मंगलबार साँझ साढे पाँच बजेतिर काठमाडौंको ज्याठास्थित मेगा बैंकको एटीएम बुथमा एक चिनियाँ नागरिक पसे। तर, उनी रकम निकाल्नतिर लागेनन्। स्क्रुड्राइभरले एटीएम मेसिन खोले र मोबाइलले फोटो खिच्न थाले।
उनको यो हर्कत मेगा बैंकको टोलीले नियालिरहेको थियो।
‘उनले स्क्यान गरेजस्तो देखिन्थ्यो, उनको गतिविधि हामीलाई शंका लाग्यो,’ मेगा बैंकका चिफ अपरेटिङ अफिसर राजेश शर्माले भने, ‘त्यसपछि हामीले उनको फोटो हाम्रा कर्मचारीलाई भाइबरमा पठाएर निगरानी गर्न भन्यौँ। प्रहरीलाई पनि खबर गर्यौँ।’
काठमाडौं प्रहरी परिसर र दरबारमार्ग वृत्तबाट प्रहरी टोली सो स्थानतर्फ लाग्यो। कर्मचारीले पनि निगरानी गरिरहेका थिए। प्रहरी र बैंकका कर्मचारीले उनलाई केही समयमै ठमेलमा फेला पारे।
बैंकका कर्मचारीको सहयोगमा उनलाई प्रहरीले तत्कालै पक्राउ गर्न सफल भयो। उनले एटीएमको कभर झिकिसकेका थिए। यो कभर खोल्न चाबी चाहिन्छ। जुन चाबी उनले बनाइसकेका रहेछन्। उनको साथबाट १० थान चाबी समेत बरामद भएको छ।
‘उनले एटीएमको डेटा रिड गरिरहेको जस्तो देखिन्थ्यो, डेटा मोबाइलमा सारेको जस्तो देखिन्थ्यो। हामीले आफ्नै बैंकका सुरक्षा गार्डलाई भनेर पक्रिन पनि सक्थ्यौँ। तर तत्काल ठूलो क्षति भइसकेको थिएन। ठूलो डिजाइन हुन सक्ने अनुमान गरेर प्रहरीलाई खबर गर्यौँ,’ शर्माले सँग भने।
बैंकले अन्यत्र पनि यस्तै घटना भएको हुन सक्ने आशंका गर्यो। यसअघि राजधानीमा चिनियाँ नागरिककै संलग्नतामा विभिन्न एटीएम ह्याक गरी ठूलो मात्रामा रकम निकालिएको थियो।
यसपटक पनि त्यस्तै घटना भएको हुनसक्छ भन्ने अनुमान थियो बैंकको। तर ती चिनियाँ नागरिकले एटीएमको कभर निकालेर फोटो खिचे पनि पैसा भने निकालेका थिएनन्। उनले बेलुका आफ्नो टिमसँग सल्लाह गरेर ठूलो रकम हत्याउन खोजेको हुनसक्ने अनुमान बैंकको छ।
बैंकले त्यहीअनुसार जाहेरी दर्ता गरिसकेको शर्माले बताए। प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरेको छ।
पक्राउ परेका व्यक्ति २९ वर्षीय चिनियाँ नागरिक योङ छियालोङ भएको खुलेको छ। उनी मंगलबार बिहान मात्रै काठमाडौं आएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताए।
चीनबाट उनी मात्रै आएको र उक्त होटलमा पनि एक्लै बसेको पाइएको एसएसपी सिंहले बताए। तर घटनामा अन्य व्यक्तिको पनि संलग्नता रहेको हुनसक्ने प्रहरीको अनुमान छ।
‘एउटा मान्छे चीनबाट नेपाल आउँछ र नेपालआउने बित्तिकै एटीएममा छिर्नु पर्ने कारण के हुनसक्छ? एयरपोर्टबाट होटल पुग्ने र सीधै एटीएम फोड्ने कसरी हुनसक्छ?’ एसएसपी सिंहले भने, ‘उसको टिम होला, हामी अनुसन्धान गर्दैछौँ।’
सो टोली चीनमै हुनसक्ने एसएसपी सिंहले बताए।
यसअघि गैरकानुनी काम र सीमापार अपराधमा संलग्नताको आशंकामा पक्राउ परेका १ सय २२ जना चिनियाँलाई डिपोर्ट गरिएको थियो। उनीहरुको समेत संलग्नतामा अहिले पक्राउ परेका व्यक्ति नेपाल आएको हुनसक्ने प्रहरीको अनुमान छ।
