उद्योग वाणिज्य महासंघको चुनाव साउन दोस्रो साता

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन साउन दोस्रो साता गर्ने तयारी सुरु भएको छ । चैत्र २८ र २९ गते तय भएको महासंघको निर्वाचन कोरोना  भाइरस (कोभिड १९) को उच्च जोखिमका कारण जेठ ७ र ८ मा गर्ने तय गरिएको थियो । तर उक्त समयमा पनि कोरोनाको जोखिम उत्तिकै रहेका कारण चुनाव हुन सकेन ।

पछिल्लो समयमा सरकारले लकडाउन खुकुलो बनाउने नीति लिएको छ । अब साउन दोस्रो हप्तादेखि तेस्रो हप्ताभित्र निर्वाचन गर्ने तयारी महासंघको छ । महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार निर्वाचनको मिति तय गर्नका लागि आउँदो मंगलबार कार्यसमितिको बैठक डाकिएको छ । उक्त बैठकले साउनको मध्यतिर निर्वाचनको मिति तय गर्न सक्ने बुझिएको छ । ढकालले अन्‍नपूर्ण अनलाइनसँग भने, ‘अब मिति टुंगो लगाएर चुनावमा जानुको विकल्प छैन। नयाँ नेतृत्व चयनपछि महासंघले बेग्लै गति लिनेछ।’

महासघको ५४ औं वार्षिक साधारणसभाले वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको नेतृत्वमा नयाँ नेतृत्व चयन गर्दै छ । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वत अध्यक्ष बन्ने प्रावधान छ । आगामी नेतृत्वका लागि अध्यक्ष हुने निश्चित भएका कारण वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र किशोर प्रधान चुनावी मैदानमा उत्रिएका छन् । प्रदेश संघको निर्वाचन महासंघ भन्दा अघि हुनुपर्ने प्रावधान भएपनि कोरोनाका कारण चुनाव भएको एक महिनापछि गर्ने निर्णय यसअघि भइसकेको छ ।  प्रदेश अध्यक्ष महाससंघको कार्यसमितिमा पदेन सदस्य रहने व्यवस्था छ ।

तोकिएको चुनाव पटकपटक स्थगित हुँदा महासंघको भूमिका पनि ओझेलमा पर्नसक्‍ने भन्दै महासंघमा आवाद्ध व्यवसायीहरुले निर्वाचनको मिति तय गर्न दबाब दिदै आएका छन्।

चन्द्र ढकाल बलियो उम्मेदवार

 चर्चित उद्यमी चन्द्र ढकालले नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष पदमा  उम्मेदवारी घोषणा गरेका छन्। काठमाडौंको होटेल याक एण्ड यतीमा बुधबार आयोजित विशेष कार्यक्रममा उपाध्यक्ष चन्द्र ढकालले उम्मेदवारी दिने घोषणा गरेका हुन् । आगामी चैत २८ र २९ मा हुने महासंघको साधारण सभाले महासंघको नयाँ नेतृत्व चयन गर्नेछ। बरिष्ठ उपाध्यक्ष नै स्वत: अध्यक्ष हुने प्रावधान रहेको छ।

महासंघका पूर्व अध्यक्षहरू सुरज बैद्य, चण्डिराज ढकाल र महासंघका सातमध्ये ५ वटा प्रदेशका अध्यक्षहरुलगायत थुप्रै  उद्यमीको उपस्थितिमाझ ढकालले उम्मेदवारी घोषणा गरेका हुन्।

ढकालले ‘समृद्धिको आधार राज्य-निजी क्षेत्र साझेदार’ भन्ने नारालाई आफ्‌नो उम्मेदवारीको प्रमुख  एजेन्डा बनाएका छन्। उम्मेदवारी घोषणा गर्ने क्रममा आगामी अध्यक्ष शेखर गोल्छाको प्रशंसा गर्दै उनले भने, ‘महासंघको भावि अध्यक्षका रुपमा एउटा डायनामिक नेतृत्वका रुपमा सफल उद्यमी शेखर गोल्छालाई पाइसकेका छौं।उहाँको नेतृत्वमा हाम्रो एउटा व्यवसायिक र गतिशिल टीम बन्‍नेछ। यो टीम महासंघमा, उद्योग वाणिज्यको क्षेत्रमा, सरकासँग पोलिसी डाइलगको क्षेत्रमा, सरोवारवाला र  साझेदारहरुसँग साझेदारी गर्न एक र एक जोडेर दुई होइन्, हामी एक र एक जोडेर एघार बनाउनेछौं।’

