काठमाडौं : गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिको आयोजनामा आगामी सेप्टेम्बर दोस्रो साता चौथो विश्व स्वास्थ्य सम्मेलन हुने भएको छ।
अस्ट्रेलियाको सिड्नी शहरमा आयोजना हुने सो सम्मेलनको तयारी बैठकमा आइतवार समितिका अध्यक्ष डा. संजिव सापकोटाको अध्यक्षामा सम्पन्न भएको छ। बैठकले सम्मेलनको तयारीका बारेमा समीक्षा गर्नुका साथै सुझाव संकलन समेतको काम गरेको थियो। सम्मेलनमा राष्ट्रिय आवस्किार केन्द्रका प्रमुख महावीर पुनले कार्यपत्र प्रस्तुत गर्ने छन्।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष डा. सापकोटाले स्वास्थ्य समितिको आयोजनामा हुने सो सम्मेलनमा भाग लिन विश्वभरका स्वास्थ्यकर्मी उत्साहित रहेको बताए। सापकोटाले सम्मेलनमा नेपालको स्वास्थ्यमन्त्रीलगायत अष्टेलिया सरकारको तर्फबाट उच्चअधिकारीहरुले भाग लिने जानकारी दिए।
बैठकमा डा. राजु अधिकारीले सिड्नी सम्मेलनको लागि अवश्यक तयारीको बारेमा जानकारी गराए। उनले सम्मेलनमा भाग लिन चाहनेको संख्या उल्लेख्य रुपमा बृद्धि हुदै गएको बताए। यस्तै स्वास्थ्य समिति युरोपका संयोजक बोधराज सुवेदीले सम्मेलनमा भाग लिन चाहने अनुसन्धानकर्तालाई समयमै आवश्यक जानकारीहरु पठाउनु पर्नेमा जोड दिए।
समितिका सदस्य सचिव डा. सुनिल शाहले अष्ट्रेलिया र बेलायतमा कार्यरत चिकित्सकबीच एक संजालको स्थापनागरी सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए। उनले सम्मेलनमा नेपाली चिकित्सक र अनुसन्धानकर्ताको सहभागितामा जोड दिए।
नेपाल चिकित्सक संघका बरिष्ठ उपाध्यक्ष डा शिवप्रसाद श्रेष्ठले नेपाल चिकित्सक संघका सदस्यलाई समेत सम्मेलनमा भाग लिन प्रोत्साहन गरिने जानकारी दिए। बैठकमा डा. सुहेल सापकोटाले हाल सम्म ३१ जना चिकित्सकहरुले सो सम्मेलनमा भाग लिन आफ्नो नाम दर्ता गरेको जानकार गराए।
बैठकमा डा. पुष्पराज भट्टराईले अफ्रिका क्षेत्रमा रहेका नेपाली चिकित्सकहरु सम्मेलनमा भाग दिन उत्साहित रहेको बताए। बैठकको संयोजन डा. सागर पौडेलले गरेका थिए। बैठकमा एनआरएनए स्वास्थ्य समितिका सदस्य, चिकित्सक, पत्रकारलगायतको उपस्थिति थियो।