यस्तै, प्रहरीले नेपालमा बस्ने चिनियाँहरुको तथ्यांक संकलन गर्ने र अनुसन्धान गर्ने काम सुरु गरेको छ।
पक्राउ परेका व्यक्तिले एटीएममा कुन प्रविधि प्रयोग भएको छ भनेर जानकारी लिने र पछि ठूलो क्षति पुर्याउने योजना बनाएको हुनसक्ने अनुमान प्रहरीको छ। नेपालस्थित चिनियाँ दूतावाससँग समन्वय गरेर चीनको समेत सहयोग मागेर अनुसन्धान गरिने एसएसपी सिंहले बताए।
प्रभु बैंकका सीओओ दिनेश, जसको सूचनाले बैंकहरु ठूलो दुर्घटनाबाट जोगिए
उनले चीनबाटै होटल बुक गरेका थिए। ज्याठास्थित होटल मन्टेसको चौथो तलाको ४०५ नं कोठामा चेक इन गरेका उनी केही सामान कोठामै राखेर एटीएम पुगेका थिए।
उनको कोठा खानतलासी गर्दा १० वटा विभिन्न किसिमका चाबी, विभिन्न खालका एटीएम कार्ड १० थान, ड्रिल मेसिन, चिनियाँ, अमेरिकी र नेपाली मुद्रा, आदि बरामद भएको छ।
यसअघि २०७६ भदौमा पनि नक्कली एटीएम प्रयोग गरेर चिनियाँ नागरिकले सवा करोड रुपैयाँ निकालेका थिए। त्यतिबेला उनीहरुले दरबारमार्गस्थित नबिल बैंकको एटीएम ह्याक गरेका थिए। ह्याकिङमा संलग्न ५ चिनियाँलाई प्रहरीले तत्काल प्रक्राउ गरेको थियो। ३ जना भने फरार भएका थिए।
त्यतिबेला पक्राउ परेका चिनियाँ नागरिकले ठूलो मात्रामा नक्कली एटीएम कार्ड प्रयोग गरेका थिए। हाल पक्राउ परेका व्यक्तिसँग पनि १० थान एटीएम कार्ड बरामद भएको एसएसपी सिंहले बताए।
डेढ वर्ष पहिले रकम निकाल्न सफल भएपनि पक्राउ परेका चिनियाँको यस पटक भने सुरुमै योजना विफल भएको तर अझै पनि खतरा टरिनसकेको प्रहरीको बुझाइ छ।
काठमाडौंको ज्याठामा एटीएम ह्याक गरी पैसा निकाल्न लागेका चिनियाँ नागरिक पक्राउ
काठमाडौंको ज्याठामा एटीएम ह्याक गरी पैसा निकाल्न लागेका चिनियाँ नागरिक पक्राउ परेका छन्।
काठमाडौं प्रहरी परिसरले मेगा बैंकको एटीएम मेसिनको किबोर्ड पिन नम्बर ह्याक गरी नगद निकाल्ने प्रयास गरिरहँदा पक्राउ गरेको हो।
पक्राउ पर्नेमा चिनियाँ नागरिक २९ वर्षीय योङ छियालोङ रहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताए।
बैंकबाट खबर आउनासाथ दरबारमार्ग र काठमाडौं परिसरबाट प्रहरी खटिएको थियो। उनी ज्याठास्थित होटल मन्टेसको चौथो तलाको ४०५ नं कोठामा बसेका थिए।
पक्राउ परेका चिनियाँ नागरिकबाट बरामद सामग्री
उनी बसेको कोठा खानतलासी गर्दा १० वटा विभिन्न किसिमका चाबि, विभिन्न खालका एटीएम कार्ड १० थान, ड्रिल मेसिन, चीन, अमेरिका र नेपाली रकम लगायत बरामद भएको छ।
ती चिनियाँ नागरिक मंगलबार मात्रै नेपाल आएको पाइएको प्रहरीले जनाएको छ। उनले चीनमा हुँदै होटल बुक गरेका थिए।
उनले एटीएम मेसिन खोलेर सिरियल नम्बर फोटो खिचेका थिए। पैसा झिक्न भने पाएका थिएनन्। उनले धेरै बैंकमा क्षति पुर्याउने योजना देखिएको प्रहरीको अनुमान छ।
मेगा बैंकले समयमै खबर गरेका कारण ठूलो क्षति हुनबाट बचेको एसएसपी सिंहले बताए।
fromNepalkhabar