मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदैछ।
बिहीबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा रहेका दुई वटा मतदान केन्द्रमा मतदान हुँदैछ।
राष्ट्रपति निर्वाचनमा संघीय संसदअन्तर्गत राष्ट्रिय सभा र सातै प्रदेश सभाका सदस्यहरू मतदाता हुन्छन्।
गत फागुन १३ गते भएको मनोनयन दर्ताअनुसार ८ दलको समर्थनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता सुवास नेम्वाङबीच राष्ट्रपति पदका लागि प्रतिस्पर्धा हुँदैछ।
अधिकांश सांसदहरू तथा प्रदेश सभा सदस्यहरू काठमाडौंमै छन्। ग्यास लिक भई आगलागीबाट गम्भीर घाइते नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी भने भारतको मुम्बईस्थित नेशनल बर्न अस्पतालमा उपचार गराइरहेकोले मतदानमा सहभागी हुने छैनन्।
यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा भाग नलिने बताएको छ। केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको बैठकले तटस्थ बस्ने निर्णय गरेको थियो।
राप्रपासँग संघीय र प्रदेश सांसद गरी कूल २ हजार ४ सय ५० मतभार छ। राप्रपामा प्रतिनिधि सभा सांसद १४ जना र प्रदेश सभा सदस्य २८ जना छन्।
राप्रपाले २०७४ सालमा भएको राष्ट्रपति निर्वाचनमा भने मतदान गरेको थियो। त्यसबेला राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन मात्रै मतदाता थिए। तत्कालीन नेकपा एमालेबाट राष्ट्रपति उम्मेदवार विद्यादेवी भण्डारीलाई राप्रपाले मतदान गरेको थियो।
पार्टीले राजसंस्थाको एजेन्डा लिएकोले राष्ट्रपति निर्वाचनमा भाग लिन नहुने पार्टीभित्र अधिकांश नेताहरूले धारणा र अडान राखेपछि राप्रपा राष्ट्रपति निर्वाचनमा यसपालि भने तटस्थ बस्ने निर्णयमा पुगेको छ।
रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति निर्वाचनबारे आज नै निर्णय लिने तयारी गरेको छ। राष्ट्रपतिका उम्मेदवार पौडेल र नेम्वाङले राप्रपा र रास्वपाको पार्टी कार्यालय पुगेर आफूलाई भोट मागेका थिए।
राष्ट्रपतिमा पौडेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोसपा, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीले समर्थन गरेका छन्। एमाले उम्मेदवार नेम्वाङलाई भने अहिलेसम्म अन्य दलले समर्थन गरेको सार्वजनिक भइसकेको छैन।
राष्ट्रपति निर्वाचनमा मतदान सकिएलगत्तै मतगणना गरिने र आजै मतपरिणाम सार्वजनिक गर्ने तयारी गरिएको छ।
यसपछि चैत ३ गते उपराष्ट्रपति निर्वाचन हुनेछ।
संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको ४८ छ । सबै उम्मेदवारको मतभार जोड्दा ५२ हजार ७८६ हुन्छ र राष्ट्रपति निर्वाचित हुन बहुमत अर्थात २६ हजार ३९४ मतभार चाहिन्छ ।
निर्वाचनलाई लक्षित गरी संसद भवन भित्र र बाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादव हुन् । कांग्रेसबाट चुनिएका यादवको कार्यकाल २०६५ साल साउन ८ गतेदेखि २०७२ कात्तिक ११ गतेसम्म थियो । दोस्रो राष्ट्रपतिको रुपमा नेकपा एमालेबाट विद्यादेवी भण्डारी २०७२ कात्तिक ११ गते निर्वाचित भएकी थिइन् ।
भण्डारीको लगातार दुई कार्यकाल यही फागुन २८ गते सकिने भएकाले नयाँ राष्ट्रपति चुन्न आज निर्वाचन हुन लागेको हो । उपराष्ट्रपति पदको निर्वाचन भने चैत ३ गते हुनेछ ।
राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति पुनः निर्वाचनमा उम्मेदवार हुन नसक्ने संविधानमा व्यवस्था छ ।