आगामी सातादेखि अमेरिकी दूतावास काठमाडौंले विद्यार्थी भिसाका लागि अन्तरवार्ताको मिति दिन सुरु गर्ने भएको छ । तर कोरोना महामारीका कारण नियमित भिसा सेवा सुचारु नभएका कारण सिमित संख्यामामात्र अन्तरवार्ताका अप्वाइन्टमेन्टहरु दिइने भएको छ ।
आगामी सातादेखि एफ, एम र जे भिसाका आवेदकहरुलाई अमेरिकी दूतावास काठमाडौंले भिसा अप्वाइन्ट दिने भएको हो । त्यस्तै अस्थायी कामदार भिसाका अप्वाइन्टमेन्ट पनि दिन सुरु गरिने जनाइएको छ । नियमित भिजिटर भिसाका लागि कहिलदेखि अप्वाइन्टमेन्ट सुरु गर्नेभन्नेबारे दूतावासले अहिलेसम्म केही बताएको छैन । तर विगतमा भिजिटर भिसा भएकाहरुको भिसा समाप्त भएको २ बर्ष ननाघेको खण्डमा भने नविकरण गरिरहेको छ ।
डिभी २०२१ का विजेता लगायत अन्य आप्रवासी भिसा आवेदकलाई भने अप्वाइन्टमेन्ट तय भएको नोटिफिकेशन कुर्न र धैर्य रहन अमेरिकी दूतावास काठमाडौंले सुझाव दिएको छ । पहिले नै अन्तरवार्ता भइसकेका तर कार्यकारी आदेशका कारण भिसा अस्वीकृत भएका आप्रवासी भिसा आवेदकहरुलाई अब चाल्नुपर्ने कदमबारे दूतावासले सुचित गर्ने जनाएको छ ।
‘हामीले २०२१ का डाइभर्सिटी भिसा आवेदकहरुसहित आप्रवासी भिसा आवेदकलाई धैर्य रहन र अप्वाइन्ट तय भएको सुचना प्राप्त नहुँदासम्म पर्खन प्रोत्साहित गर्दछौं । पहिले नै अन्तरवार्ता भएर राष्ट्रपतिको कार्यकारी आदेश १००१४ का कारण भिसा अस्वीकृत भएकाहरुले अब चाल्ने कदमका सन्दर्भमा दूतावासबाट निर्देशनहरुको प्रतिक्षा गर्नुपर्छ ।’ – दूतावासकी प्रवक्ता अन्ना रिची एलेनले जानकारी दिइन् ।
दूतावासले यसबारेका वेवसाइटमा पनि सुचना राखेको छ । आवेदक र कर्मचारीहरु दुबैका लागि सुरक्षित हुने तरिकाले अमेरिका र नेपालबीचको यात्रा सहज बनाउन तथा पूरै भिसा सेवा संचालन गर्न दूतावासले काम गरिरहेको वेवासाइटमा प्रकाशित सुचनामा उल्लेख छ । तर दूतावासले कहिलेदेखि नियमित भिसा सेवा संचालन गर्ने भन्नेबारे केही बताएको छैन ।
अमेरिकी दूतावास काठमाडौंले जनवरीमा ४३० जनालाई भिजिटर लगायतका गैरआप्रवासी भिसा जारी गरेको छ । जनवरीमा काठमाडौं दूतावासबाट भिजिटर भिसा पाउनेहरु ४१२ जना रहेका छन् । उनीहरु प्राय विगतको भिजिटर भिसा नविकरण गर्नेहरु हुन् । त्यो बाहेक एकजना विद्यार्थी भिसा र ३ जनाले मंगेतर भिसा प्राप्त गरे ।
जनवरीमा काठमाडौं लगायत अन्य दूतावास र कन्सुलेटबाट अमेरिकाको गैरआप्रवासी भिसा पाउने नेपालीहरुको संख्या ५९६ रहेको छ । यसरी जनवरीमा कुल १०३३ नेपालीहरुले अमेरिकाको आप्रवासी र गैरआप्रवासी भिसा प्राप्त गरेका छन् ।