ढकालले मुलुकको  आर्थिक विकासको लागि निजी क्षेत्रमा अनवरत काम गरेका उल्लेख गर्दै ५० वर्षभन्दा लामो इतिहास बोकेको महासंघको गरिमा बढाउनको लागि मन,बचन र कर्मले लाग्‍ने प्रतिवद्धता व्यक्त गरेका थिए। उनलेमहासंघलाई सबै प्रकार र स्तरका उद्यमी  व्यवसायीको साझा चौतारी बताउने संकल्प गरे।

करिब दुई दशकअघि आइएमइ स्थापना गरेर व्यवसाय सुरु गरेका ढकाल मुलुककै सफल र स्थापित उद्यमी हुन्। ढकालको व्यवसायिक यात्रा आइएमइ हुँदै बैंक, वित्तीय संस्था, बिमा, केवलकार, जलविद्युतदेखि लिएर सेवा क्षेत्र सम्म विस्तार भएको छ। सबैभन्दा ठूलो व्यवसायिक संजाल जोड्न उनी सफल भएका छन्।

निजी क्षेत्र समृद्धिको दरिलो खम्बा

ढकालले निजी क्षेत्र समृद्धिको दरिलो खम्बा भएको बताएका छन्। उनले भने, ‘हामी निजी क्षेत्र भनेको देशको समृद्धिको यात्राका दरिलो खम्बा पनि हौँ । राज्यले घोषणा गरेको तीन खम्बे अर्थतन्त्रको एक दरिलो खम्बा। देशको अर्थतन्त्रमा अहिले पनि निजी क्षेत्रको योगदान ७५ प्रतिशत हाराहारी छ । तर पनि सरकारले अघि सारेको समृद्धिको यात्रामा सफल सारथीका रुपमा रहने निजी क्षेत्रले राज्यको तर्फबाट अपेक्षाअनुसार अभिभावकको भूमिका पाउन सकिरहेको छैन ।’

ढकालले  भने, ‘महासंघलाई ठूला उद्यमीहरुको मात्रै होइन साना र मझौला उद्योगी व्यापारीको पनि साझा चौतारीका रुपमा स्थापित गर्न मेरो प्रयास रहनेछ। त्यस चौतारीमा सबैका समस्याको सुनुवाई हुने वातावरण बनाउने प्रयास गर्नेछु।

उम्देवारी घोषणासभामा ढकालले राखेका भनाइका सम्पादित अंशहरु

बागलुङको गाउँमा जन्मिएर, एउटा सहायकस्तरको जागिर छाडेर शुरु गरेको सानोतिनो व्यवसायबाट‌ै तपाईंहरु अधिकांश जस्तै मेरो पनि व्यवसायीक जीवन सुरु भएको हो।

करिब दुई दशकअघि हामीले आइएमइ स्थापना गरेर सुरु भएको हाम्रो व्यवसायिक यात्रा आजका दिनसम्म आइपुग्दा बैंक, वित्तीय संस्था, बिमा, केवलकार, जलविद्युतदेखि लिएर सेवा क्षेत्र सम्म विस्तार भएको छ।

देशैभरि पुगेको हाम्रो उद्यमशिलताबाट हजारौं नेपाली दाजुभाइ दिदीबहिनी प्रत्यक्ष एवम् आश्रित रुपमा हामीसँग जोडिनुभएको छ । यो हाम्रो लागि गौरवको विषय पनि हो ।

जब हामीले नेपाली दाजुभाइले बिदेशमा रगत र पसिना बगाएर जम्मा गरेको दुई चार पैसालाई विश्वासका साथ जतन गरेर उहाँहरुका आश्रित आमाबुबा एवं परिवारका हातमा पुराइदिन थाल्यौं। त्यसले हामीलाई स‌ँधैभरी आशिर्वादको काम गरिरह्र्यो।

नेपाली दाजुभाईले विश्वासकासाथ हामीलाई दिएको र हामीले जतन साथ परिवारमा पुर्याइदिएको त्यो पैसा, त्यो परिवारको जीविकोपार्जन मात्रै बनेन, त्यो नेपालको अर्थतन्त्रको मेरुदण्ड पनि बन्यो। त्यही पैसाले कैयौं व्यापार चले, कयौं उद्योगहरु बने।

त्यति मात्र नभएर त्यो पैसा सानोतिनो व्यापारका लागि वित्तीय स्रोत बन्यो, घरेलु उद्योगका लागि सिड मनी। आज कहिं न कहिं कतै न कतै सानो होस् वा ठूलो, घरेलु होस् वा मझौला अधिकांश उद्योग र व्यापार यही रेमिट्यान्सको जगमा उभिएका छन्।

तिनै घरेलु उद्योग र व्यापारलाई बढाएर मझौला उद्योग र व्यापारमा लैजान सक्यौं भने, मझौला उद्योग र व्यापारलाई बढाएर ठूला उद्योग र व्यापारमा लैजान सक्यौं भने, ठूला उद्योग र व्यापारलाई बहुराष्ट्रिय उद्योग र व्यापारमा विस्तार गर्न सक्यौं भने त्यसले हाम्रो मात्रै होइन् समग्र देशको प्रगति हुन्छ भन्ने मेरो विश्वास छ।

त्यो मेरो विश्वासलाई यथार्थमा बदल्न, उद्योग र व्यापारमा उत्साहित साथीलाई प्रोत्साहित गर्न, तपाईं साथीहरुलाई आशावादी बनाउन, तपाईंका समस्यालाई सुल्झाउन, तपाईंका मुद्दालाई सम्वन्धित सबै निकायमा जोडसँग उठाउन मेरो साथ रहन्छ। यो मेरो प्रण हो।

हामी निजी क्षेत्र भनेको देशको समृद्धिको यात्राका दरिलो खम्बा पनि हौँ । राज्यले घोषणा गरेको तीन खम्बे अर्थतन्त्रको एक दरिलो खम्बा। देशको अर्थतन्त्रमा अहिले पनि निजी क्षेत्रको योगदान ७५ प्रतिशत हाराहारी छ । तर पनि सरकारले अघि सारेको समृद्धिको यात्रामा सफल सारथीका रुपमा रहने निजी क्षेत्रले राज्यको तर्फबाट अपेक्षाअनुसार अभिभावकको भूमिका पाउन सकिरहेको छैन ।

नेपालमा लामो समयपछि देखिएको राजनीतिक स्थायित्वसँगै लगानीको वातावरण पनि बन्दै गएको छ । लगानीकर्ताले अरु वातावरणका अतिरिक्त स्थायी सरकार पनि हेर्छन् नै । देशमा तीन तहको सरकार बनेपछि आ–आफ्ना क्षेत्रमा लगानी भित्र्याउन एक किसीमले प्रतिश्पर्धा नै भएको मैले पाएको छु ।

मेरो आफ्नै कुरा गर्ने हो भने कार्यक्रमका लागि विभिन्न ठाउँमा पुग्दा त्यहाँ प्रदेश सरकारका मुख्यमन्त्री एवं मन्त्रीज्यूहरुले आफ्नो प्रदेशमा पनि चन्द्रागिरिजस्तै केबलकार बनाउन आग्रह गर्नुहुन्छ । उहाँहरुले तपाईँ आउनुहोस् वातावरण हामी बनाइदिन्छौँ पनि भन्ने गर्नुभएको छ ।

सरकारले निजी क्षेत्रसँगको साझेदारीलाई नीति नियम र कानुनमा राम्रैसँग स्वीकार गरेको पनि छ । तर नेतृत्वमा यो सकारात्मक सोच देखिएजसरी राज्य संयन्त्रभित्र भने के के नपुगेजस्तो देखिन्छ । हाम्रा उद्योगी, व्यवसायी साथीहरुले काम गर्ने क्रममा नेपालको परम्परागत संरचनाबाट सहज महसुश गर्न नपाएको गुनासो बारम्बार गर्नुभएको पनि छ।

राज्य भनेको हाम्रो अभिभावक हो र यसले हामीलाई सहजीकरण गरिदिनुपर्छ । हामीले राज्यसँग आवश्यक वातावरणका लागि पहल गर्नुपर्छ र आवश्यक परे संघर्ष गरेर पनि लिनुपर्छ ।

निजी क्षेत्रले दिने सेवा पनि राज्यकै लागि हो । यसका लागि उद्योगी व्यवसायी मित्रहरु आफ्ना व्यावसायिक हकहितका लागि संयुक्त रुपमा लाग्नु पर्ने हुन्छ।

