एक तिहाइ विश्‍व लकडाउनमा

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड–१९ को संक्रमणलाई विश्वव्यापी महामारीको संज्ञा दिएसँगै विभिन्न प्रभावित देशहरूले भाइरसलाई थप फैलन नदिन लकडाउन घोषणा गरेका हुन्। हाल विश्वको जम्मा जनसंख्या ७ अर्ब ८० करोडमध्ये ती देशमा एक तिहाइ मानिस बस्छन्।

युरोपका सबैभन्दा बढी प्रभावित इटाली र स्पेनले लकडाउनको अवधि बढाएका छन्। त्यसैगरी युरोपका बेलायत, बेल्जियम, नर्वे, डेनमार्क, रुस, चेक रिपब्लिक, फ्रान्स, पोल्यान्ड, युक्रेनमा लकडाउन जारी छ।

दक्षिण एसियाका भारत, नेपाल, पाकिस्तान, बंगलादेश, भुटानले पनि देशव्यापी लकडाउन घोषणा गरेका छन्। दक्षिण एसियामा हालसम्म बढी प्रभावित भारतमा तीन साता लामो लकडाउन जारी छ। तीन साताका लागि लकडाउन गरिएको भारतमा मात्र १ अर्ब ३० करोडभन्दा बढी मानिस बस्छन्।

त्यसैगरी कोभिड–१९ सुरु भएको चीनका मुख्य १६ वटा सहर बन्द छ। त्यसैगरी दक्षिण कोरिया, न्युजिल्यान्ड, जोर्डन, मलेसिया, कतार, ओमान, कुवेत, अर्जेन्टिना, मोरक्को, दक्षिण अफ्रिका पूर्ण रूपमा बन्द छन्।

जर्मनीका १६ राज्य, अस्ट्रेलियाका केही राज्य, साउदी अरबका प्रमुख तीन सहर लकडाउन गरिएको छ।

त्यसैगरी, इजरायल आंशिक रूपमा लकडाउन गरिएको छ भने क्यानडा, माल्दिभ्स, लिथुवानिया, उत्तर कोरिया, पेरु, स्लोभाकियाले अन्तर्राष्ट्रिय सीमा बन्द गरेका छन् भने आन्तरिक आवतजावत सीमित पारेका छन्।

पछिल्लो समय कोभिड–१९ को संक्रमण तीव्र फैलिइरहेको अमेरिकाका केही राज्यले लकडाउन गरेका छन्। अधिकांश राज्यले आवागमनमा कडाइ गरेका छन्। यद्यपि, लकडाउन भने गरिएको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अमेरिका बन्द गर्नका लागि नभई विकास र प्रगतिका लागि’ भएको बताउँदै लकडाउन नगर्ने अडान लिएका हुन्।

अमेरिकामा ह्वात्तै बढे संक्रमित

न्यूयोर्क– कोभिड–१९ संक्रमित अमेरिकामा ह्वात्तै बढेका छन्। अमेरिकी स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार बिहानसम्म ८५ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। हालसम्म कम्तीमा एक हजार ३ सय जनाभन्दा बढीको मृत्यु भएको छ।

कोभिड–१९ थप फैलन नदिन विश्वका अधिकांश मुलुकले झैं अमेरिकाका पनि धेरैजसो राज्य एवं सहरले मानिसको आवतजावतलाई नियन्त्रण गर्दै गएका छन्। सबैभन्दा बढी प्रभावित न्युयोर्कमा ३० हजारभन्दा बढी मानिस संक्रमित भएका छन्। तीन सयभन्दा बढीको ज्यान गइसकेको छ।

कोभिड–१९ का कारण उत्पन्न आर्थिक तथा जनस्वास्थ्यको खतराविरुद्ध लड्न अमेरिकी माथिल्लो सदन सिनेटले २ खर्ब २० अर्ब अमेरिकी डलरको आर्थिक प्याकेज अनुमोदन गरेको छ। यो रकम कोभिड–१९ को संक्रमणबाट असर परेका व्यवसाय, कामदार र स्वास्थ्य सेवा प्रणालीमा खर्च हुने छ।

सिनेटमा रिपब्लिकन र डेमोक्रेटिक दुवै पार्टीले सहमति जनाउनुअघि उक्त राहत प्याकेजको सही कार्यान्वयनका सन्दर्भमा निकै लामो बहस भएको थियो। अमेरिकी इतिहासमै यो सबैभन्दा ठूलो आर्थिक सहायता प्याकेज हो।

न्युयोर्कमा इटाली र स्पेनको जस्तै परिस्थिति उत्पन्न हुन लागेको भन्दै न्युयोर्कका स्वास्थ्य अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्। बिलिभ हस्पिटल बाहिर मृत व्यक्तिलाई राख्न अस्थायी शिविर नै बनाइएको छ भने नगर प्रहरीलाई न्युयोर्कका सडकमा देखिने मानिसहरूलाई निश्चित दूरी बनाएर मात्र हिँड्ने प्रबन्ध मिलाउन आदेश दिइएको छ।

वासिङ्टनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले नागरिकलाई कम्तीमा १५ दिनसम्म निश्चित दूरी बनाएर रहन भनेका छन्। उनले मानिसलाई घरभित्रै बस्न तथा बार, रेस्टुराँ र रात्रिक्लब बन्द गर्न अनुरोध गरेका जनाइएको छ।

