विनाभिसा अमेरिका आउन लागेका आप्रवासी बोकेको ट्रक मेक्सिकोको चियापासमा दुर्घटना हुँदा कम्तीमा ५४ जनाको मृत्यु भएको छ । उक्त दुर्घटना ट्रक रिटेनिङ पर्खालमा ठोक्किएर पल्टिँदा भएको हो । दुर्घटनामा एकसयजना बढी आप्रवासीहरु घाइते भएका छन् । मृत्यु हुने अधिकांश मध्य अमेरिकन देशका आप्रवासीहरु भएको विश्वास गरिएको छ ।
ग्वाटेमालासँगको सिमाक्षेत्र मेक्सिकोको चियापास क्षेत्रमा भएको उक्त दुर्घटनामा घाइते कैयनको अवस्था गम्भिर रहेको अधिकारीहरुले बताएका छन् । राज्यका गभर्नरले गरेको ट्वीटमा १०५ जना घाइते भएको उल्लेख छ । जसमध्ये ८३ पुरुष र २२ जना महिला रहेका छन् । तीनजनाको अवस्था चिन्ताजनक रहेको छ ।
मेक्सिकोका विदेश मन्त्रीले दुर्घटनामा ज्यान गुमाउनेहरु कैयन विदेशीहरुरहेको पुष्टी गरेका छन् । त्यस्तै मेक्सिकन राष्ट्रपतिले ट्वीटरमार्फत समवेदना व्यक्त गरेका छन् ।
दुर्घटना के कारणले भएको हो भन्नेबारे अझैसम्मपनि स्पष्ट छैन । त्यस्तै उनीहरुलाई किन ट्रकमा लोड गरिएको थियो भन्नेपनि केही खुलेको छैन ।
मानव तस्करहरुले अमेरिकी सिमाक्षेत्रसम्म ल्याउनका लागि यस्ता खतरनाक यात्रा गराउदै आएका छन् । जसमा बेलाबेलामा कैयनले ज्यान गुमाउदै आएका छन् । यस्ता दुर्घटनामा कैयन नेपालीहरु पनि पर्दै आएका खबरहरु आउने गरेका छन् । तर यो ट्रकमा नेपालीहरु भए नभएकोबारे पनि अहिलेसम्म केही खुलेको छैन ।
नोभेम्बरमा पनि ट्रकमा लोड गरिएका झण्डै ६ सय आप्रवासीहरुलाई मेक्सिकन अधिकारीहरुले फेला पारेका थिए । जसमा १४५ जना महिला र ४५५ जना पुरुषहरु रहेका थिए । अमेरिकी सिमा सुरक्षा गस्तीले पनि विना भिसा अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासीहरुलाई उल्लेख्य संख्यामा पक्राउ गरेको छ । यसरी प्रवेश गर्न खोज्दा ज्यान गुमाउनेहरुको संख्याले पनि रेकर्ड तोडेको छ ।
सोमबारमात्र बाइडेन प्रशासनले विनाभिसा सिमाक्षेत्रबाट अमेरिका आएर एसाइलम खोज्नेलाई अदालती प्रकृयासम्मका लागि मेक्सिको फिर्ता पठाउने नीति पुन कार्यान्वयन सुरु गरेको छ । अदालतको आदेशपछि बाइडेन प्रशासनले पनि ट्रम्पकालिन यो नीति लागु गर्न सुरु गरेको हो ।
यस्ता जोखिमपूर्ण यात्रामा नेपालीहरु पनि सहभागी हुदै आएका छन् । जसमा दलाललाई लाखौं रकम बुझाएर अमेरिका आउने यात्रामा रहेका कैयनको ज्यान जाने गरेको छ ।
सोमबार विहान विना भिसा अमेरिका आउँदै गरेका २१ बर्षका साहिल बोहराको बाटोमा नै बिरामी हुँदा पेरुमा मृत्यु भएको थियो । विना भिसा अमेरिकी सिमाक्षेत्रबाट प्रवेश गर्ने गराउने दलालको आश्वासन अनुशार दलाललाई लाखौं रकम बुझाएर आउँदै गरेका उनलाई अचानक ज्वरो आउने र रुघा लाग्ने लक्षण देखिएका थिए । त्यसपछि आइतबार बेलुका दलालले उनका लागि होटलको बन्दोबस्त गरेका थिए ।
सोमबार विहान अस्पताल जाने क्रममा उनी अचानक ढलेका थिए । त्यसपछि उनलाई मृत घोषणा गरिएको जनाइएको छ । उनको के कारणले मृत्यु भएको हो भन्नेबारे अझै केही खुलेको छैन । बोहरा दाङको तुल्सीपुर ३ का रहेको जनाइएको छ ।
गत जुनमा क्यारेबियन सागरमा डुंगा दुर्घटना हुदा सात नेपाली युवा समुन्द्रमा बेपत्ता भएका थिए । विना भिसा गैरकानूनी रूपमा मेक्सिको सिमाक्षेत्रबाट अमेरिका प्रवेशका लागि हिडेका नेपालीसहितका आप्रवासी चढेको डुंगा दुर्घटना भएको थियो ।
डुंगामा ८ नेपाली र अन्य विवेशी गरेर १८ जना युवा रहेका थिए । जसमध्ये एक नेपाली र केही विदेशीको उद्धार गरिएको थियो भने सात नेपाली समुन्द्रमा बेपत्ता भएका थिए ।
क्यारेवियनकोस्टस्थित कपुरगाडा जाने क्रममा गर्दा डुंगा दुर्घटना भएको थियो । डुंगा दुर्घटनामा परेर दाङ घोराहीका एन्जल बुढामगर, दाङको तुल्सीपुरका हेमराज अधिकारी, दाङकै पश्चिम हापुरेका रेशम डिंगामगर, पर्वत कुश्माका दिनेश गौतम, पर्वतको ग्यादीका राजु गुरुङसहित सात नेपाली युवा बेपत्ता भएका थिए ।