इजरायल र प्यालेस्टाइनबीच सोमबार रातिदेखि जारी संघर्ष चर्किंदै गइरहेका बेला अमेरिकी दूत तेलअभिभ ओर्लिएका छन् ।
दुवै तर्फबाट आक्रमणलाई बढाउँदै लगिरहेका बेला अमेरिकी दूत आइपुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । इजरायल–प्यालेस्टाइन मामिलाका उप सहायक सचिव हाडी अमर शुक्रबार तेलअभिभ आइपुगेका हुन् । उनले इजरायलका विदेशमन्त्री, रक्षामन्त्री र प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पनि भेट्न सक्ने बताइएको छ ।
इजरायली उच्च स्रोतका अनुसार बाइडेन प्रशासनले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आइतबारको बैठकअघि नै युद्धविरामका लागि दुवै पक्षलाई सहमत गराउने पहल जारी राखेको छ ।
बीबीसीका अनुसार अमरले इजरायल, प्यालेस्टाइन र संयुक्त राष्ट्र संघका अधिकारीहरुसँग युद्धविराम गराउनका लागि पहल गर्नेछन् ।
पछिल्लो संघर्ष सुरु भएयता गाजामा १३३ र इजरायलमा ८ जनाको मृत्यु भएको छ । प्यालेस्टाइनतर्फ मृत्यु हुनेमा ३२ बालबालिका र २१ महिला पनि रहेका छन् । त्यस्तै करिब एक हजारभन्दा बढी घाइते भएका छन् । संयुक्त राष्ट्र संघका अनुसार हिंसात्मक संघर्षका कारण अहिलेसम्म गाजाबाट १० हजारभन्दा बढी प्यालेस्टिनी नागरिक आफ्नो घर छाडेर सुरक्षित स्थानतर्फ हिँडिसकेका छन् ।
शनिबार बिहान पनि इजरायली सेनाले गाजामा ठूलो हवाई आक्रमण गरेको छ भने त्यसको जवाफमा हमासले इजरायलतर्फ रकेट हानिरहेको छ ।
गाजा र इजरायलमा सोमबारदेखि भड्किएको हिंसा सन् २०१४ यताकै गम्भीर हो । यसको सुरुवाती पूर्वी जेरुसेलममा गत शुक्रबार अल मक्सा मस्जिदनजिक भएको झडपबाट सुरु भएको हो । त्यसको तीन दिनपछि सोमबारदेखि भने दुवै पक्षबाट रकेट र मिसाइल हमला भइरहेको छ ।
पछिल्ला केही दिनदेखि जेरुसेलममा हिंसा भड्किइरहेको थियो । जेरुसेलमस्थित अल अक्सा मस्जिदमा जान प्रतिबन्ध लगाइएपछि प्यालेस्टाइनका नागरिक क्रुद्ध भएका थिए । यो मस्जिदलाई इस्लाममा तेस्रो पवित्र स्थान मानिन्छ । यो यहुदीहरुको पनि पवित्र धार्मिक स्थलमा रुपमा रहेको छ ।
प्यालेस्टाइन रेड क्रेसेन्ट सोसाइटीका अनुसार इजरायली प्रहरीसँगको झडपमा ३ सयभन्दा बढी घाइते भएका थिए । सोमबार ‘जेरुसेलम दिवस’ मनाइरहँदा हिंसा भड्किएको हो । सन् १९६७ को अरब–इजरायल युद्धपछि पूर्वी जेरुसेलममाथि कब्जा गरिएको सम्झनामा सोमबार जेरुसेलम दिवस मनाइएको थियो ।
हमासले अल अक्सा र शेख जराह मस्जिदबाट प्रहरी हटाउन पहिलेदेखि नै इजरायलसँग आग्रह गर्दै आएको थियो । उसले दिएको समयसीमा सकिएपछि रकेट प्रहार गरेको बताएको छ ।
सन् १९६७ को मध्यपूर्वको युद्धपछि इजरायलले पूर्वी जेरुसेलममाथि कब्जा गरेको थियो । त्यसपछि उसले पूरा जेरुसेलमलाई आफ्नो राजधानी दाबी गर्दै आएको छ । तर अन्तर्राष्ट्रिय समुदायले यसलाई मान्दैन । प्यालेस्टाइनले भने पूर्वी जेरुसेलमलाई भविष्यको एक सार्वभौम र स्वतन्त्र मुलुकको राजधानीका रुपमा लिँदै आएको छ ।
यही विषयमा प्यालेस्टाइन र इजरायलबीच विवाद रहँदै आएको छ भने पटक–पटक यसले युद्धको रुप लिएको छ । सन् २०१४ को जुलाईदेखि अगस्टको बीचमा भएको द्वन्द्वमा २२५१ प्यालेस्टाइनी मारिएका थिए । तीमध्ये १४६२ त सर्वसाधारण नै थिए । त्यस्तै इजरायलका ६ सर्वसाधारणसहित ६७ जना सैनिक मारिएका थिए ।
प्यालेस्टाइनको गाजास्थित १२ तले टावरमा रहेका अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी), कतारी सञ्चारमाध्यम अल जजिरालगायत थुप्रै कार्यालय तथा अपार्टमेन्ट ध्वस्त भएका छन्।
कतार सरकारको लगानीमा सञ्चालित अल जजिराले आक्रमणको दृश्य प्रत्यक्ष प्रसारण गरेको थियो। भवनमा प्यालेस्टिनी विद्रोही समूह हमासका सैन्य सामग्री रहेको दाबी इजरायली सेनाको छ । एपीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत ग्यारी प्रुइटले वक्तव्य जारी गर्दै भवनमा हमासको गतिविधि रहेको कुनै संकेत नपाएको बताएका छन् । उनले थाहा पाइपाई कहिल्यै आफ्ना पत्रकारलाई जोखिममा नराख्ने पनि बताएका छन् ।
गाजामा रहेर समाचार सम्रेषण गरिरहेका मिडियामाथि आक्रमण भएपछि अब त्यहाँको अवस्था सार्वजनिक नहुने उनको भनाइ छ । ‘आजको घटनाले अब गाजामा के भइरहेको छ भन्ने कुरा विश्वले कमै मात्र थाहा पाउनेछ,’ अध्यक्ष प्रुइटले भने ।
इजरायली सेनाले शनिबार गाजाको शरणार्थी शिविरमा गरेको आक्रमणमा ८ बालबालिकासहित १० जनाको मृत्यु भएको छ । हमासको जवाफी आक्रमणमा एक इजरायली मारिएका छन्। सोमबारयता इजरायली आक्रमणबाट ३९ बालबालिकासहित १४० प्यालेस्टिनीको ज्यान गइसकेको छ । इजरायलतर्फ हालसम्म ९ जना मारिएका छन्। गत सोमबार ‘जेरुसेलम दिवस’ मनाउने क्रममा हिंसा भड्किएको हो।