सामूहिक लडाइँ लडौं : राष्ट्रसंघ

न्युयोर्क– संयुक्त राष्ट्रसंघले नोवल कोरोना भाइरस (कोभिड–१९) मानव जातिकै लागि खतरा भएकाले यसविरुद्ध सामूहिक लडाइँ लड्ने बेला आएको बताएको छ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अब कोभिड–१९ विरुद्ध देशहरूको एक्लाएक्लै लडाइँ पर्याप्त नहुने बताए। ‘यदि यो महामारीलाई विकसित मुलुकले नियन्त्रण गरे पनि विकासोन्मुख देशहरूमा डढेलो जसरी फैलिएको खण्डमा दसौं लाख मानिसको ज्यान जान सक्छ,’ गुटेरेसले भने, ‘त्यति मात्र होइन यसले भाइरसलाई स्वरूप परिवर्तन गर्ने अवसर दिनेछ र त्यतिबेला बनेका खोप पनि काम नलाग्न सक्छन्।’

आधारभूत स्वास्थ्य सेवा समेत नभएका जोखिमपूर्ण देशहरूलाई मद्दत गर्न राष्ट्रसंघले दुई अर्ब डलरको कोष स्थापना गरेको छ। यसअघि उनले कोभिड–१९ को प्रकोपविरुद्ध लड्न विश्वका द्वन्द्वरत पक्षलाई युद्धविराम गर्न आग्रह गरेका थिए।

राष्ट्रसंघले एकताबद्ध लडाइँ अत्यावश्यक भएकोमा जोडिदिए पनि शक्तिशाली देशहरूबीच भने मतभेद जारी छ। सम्पन्न देशहरूको समूह जी–७ का विदेशमन्त्रीहरूबीच कोभिड–१९ को उत्पत्तिबारे मतभेद भएको छ।

विदेशमन्त्रीहरूको बैठकपछि जारी गर्ने वक्तव्यमा अमेरिकाले ‘चीनको नियतवश गलत सूचना अभियान’ उल्लेख हुनुपर्ने बताएको थियो, तर अन्य सदस्य देशहरूले भने त्यसलाई अनावश्यक विभाजनकारी भनेर अस्वीकार गरेका बीबीसीले जनाएको छ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले बैठकमा चीनले भाइरसको स्रोतबारे अनर्गल षड्यन्त्रका सिद्धान्त फैलाइरहेको आफूसँग जानकारी रहेको दाबी गरेका थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड–१९ लाई चिनियाँ ‘भाइरस बताउने गरेका छन्। उनको प्रतिक्रियामा चिनियाँ अधिकारीहरूले उक्त भाइरस चीनमा अमेरिकी सेनाले भित्र्याएको आरोप लगाएका थिए।

यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड–१९ को सकभर बढी परीक्षण, क्वारेन्टाइन र संक्रमण हुने आधारको खोजी जारी राखिनुपर्ने बताएको छ। डब्लूएचओले संक्रमणबाट सबैभन्दा बढी प्रभावित इटालीको प्रयासको प्रशंसा गर्दै विस्तारै नतिजा ल्याउने देखिएको जनाएको छ।

स्पेनमा लकडाउन अवधि बढाइयो

म्याड्रिड (एजेन्सी)– नोवल कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण मृत्यु हुनेको संख्या रोक्न संघर्षरत स्पेनले बिहीबार ‘लकडाउन’ को अवधि दुई साता थप गरेको छ।

आपत्कालीन उपाय विस्तारबारे बिहीबार बिहान बसेको स्पेनी संसद्को बैठकले अप्रिल १२ सम्मका लागि ‘लकडाउन’ लम्ब्याउने निर्णय गरेको हो। ‘आपत्कालीन अवस्था विस्तार गर्नु सजिलो काम हैन,’ लकडाउनको समयावधि थप्ने प्रस्ताव गर्दै प्रधानमन्त्री पेड्रो सान्चेजले संसद्मा भने, ‘भाइरसविरुद्धको प्रभावकारी विकल्प सामाजिक आइसोलेसन मात्र हो भन्नेमा म विश्वस्त छु।’

लकडाउन अवधि विस्तारबारे संसद्मा भएको मतदानको पक्षमा ३ सय २१ जना उभिए भने २८ जना अनुपस्थित रहे। विपक्षी कन्जरभेटिभ पिपल्स पार्टीले पनि प्रधानमन्त्रीको प्रस्ताव स्वीकार गरे पनि उसका नेता पाब्लो कासादोले भने महामारीविरुद्ध सान्चेज सरकारले पर्याप्य तयारी नगरेको आरोप भने लगाएका छन्। यसअघि मार्च १४ मा आपत्काल घोषणा गरिएको थियो। आपत्काल घोषणादेखि नै स्पेनमा खाद्यान्न, औषधि र कामबाहेक अन्य क्षेत्रमा निस्कन पूर्ण रूपमा रोक लाग्दै आएको छ। पछिल्लो १२ दिनको अवधिमा स्पेनमा संक्रमित संख्या १० गुणाले वृद्धि भएको छ। बुधबार थप ७ सय ३८ जना संक्रमितको मृत्यु भएपछि कोभिड–१९ को उद्गमस्थल चीनमा भन्दा स्पेनमा ज्यान जानेको संख्या धेरै भएको छ।

संक्रमण दरमा वृद्धि हुँदै गएपछि स्पेनले चीनबाट ४७१.४ मिलियन डलरबराबरको मास्क, पञ्जा र टेस्टिङ किट मगाएको छ। उसले उत्तर एटलान्टिक सन्धि संगठनका सदस्य राष्ट्रसँग सुरक्षात्मक पहिरन र भेन्टिलेटर सहयोगका लागि आह्वानसमेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *