक
– शंकर डाँगी, युरोप उपसंयोजक,
– जेदुनाथ पोखरेल, उपाध्यक्ष
– दिपकप्रसाद कँडेल, उपसंयोजक
– दयानिधि सापकोटा, सचिव
– संजीवकुमार श्रेष्ठ, क्षेत्रीय उपसंयोजक (डीआरसी)
– डा. बद्री केसी, अध्यक्ष

Leave a Reply

Your email address will not be published. Required fields are marked *