म महासंघमा सक्रिय भएपछि महासंघकै काम र विभिन्न कार्यक्रमका सिलसिलामा पूरै देशभर पुग्ने अवसर पाएँ। ती कार्यक्रममा सहभागी हुँदा तपाईं उद्योगी व्यवसायी साथीहरु, नागरिक समाजका प्रतिनिधीहरुसँग ‍औपचारिक अनौपचारिक थुप्रै बसाइ भए, भेला र बैठकहरु भए।ती बसाई भेला र बैठकमा तपाईहरु सबै जनाले मलाई यो गरिमामय संस्थाको नेतृत्वमा आउन आग्रह गर्नुभयो । एक किसीमले भन्दा तपाईंहरुले मलाई यस संस्थालाई नेतृत्व दिन दबाब पनि दिइरहनुभयो।

त्यसैले मेरो उम्मेदवारीको नारा समृद्धिको आधार राज्य–निजी क्षेत्र साझेदार राखेको छु । किनभने निजी क्षेत्रको दरिलो उपस्थिति बिना राज्यमात्रको पहलमा देश समृद्ध बनेको संसारमा अहिलेसम्म मैले कतै देखेको छैन । राज्यले निजी क्षेत्रसँग जति सहकार्य गर्छ त्यति द्रूत गतिमा राज्यको आर्थिक उन्नति हुन्छ । आखिर राज्य निजी क्षेत्रको विना लगानीको एउटा पाटर्नर पनि हो।

निजी क्षेत्र आर्थिक विकास र रोजगारी सृजनाको बलियो इन्जिन हो । नागरिकलाई वस्तु तथा सेवा प्रदान गर्न र राजस्वमार्फत राज्यको आम्दानी बृद्धि गर्न निजी क्षेत्रको सक्रिय सहभागिता अनिवार्य छ ।

औद्योगिक र व्यापारिक वातावरण बनाउन हामी कहाँ अझै थुप्रै काम गर्न बाँकी छ। जस्तो उद्योग व्यापार दर्ता, नविकरण र खारेजी प्रक्रियालाई सहज र शुलभ बनाउनुपर्नेछ। उद्योग, आयोजना, वेयरहाउसको निर्माणमा इआईए, आईईका लागि लाग्ने लामो प्रक्रिया, समय र झण्झटलाई छोट्टयाउनुपर्नेछ। समय प्रक्रियाका कारण बढ्ने लागतलाई घटाउनुपर्नेछ।

छिमेकी मुलुकमा निर्यात व्यापार बढाउनका लागि हामीलाई उद्योग ग्राम, विशेष आर्थिक क्षेत्र मात्रै होइन्, त्यहाँ पुग्ने सडक, विद्युत लगायतका दिगो पूर्वाधार  चाहिन्छ। गुणस्तरीय विद्युत त्यो पनि सर्वसुलभ दरमा उपलब्ध हुनुपर्छ।  

उद्योग र आयोजनाका लागि चाहिने जग्गा किन्न वा अधिग्रहण गर्न, ती कम्पनीलाई अनावश्यक सम्पत्ती र जग्गा विक्रि गर्ने प्रक्रिया सहज बनाउनुपर्नेछ।

एउटा निकायबाट फर्छयौट भएको विषयलाई वन, मालपोत लगायतका विभिन्न निकायबाट अहिले जुन अल्झाउने परिपाटी छ, त्यसलाई हटाउनुपर्नेछ। नवउद्यमीलाई मात्रै होइन्, ठूला उद्योगी र व्यापारीसम्मलाई ऋण मात्रै नभएर स्वपुँजीको उपलब्धता पनि बढाउनुपर्नेछ।

उद्योगी व्यापारीसँग राज्यका निकायले जबरजस्ती कर नउठाइ पारदर्शी ढङ्गबाट, सहज र वैज्ञानिक रुपमा कर उठाउने वातावरण बनाउनुपर्नेछ।

निजी क्षेत्रलाई करको बोझमा दवाउने अहिलेको जुन व्यवस्था छ त्यसलाई हटाउनुपर्नेछ। करमा रहेका  दुविधाका कारण भविष्यमा उद्योगी व्यवसायीहरु करको ठूलो भार पर्ने समेत गरेका छन। त्यस्ता दुविधा भएका कर कानुनहरुलाई सुधार गर्नुपर्नेछ।

एउटा निकायबाट पार लागेको कर, सम्पत्तीको विषयलाई अनेक निकायबाट छानविनको विषय बनाउने जुन रोग छ, त्यसको सही निदान र उपचार पनि गर्नुपर्नेछ। सरकारले हालै लागू गरेको भिसिटिएस र अनिवार्य पानले साना तथा मझौला उद्यमी समस्यामा छन्। हामीले यसको पनि दिर्घकालीन समाधान खोज्नुपर्ने बेला भएको छ।

सम्पत्तीमाथि निजी क्षेत्रको जुन हक छ, त्यसलाई अझ विश्वासिलो बनाउनुपर्नेछ। स्वेदेशी उद्योग र व्यापारको संरक्षण गरेर विदेशी लगानीलाई आकार्षित गर्नुपर्नेछ। त्यसका लागि उद्योग बाणिज्य महासंघ जस्ता संस्थालाई विज्ञ संस्थाको रुपमा विकास गर्नुपर्ने अवस्था छ ।

यी काम गर्न महासंघको सचिवालयलाई विश्वासिलो, भरपर्दो र डायनामिक बनाउनुपर्नेछ। त्यसैगरी महासंघले राज्यका निकायसँग पोलिसि डाइलगलाई अझै बढाउनुपर्ने छ।

विदेशी लगानी नेपाल भित्र्याउनका लागि देशमा मात्र नभएर विदेशसम्म ठूला-ठूला मेगा इभेन्ट गर्नुपर्ने छ। उद्योगी व्यापारी साथिहरुलाई विदेशी लगानीकर्ताको नेपालको साझेदार बनाउन विदेशमा एक्सपोजर भ्रमणहरु बढाउनुपर्ने छ।

महासंघको भावि अध्यक्षका रुपमा हामीले आगामी तीन वर्षका लागि एउटा डायनामिक नेतृत्वका रुपमा सफल उद्यमी शेखर गोल्छालाई पाइसकेका छौं। उहाँको नेतृत्वमा हाम्रो एउटा व्यवसायिक र गतिशिल टीम बन्नेछ। यो टीम महासंघमा, उद्योग वाणिज्यको क्षेत्रमा, सरकासँग पोलिसी डाइलगको क्षेत्रमा, सरोवारवाला र  साझेदारहरुसँग साझेदारी गर्न एक र एक जोडेर दुई होइन्, हामी एक र एक जोडेर एघार बनाउनेछौं।

हाम्रो टीमले देशमा औद्योगिक वातावरण निर्माण गर्न, वैदेशिक लगानी भित्र्याउन, नयाँ प्रविधि भित्र्याउन, निजी क्षेत्रको सृजनात्मक भूमिका बढाएर व्यवसायीक क्षेत्रमा देखा परेका समस्या समाधान गर्न र व्यवसायीका हकहित तथा अधिकारका लागि सरकारसँग लविइङ् पनि गर्ने छ। मेरो उम्मेदवारी पनि त्यसैको एउटा अंश हो भनेर बुझिदिनुहुन सबैमा मेरो विनम्र अनुरोध छ ।

तीन खम्बे अर्थ नीतिको प्रमुख खम्बाका रुपमा स्वीकारिएको यस क्षेत्रलाई सबैभन्दा सशक्त र सबल खम्बाको रुपमा स्थापित गर्न, तीव्र आर्थिक विकास र सुशासन सहितको जनउत्तरदायी राज्य व्यवस्थामा सघाउन मैले नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वमा रहेर पैरवी गर्ने प्रतिबद्धता यसै मञ्चमार्फत व्यक्त गर्दछु ।

महासंघलाई ठूला उद्यमीहरुको मात्रै होइन साना र मझौला उद्योगी व्यापारीको पनि साझा चौतारीका रुपमा स्थापित गर्न मेरो प्रयास रहनेछ। त्यस चौतारीमा सबैका समस्याको सुनुवाई हुने वातावरण बनाउने प्रयास गर्नेछु।

जसरी केही वर्ष अघिसम्म उद्योगी र कामदारवीच रहेको तिक्ततापूर्ण सम्वन्धलाई हामीले वार्ता र छलफलका माध्यमबाट सुमधुर सम्वन्धमा स्थापना गर्न सफल भयौं। त्यसैगरी हामीले हाम्रा स्टेकहोल्डरसँगका समस्यालाई वार्ता र छलफलबाट समाधान गर्न केन्द्रित हुनेछौं ।

कुनै पनि संस्था या संगठनको नेतृत्व गर्नु भनेको आशा र भरोसाको सम्बाहक बन्नु हो । मैले पनि मेरा सहकर्मी, सहृदयी सबैजना उद्योगी व्यवसायी साथीहरुको आशा र भरोसाको सम्बाहक बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । तपाईँहरुको मनोबल सधैँ उँचो बनाउने काममा लाग्नेछु र तपाईँहरुको सुख दुःखमा साथमा रहने प्रण गर्दछु ।

एउटा सबल र सक्षम नेतृत्वले नै सशक्त र बलियो महासंघ निर्माणमा सघाउ पुर्याउने छ । मलाई लाग्छ हाम्रा देशभरिका उद्योगी व्यवसायी साथीहरुले नेतृत्व छनोटका लागि अहिले गर्ने निर्णयले नेपालको समग्र निजी क्षेत्र र यस महासंघको उज्वल भविष्य निर्माणमा सहयोग गर्नेछ । त्यसैले आगामी साधारणसभामा हामी सबैको विवेकको ठूलो महत्व छ ।

महासंघले अघि सार्ने समग्र प्रयासलाई सफल बनाउन विकास साझेदार, सरकार र उद्यमीहरुको साझा प्रयासबाट महासंघलाई अघि बढाइने छ । प्रदेश, जिल्ला नगर तथा  वस्तुगत उद्योग बाणिज्य संघहरुलाई आगामी दिनमा थप सशक्त बनाउने मेरो प्राथमिकताको अर्को विषय हो ।

मुलुकको अर्थतन्त्रमा अहम भूमिका खेलिरहेको निजी क्षेत्रको छाता संगठन उद्योग बाणिज्य महासंघलाई जति बलियो र सशक्त बनाउन सकियो त्यति नै देशको समग्र निजी क्षेत्रको मनोबल उँचो हुनेछ र यसबाट राज्य संयन्त्रले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आउने छ । यसका लागि म सबै व्यवसायी र राज्यको पुलका रुपमा बीचमा बसेर रचनात्मक भूमिका खेल्ने काममा लाग्नेछु ।

साथीहरुलाई के भन्न चाहन्छु भने म हिजोका दिनमा तपाईँहरुसँगै थिएँ र आज पनि छु । भोलि पनि तपाईँहरुसँगै रहनेछु । महासंघको नेतृत्वमा हुँदा होस वा नहुँदा म तपाईंसँग सँधै साथमै रहन्छु।

आखिर हाम्रो देशैभरीका जिल्ला नगरमा व्यवसायिक नेटवर्क छ, यही व्यवसायमार्फत तपाईं हामी सबै जोडिएकै छौं ।

हाम्रो यही नेटवर्कका माध्यमबाट पनि जिल्ला नगरका साथीहरुलाई महासंघको केन्द्रिय नेतृत्वसँग सम्पर्क जोड्न तथा आफ्ना गुनासोहरुको सञ्चार गर्न अझै सजिलो होला भन्ने मलाई लाग्दछ।

महासंघ र व्यवसायिक सञ्जालमार्फत उठ्दा बस्दा तपाईंहरु सबैले म कति सहज छु भन्ने बुझिसक्नु भएको छ। मेरो व्याक्तिगत व्यवहार र व्यवसायिक प्रकृतिले गर्दा म तपाईंबाट टाढा जान पनि सक्दिन। तपाईंलाई अफ्ठ्यारो परेको दिन, तपाईंले खोजेको दिन सहजै उपलब्ध  हुनेछु।

महाभारतमा कृष्णजीले अर्जुनलाई युद्ध जित्नेले आफ्ना सारथीलाई चिन्न सक्नुपर्छ भन्नु भएको थियो। मेरो यो अभियानका सारथी तपाईँ उद्योगी, व्यवसायी साथीहरु हुनुहुन्छ, यहाँ उपस्थित अग्रजहरु हुनुहुन्छ र मेरा सबैजना शुभचिन्तकहरु हुनुहुन्छ। मेरो अभियानका सारथिहरुको पहिचान मैले गरिसकेकोले म सफल हुनेमा ढुक्क पनि छु। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *