अविश्वासको प्रस्ताव छल्न सभामुखलाई थाहै नदिइ संसद् अधिवेशन अन्त्य

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई कुनै जानकारी नदिइ प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य गराएका छन्।
सभामुख सापकोटाले यसबारे आफूलाई कुनै जानकारी नआएको बताएका छन्। सामान्यतया संसद अधिवेशन सुरु र अन्त्य गर्दा सरकारले सभामुखसँग परामर्श गर्ने प्रचलन छ ।

प्रधानमन्त्री ओलीले संसदको बैठक बस्नु एक दिनअगावै अधिवेशन अन्त्य गराएका हुन्। संसद् बैठक मंगलबार बस्ने तय गरिएको थियो। प्रधानमन्त्री ओली पछिल्लो समय सभामुखप्रति निकै आक्रोशित छन्। शनिबार बसेको सर्वदलीय बैठकमा समेत प्रधानमन्त्री ओलीले सभामुखप्रति निकै असन्तुष्टि जनाएका थिए। ओलीले सभामुखकै कारण अमेरिकी सहयोग कार्यक्रम (एमसीसी) संसदबाट अनुमोदन हुन नसकेको आरोप लगाएका थिए।

सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले संसद्को हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको थियो। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य गरेकी छन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले संसद्‍बाट सरकार परिवर्तनका लागि दलहरुलाई अवसर दिइएको भए पनि विपक्षीबाट त्यसको सदुपयोग हुन नसकेपछि सरकारले संसद् अधिवेशन अन्त्य गरेको प्रतिक्रिया दिएका छन् ।

सर्वोच्चको आदेशअनुसार डाकेको पुनर्स्थापित संसदको चालु अधिवेशन आजै अन्त्य हुने भएको छ। अधिवेशन अन्त्यका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

सोमबार प्रधानमन्‍त्री निवास बालुवाटारमा बसेको मन्‍त्रिपरिषद्को आकस्मिक बैठकले अधिवेशन अन्त्यका लागि  राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।  मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन बोलाउने र समापन गर्ने संवैधानिक व्यवस्था छ। मन्त्रिपरिषद्को निर्णयपछि राषट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो १ बजेदेखि संसद अधिवेशन अन्त्य भएको सूचना सभामुखलाई दिइसकेको छिन्।

अधिवेशनको अन्त्यबारे छलफल र सिफारिस गर्न मन्‍त्रिपरिषद्को आकस्मिक बैठक बालुवाटारमा सोमबार बिहान बसेको थियो। चालु अधिवेशनका लागि कुनै बिजनेस पनि नभएको र तत्कालै बजेट अधिवेशन बोलाउनुपर्ने अवस्था रहेको भन्दै अधिवेशन अन्त्य गरिएको हो। जेठ १५ गते आउँदो आर्थिक वर्षको बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्थाका कारण बजेट अधिवेशन चाँडै बोलाउनुपर्ने अवस्था छ।

करिब डेढ महिनासम्म चलेको संसद अधिवेशन दलीय झगडामा अल्झियो र बिजनेसबिहिन भएर अन्त्य हुँदैछ।  कुनै पनि विधेयक पारित गरेको भएको छैन। माओवादी केन्द्रले सरकारलाई दिएको विश्‍वासको मत फिर्ता लिने निर्णय गर्नका लागि स्थायी समितिको बैठक बोलाएकै दिन अधिवेशन अन्त्य गर्ने निर्णयलाई अर्थपूर्ण रुपमा लिइएको छ। आफूविरुद्ध अविश्‍वास प्रस्ताव ल्याउने विपक्षीको तयारीबाट समेत जोगिने रणनीतिअनुसार सरकारले हठात् अधिवेशन अन्त्य गर्ने निर्णय गरेको देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *