अर्कोपल्ट १० लाख जनताले बालुवाटार र सिंहदबार घेर्ने प्रचण्डको चेतावनी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्को पल्ट बालुवाटार र सिंहदरबार घेर्ने चेतावनी दिएका छन्। बुधबार राजधानीमा आयोजित विशाल विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई यस्तो चेतावनी दिएका हुन्।

सिंहदरबार घेर्न आउनु नपरोस्’, प्रचण्डले भने। उनले ओलीले घोषणा गरेको चुनाव नौटंकी मात्र भएको भन्दै यो प्रतिगमनविरुद्धको लडाइँ जित्ने विश्वाससमेत व्यक्त गरेका छन्।  ‘यो लडाईँमा हामी जित्छोँ। केपीको चुनावी नौटंकी हुनेवाला छैन’, उनले भने, ‘त्यसको भ्रममा नपरौँ।

प्रचण्डले  नेपाली जनतालाई हेप्ने गल्ती नगर्न निर्वाचन आयोगलाई चेतावनीसमेत दिएका छन्। मंगलबार मात्र प्रधानमन्त्री केपी ओलीले निर्वाचन आयोगमा पुगेर धम्क्याएको भरमा निर्णय गर्ने गल्ती नगर्न उनले आयोगलाई चेतावनी दिएका हुन्।

‘केपी ओलीले गएर धम्क्याउँदा मात्र त्यसलाई ठूलो मान्ने गल्ती निर्वाचन आयोगले गर्नु हुँदैन। नेपाली जनतालाई हेप्ने गल्ती कसैले नगरे हुन्छ। अढाई सय वर्ष पुरानो सामन्ती शासन फाल्ने जनता यिनै हुन्। यो सत्य कुरा हो। यही हो जित। खेलाची कसैले नठाने हुन्छ’, प्रचण्डले भने, ‘संवैधानिक निकायमा पुगेका मान्छेले खेलाची ठाने देश र जनताले दुःख पाउँछन्।’

निर्वाचन आयोग खुट्टा नकमाऊ

प्रचण्डले सुरुमा जनतालाई अपमान गर्ने काम नगर्न निर्वाचन आयोगलाई चेतावनी दिए पनि सम्बोधनकै क्रममा यसलाई अपमान गर्न खोजेको नभन्न आग्रह गरे।

सत्यको पक्षमा निर्णय गर्न खुट्टा नकमाउन उनले आगोगलाई आग्रह गरेका हुन्। ‘सत्यको जित हुने कुरामा मलाई विश्वास छ। मैले कसैलाई अपमान गरेको छैन’, प्रचण्डले भने, ‘निर्वाचन आयोग खुट्टा नकमाऊ। काइते कुराको पछाडि नलाग। ठगी कुराको पछाडि लाग्ने र लोकतन्त्रमाथि हुने घात जनताले सहदैनन्।’

प्रचण्डले माधवकुमार नेपाल र झलनाथ खनाललाई अपमानित गरेर ओलीले गल्ती गरेको बताए। ‘केपीजी तपाईंले माधवजी र झलनाथ खनालजीलाई अपमानति गरेर ठूलो गल्ती गर्नुभयो’, उनले भने।

 

प्रचण्डले माधव र झलनाथ प्रचण्डको कार्यकर्ता भए भनेर ओलीले गल्ती गरेको बताएका हुन्। ‘माधव र झलनाथ प्रचण्डको कार्यकर्ता हुनुभएको होइन। मचाहिँ शान्ति प्रक्रियामा आएको हुँ’, प्रचण्डले भने। प्रचण्डले ओलीको नाटकको पर्दाफास भएको तर आफूहरुबीच विचार र भावनामा आधारित एकता भएको दाबी गरे।

‘हाम्रो एकता विचार र भावनामा आधारित एकता हो’, प्रचण्डले भने, ‘तिम्रो नाटकको पर्दाफास भइसक्यो।’ प्रचण्डले केही विषयमा आफूहरु चुकेको स्वीकार गर्दै अब समीक्षा गरेर अगाडि बढ्ने प्रतिवद्धतासमेत जनाएका छन्।

केपी ओलीबाट माखो मर्नेवाला छैन 
प्रचण्डले अब केपी ओलीबाट माखो नमर्ने उल्लेख गरे। यो आन्दोलन कुर्सी र प्रधानमन्त्रीका लागि नभएको भन्दै उनले यस्तो बताएका हुन्। प्रचण्डले देशको समृद्धि र संविधानको रक्षाका लागि यो आन्दोलन आवश्यक भएकोमा जोड दिए।

‘हामीलाई प्रधानमन्त्री र कुर्सी चाहिएको होइन। नेपाली जनताको हक अधिकार चाहिएको हो’, उनले भने, ‘यो जनताका सपना छताछुल्ल पार्ने केपी ओलीको प्रवृत्ति विरुद्धको लडाइँ हो। अहिले केपीले किसानलाई भ्रम दिने प्रयत्न गरेका छन्। केपीबाट माखो मर्नेवाला छैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *