इजरायलमा अब मासिक तलब दुई लाख रुपैयाँ

इजरायलले जीटुजीमार्फत गएका नेपाली कामदार (केयरगिभर) को तलब बढाएको छ । अहिले न्यूनतम पारिश्रमिक ५ हजार ३ सय सेकल (इजरायली मुद्रा) पाउँदै आएकामा अब ५ हजार ५ सय ७१ सेकल पाउने भएका छन् ।

वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले इजरायलमा सहायक कामदारका रुपमा गएका नेपालीले मासिक २ लाख १ हजार ८ सय ५७ रुपैयाँ पाउने जानकारी दिए । उनका अनुसार यसअघि त्यहाँ कार्यरत नेपाली केयरगिभरले मासिक १ लाख ९० हजार पाउँदै आएका थिए ।

इजरायल सरकारले केही दिनअघि तलब बढाएको हो । योसँगै इजरायलले प्रत्येक वर्ष वार्षिक रुपमै श्रमिकको पारिश्रमिक बढाउने भएको छ । पछिल्लो समय इजरायलमा कार्यरत श्रमिक तथा कर्मचारीले सेवा सुविधा बढाउनुपर्ने माग राखेर सरकारविरुद्ध आन्दोलन गर्दै आएका थिए । यही आन्दोलनपछि सरकारले प्रत्येक वर्ष तलब बढाउने भएको हो ।

विभागका अनुसार इजरायलमा एक पटक रोजगारीमा जाने नेपालीको करार अवधि १ वर्षको हुने गरेको छ । तर, त्यहाँ पुगेपछि करार थपिएर ५ वर्षसम्म बस्न पाइन्छ । इजरायल जाने नेपाली श्रमिकलाई हवाई भाडा, स्वास्थ्य बिमा, अभिमुखीकरण, पासपोर्ट, पिसिआर सहितको स्वास्थ्य परीक्षण, कल्याणकारी कोषमा राख्नुपर्ने रकमसहित गरी बढीमा ८० देखि ८५ हजार रुपैयाँ लाग्ने गरेको छ । लागतअनुसार तलब आकर्षक रहेका कारण धेरै नेपाली इजरायल जान चाहन्छन् । यही चाप देखेर नेपाल सरकारले इजरायललाई थप कोटा दिन अनुरोध गर्दै आएको छ ।

पछिल्लो समय इजरायलको केयरगिभरमा सहायक कामदारका लागि ९ हजार ६ सय ९९ जनाले निवेदन दिएकामा १ हजार १ सय ७५ जना कामदार छनौट भएका थिए । इजरायल गएका नेपालीमध्ये ७० प्रतिशत अर्थात् ८ सय २१ जना महिला र ३० प्रतिशत अर्थात् ३ सय ५४ जना पुरुष छन् । कामदार लैजान इजरायलको पिवाले छनोट गरेको थियो ।

आम्दानीका हिसाबले आकर्षक श्रम गन्तव्य बनेको इजरायलमा रहेका श्रमिकको पारिश्रमिक वृद्धि भएसँगै त्यहाँबाट आउने रेमिटेन्ससमेत बढ्ने देखिएको छ । चालु आर्थिक वर्षमा मात्र नेपालबाट रोजगारीका लागि इजरायल जाने श्रमिकको संख्या उल्लेख्य बढेको छ । यसले रेमिटेन्स थप बढ्ने देखिएको हो ।

यसैगरी केही समयपछि इजरायलले थप ५ सय नेपालीलाई रोजगारीको अवसर दिने प्रतिबद्धता जनाएको छ । नेपाल सरकारले थप नेपाली पठाउनेबारे गृहकार्य सुरु गरेको जनाएको छ । हालसम्म दुई सरकारबीच भएको श्रम सम्झौताअनुसार १ हजार २४ नेपाली इजरायल प्रवेश गरिसकेका छन् । हाल रोजगार सम्झौता केही ढिलो भएकाले नेपालीलाई पठाउने सम्बन्धमा विभागले काम गरिरहेको छ ।

केही दिनभित्र बाँकी रहेका नेपालीलाई समेत पठाउने गरी छिटोछरितो भिसा र हवाई टिकटको प्रक्रिया अघि बढेको विभागले जनाएको छ । यसअघि इजरायलले ६ सय ७४ महिला र ३ सय २० पुरुषलाई इजरायलका विभिन्न वृद्धाश्रम (वेताबोद) र अस्पतालमा काम गर्ने गरी रोजगारी दिएको छ । इजरायलले पछिल्लो समय केयरगिभर बाहेक कृषि क्षेत्रका लागि १ हजार नेपाली लैजाने आश्वासन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *