आजबाट विश्वकप फुटबल शुरु, ३२ देशले प्रतिस्पर्धा गर्ने विश्वकप २९ दिन चल्ने

दोहा — हमाद विमानस्थलबाट बाहिर निस्कनेबित्तिकै सडकको दायाँतिर विश्वकप फुटबलमा सहभागी ३२ देशका राष्ट्रिय झन्डाको रङमा कंक्रिटका ठुल्ठूला फुटबल सजाइएका छन् । बत्तीको खम्बामा फिफा विश्वकप र कतार विश्वकप लेखिएका झन्डा फहराइएका छन् । सडकमा गुडेका सार्वजनिक बस र हालै सञ्चालनमा ल्याइएका मेट्रो (रेल) विश्वकपकै लोगो र फुटबलसम्बन्धी तस्बिरले रंग्याइएको छ ।

दोहाका मुख्य स्थानहरूमा दर्शकलाई रंगशालाबाहिरै फुटबलको माहोल दिलाउन ‘फ्यान जोन’ बनाइएको छ । ‘फ्यान फेस्ट’ का लागि स्थान तोकिएको छ । सडकमा झिलिमिली गेटहरू बनाइएको छ । साँझको समयमा सडक र सहरका मुख्य स्थललाई विद्युतीय माध्यमबाट रंगीन बनाइएको छ । विश्वकपका खेल हेर्न विभिन्न देशबाट आएका दर्शक घाम ढल्किँदै जाँदा सडक र रंगशाला बाहिर बाजागाजा बजाउँदै नाचगान गरिरहेका भेटिन्छन् ।

कतारको माहोललाई विश्वकपले खुबै तताएको छ । २२ औं संस्करणको उद्घाटनमा आइतबार कतार र इक्वेडर भिड्दै छन् ।

जम्मा ११ हजार ५ सय ८१ वर्ग किलोमिटर क्षेत्रफल रहेको कतारमा ३ लाख ५० हजारभन्दा बढी नेपाली बस्छन् र यो संख्या कतारीको जनसंख्या (करिब ३ लाख) भन्दा पनि बढी हो । कामको सिलसिलामा आएका नेपाली जस्तै आप्रवासी श्रमिकको संख्या करिब २३ लाख भएको बताइन्छ । यसमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, फिलिपिन्स, इन्डोनेसियाका धेरै छन् ।

यस अरब क्षेत्रमा आयोजना गर्ने पहिलो देश त भयो नै । कतार विश्वकपको ९२ वर्षे इतिहासमा क्षेत्रफलको हिसाबले सबैभन्दा सानो आयोजक पनि बनेको छ । एसियामा दोस्रोपल्ट हुन लागेको विश्वकप विवादरहित भने छैन । कतारले चौथो चरणसम्म चलेको मतदानमा अमेरिकालाई उछिनेर सन् २०१० मा आयोजकबारे निर्णय गर्ने मताधिकारप्राप्त पदाधिकारीलाई घूस दिएको आरोप छ । कतारमा विश्वकप ल्याउन मुख्य भूमिका निर्वाह गरेका मोहमद बिन हमाम (एसियाली फुटबल महासंघका पूर्वअध्यक्ष) फुटबल गतिविधिमा आजीवन प्रतिबन्धमै परेका छन् । कतारले विश्वकप आयोजना अधिकार पाएपछि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को नेतृत्व र विश्व फुटबलमा ठूलै उथलपुथल भयो । फिफा अध्यक्ष भएकै बेला सेप ब्लाटर भ्रष्टाचारको अभियोगमा प्रतिबन्धमा परे, थुप्रै उच्च पदाधिकारी र अधिकारीमाथि प्रतिबन्ध सुनाइयो, जेल सजाय भयो ।

श्रमिकलाई उचित ज्याला र सुरक्षा नदिएको, बस्नका लागि राम्रो व्यवस्था नगरेको, श्रमिकलाई न्यूनतम अधिकार नदिएको जस्ता चर्को आरोप कतार सरकारले खेपिरहेको छ । कतारमा समलैंगिकतालाई बन्देज गरिएको छ । त्यसैले केही पूर्वखेलाडी, अधिकारकर्मी, संगठन र सरकारले विश्वकपलाई बहिष्कार गर्ने घोषणा नै गरेका छन् । विशेषगरी युरोपबाट कतारको चर्को विरोध भइरहेको छ । तर, विश्वकपका टिकट बिक्री खुला गर्दा भने तुरुन्तै ‘सोल्डआउट’ भएको थियो । बिक्री गरिएका २९ लाख टिकटमध्ये सबैभन्दा बढी खरिद गर्नेमा कतारीपछि अमेरिकी छन् ।

कतारसँग चिसो सम्बन्ध रहेको छिमेकी साउदी अरेबिया तेस्रोमा पर्छ । तेल र प्राकृतिक ग्यासको बिक्रीबाट धनाढ्य बनेको कतारको प्रतिव्यक्ति आय नै १ लाख १३ हजार ६ सय ७५ अमेरिकी डलर छ । अरबमा को शक्तिशाली भन्नेमा कतार र साउदीको चर्को होड छ । वास्तवमा कतार सन् २००६ को एसियाली खेलकुद आयोजना गरेपछि संसारलाई समृद्धि देखाउने होडमा अगाडि बढेको हो । उसले सन् २०३० मा पनि एसियाड आयोजना गर्दै छ । साउदीको रियादमा २०३४ को एसियाड हुँदै छ । यी दुवै देश कसले पहिले ओलम्पिक खेलकुद आयोजना गर्ने प्रतिस्पर्धामा छन् ।

चार–चार वर्षमा आयोजना गरिने विश्वकपको कतार संस्करणका लागि भएको छनोट कोभिड–१९ महामारीले पनि प्रभावित भयो । युक्रेनमाथि आक्रमण गरेकाले रुसलाई छनोटबाटै हटाइयो । क्यानडा ३६ वर्षपछि विश्वकपमा फर्कियो भने वेल्स ६४ वर्षपछि विश्वकप खेल्न योग्य भयो । युरोपेली च्याम्पियन तथा चारपल्टको विश्वकप विजेता इटाली त छनोटमै असफल भयो । पोर्चुगलका रोनाल्डो र अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीको सम्भवत: अन्तिम विश्वकप पनि हो यो । नेयमरप्रेरित ब्राजिल, डिफेन्डिङ च्याम्पियन फ्रान्स, सदावहार शक्ति जर्मनी, ह्यारी केनको कप्तानीमा रहेको इंग्ल्यान्ड, स्टार खेलाडी केभिन डे ब्रुयनाको बेल्जियम, युवा स्टार पेड्रीको टिम स्पेनलाई कतारमा उपाधिको दाबेदार मानिएको छ ।

सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा १५ अर्ब डलर खर्च भएको मानिन्छ । त्योभन्दा निकै बढी खर्च कतारले गरेको छ । हालसम्मकै सबैभन्दा महँगो विश्वकपमा २ खर्ब २० अर्ब डलर लगानी भएको बताइन्छ । खेल आयोजना हुने आठमध्ये सात रंगशाला नयाँ बनाइएका छन् । ३२ देशले प्रतिस्पर्धा गर्ने विश्वकप २९ दिन चल्नेछ । च्याम्पियनको टुंगो १८ डिसेम्बरमा लुसेल रंगशालामा हुने फाइनलले गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *