झापा / नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, नेकपा (एमाले) का स्थायी कमिटी सदस्य अग्नि खरेलसहित झापाका १९ जना उम्मेदवारले आफैंलाई मतदान गर्न नपाउने हुनुभएको छ।
आफ्नो मतदाता नामावली भएको क्षेत्रभन्दा बाहिर उम्मेदवारी रहेकाले उहाँहरूले आफूलाई मतदान गर्न नपाउने हुनुभएको हो। आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा आफैंलाई मतदान गर्न नपाउने उम्मेदवारहरूमा नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेतासहित अक्कलबहादुर तामाङ, महेन्द्र खायामली, राजन चुडाल, रामसुफल कामती, रेश्मा चेम्जोङ, त्रिनारायण राजवंशी, युग पाठक, कृष्णगोपाल छुस्यावाग, त्रिनारायण राजवंशी, श्यामबहादुर लिम्बू, दिलीप धिमाल, राजकुमार लामा, गजेन्द्र लिम्बू, नन्दराज राई, मनोरथ राजवंशी, विक्रम कासिछवाले पनि आफैलाई मतदान गर्न नपाउने हुनुभएको छ।
निर्वाचन आयोगले मतदाता नामावली रहेको क्षेत्रबाट मात्र मतदान गर्न पाउने व्यवस्था गरेसँगै उम्मेदवार आफूलाई मतदान गर्नबाट वञ्चित भएका हुन्। झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार नेकपा (एमाले) का स्थायी कमिटी सदस्य खरेलको मतदाता नामावली झापा क्षेत्र २ मा छ। त्यस्तै झापा क्षेत्र ५ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुभएका नेकपा ( एमाले) का अध्यक्ष ओलीको मतदाता नामावली भक्तपुर क्षेत्र नम्बर २ मा छ। उहाँहरू दुवै जनाले आफूलाई मतदान गर्न पाउनुहुन्न।
त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य सिटौलाको मतदाता नामावली झापा क्षेत्र नम्बर १ मा पर्ने भएकाले सिटौला आफैँले समेत आफूलाई मतदान गर्न नपाउने हुनुभएको छ। सिटौलाको उम्मेदवारी प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र ३ मा रहेको छ। यस्तै झापा ५ बाट स्वतन्त्र रूपमा उम्मेदवारी दिनुभएका युग पाठकले पनि आफूलाई मतदान गर्न पाउनु हुन्न किनकी उहाँको मतदाता नामावली काठमाडौं–७ मा रहेको छ।
यता प्रतिनिधिसभा तर्फ झापा २ बाट उम्मेदवारी दिनुभएका मंगोल नेशनल अर्गनाइजेशनका उम्मेदवार अक्कलबहादुर तामाङ, झापा २ बाटै उम्मेदवारी दिनुभएका नेपाल मजदुर किसान पार्टीका महेन्द्र खायामली, झापा ५बाट उम्मेदवारी दिनुभएका पिपुल्स पार्टीका राजन चुडालले पनि आफूलाई मतदान गर्न पाउनुहुन्न। तामाङको मतदाता नामावली झापा क्षेत्र नम्बर १ मा छ, खायामलीको मतदाता नामावली भक्तपुर १ मा र चुडालको मतदाता नामावली झापा २ मा रहेको छ।
यता प्रतिनिधिसभातर्फ नै झापा २ मा उम्मेदवारी दिनुभएका जनता समाजवादी पार्टी (जसपा)का रामसुफल कामती, झापा–२ बाटै उम्मेदवारी दिनुभएकी राष्ट्रिय मञ्चकी रेश्मा चेम्जोङले समेत आफूलाई मतदान गर्न पाउनुहुन्न। किनकि कामतीको मतदाता नामावली झापा क्षेत्र नम्बर १मा छ भने चेम्जोङको झापा क्षेत्र नम्वर ५ मा रहेको छ।
प्रतिनिधिसभा सदस्यका लागि नै झापा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का त्रिनारायण राजवंशीले समेत आफूलाई मतदान गर्न नपाउने हुनुभएको छ। उहाँको मतदाता नामावली झापा ४ मा छ भने झापा क्षेत्र नम्बर २ बाटै स्वतन्त्र उम्मेदवार भएका राजकुमार लामाको मतदाता नामावली काठमाडौंमा रहेकाले उहाँले समेत आफूलाई मतदान गर्न पाउनु हुन्न।
प्रतिनिधिसभातर्फ झापा क्षेत्र नम्बर ३ का उम्मेदवार नेपाल मजदुर किसान पार्टीका कृष्णगोपाल छुस्यावागले समेत आफूलाई मतदान गर्न पाउनु हुन्न। उहाँको मतदाता नामावली भक्तपुर क्षेत्र नम्बर १ मा रहेको छ। यता झापा क्षेत्र नम्बर ३ बाटै प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्नुभएका जनमुक्तिका गजेन्द्र लिम्बूको मतदाता नामावली ताप्लेजुङमा रहेकाले उहाँले समेत आफूलाई मतदान गर्न पाउनुहुन्न भने सोही क्षेत्रबाट उम्मेदवार रहेका जनमुक्तिकै मनोरथ राजवंशीको मतदाता नामावली झापा २ मा रहेकाले उहाँले पनि आफूलाई मतदान गर्न पाउनुहुन्न।
यता झापा क्षेत्र नम्बर ३ बाटै उम्मेदवारी दिने मंगोल नेशनल अर्गनाइजेशनका श्यामबहादुर लिम्बूले झापा ४ बाट उम्मेदवारी दिएकाले उहाँले पनि आफूलाई मतदान गर्न पाउनुहुन्न। त्यस्तै नेपाल मजदुर किसान पार्टीका विक्रम कासिछवा, मंगोल नेशनल अर्गनाइजेशनका दिलीप धिमालले पनि आफूलाई मतदान गर्न पाउनुहुन्न। लिम्बूको मतदाता नामावली झापा १ मा छ भने कासिछवालेको नामावली भक्तपुर १ मा र धिमालको झापा १ मा छ। झापा ४ बाट स्वतन्त्र उम्मेदवारी दिएका नन्दराज राईले पनि आफूलाई मतदान गर्न पाउनुहुन्न। उहाँको मतदाता नामावली सुनसरी ४ रहेको छ। पाँच निर्वाचन क्षेत्र रहेको झापामा प्रतिनिधिसभाका लागि ९४ जना र प्रदेशसभा सदस्यका लागि ९८ जना चुनावी प्रतिष्पर्धामा रहेका छन्।