अमेरिका, ७ बर्ष अगाडि नेपालको मोरङ शनिश्चरेबाट छोराबुहारी र नातिनातिनीसहित अमेरिका आउनुभएकी एक बृद्धाको कोरोना भाईरस संक्रमणमा निधन भएको छ ।
अमेरिकाको मेरिल्याण्डमा कोरोना संक्रमणबाट ८२ बर्षकी नेपालीभाषी भुटानी बृद्धाको निधन भएको हो । गएराती जोन हप्कीन्स अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको नेपाली मुलका मेरिल्याण्डका डेलीगेट ह्यारी भण्डारीले बताएका छन ।
दम र मुटुको रोगको समस्याबाट पीडित बृद्धा कोरोनाको संक्रमणपछिको उहाँको स्वास्थ्य अवस्था निकै गम्भिर भएपछि अस्पताल भर्ना गरिएको पारिवारिक श्रोले बताए । केहीदिन अगाडि अस्पतालमा भर्ना गरिएकोमा उहाँलाई हिजो बेलुका डाक्टरहरुले मृत घोषणा गरेका थिए ।
मृतक हजुरआमाका छोरा मेरिल्याण्डको रुजडलमा आफ्नै निवासमा सेल्फ क्वारेन्टाइनमा बसिरहेको र बुहारीलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको जनाइएको छ । हजुरआमाका नाती र नातिनीलाई पनि लक्षण देखिएको जनाइएको छ ।