अमेरिकामा राष्ट्रपतीय चुनावको मतगणना चलिरहेको छ। हालसम्मको स्थितिमा डेमोक्रयाटिक उम्मेदवार जो बाइडेनले प्रतिद्वन्दी डोनाल्ड ट्रम्पभन्दा उलेख्य अग्रता लिएका छन्। बाइडेनले आफ्नो जित सुनिश्चित हुँदै गएको बताएका छन्। तर बाइडेनको सम्भावना बढ्दै गएको देखिएको अवस्थामा राष्ट्रपति डोनल्ड ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाएका छन्।
यो समाचार तयार पार्दासम्म ५० वटा राज्यमध्ये ४३ वटा राज्यको परिणाम सकिएको छ। यसबाट बाइडनले २४३ इलेक्टरल मत प्राप्त गरेका छन् भने ट्रम्पले कुल २१४ इलेक्टरल मत पाएका छन्। जितका लागि निकै महत्त्वपूर्ण मानिएका बाँकी राज्यहरूमा मतगणना जारी छ।
बाइडेनले आफूले जिते ‘सबै अमेरिकीको राष्ट्रपति’ हुने प्रतिबद्धता जनाएका छन्। चुनावी प्रचार अभियानका बेलामा पनि उनी त्यसो भन्ने गर्थे। उता राष्ट्रपति ट्रम्पले भने कुनै प्रमाण नदिई चुनावमा धाँधली भएको आरोप लगाएका छन् र सर्वोच्च अदालतमा कानुनी चुनौती दिने बताएका छन्।
तर बाइडनको चुनावी प्रचार समूहले राष्ट्रपतिको अभिव्यक्ति ‘अपमानजनक’ भएको भन्दै मतगणना नरोकिने जनाएको छ। ट्रम्पको चुनावी प्रचार समूहले पेन्सल्भेनियामा मतगणना रोक्न माग गर्दै अदालत जान लागेको जनाएको छ।
राष्ट्रपति डोनल्ड ट्रम्पको चुनावी प्रचार अभियान समूहले मिशिगन पेन्सल्भेनिया र जोर्जियामा मतगणना रोक्न माग गर्दै कानूनी प्रक्रिया अघि बढाएको छ। अभियानका एक अधिकारी जस्टिन क्लार्कले डेमोक्र्याटहरूले रिपब्लिकनहरूको मतमा अनियमितता गरेको आरोप लगाए।
त्यसअघि ट्रम्पको अभियान समूहले विस्कन्सिनमा आफूहरूले पुनः मतगणना चाहेको जनाएको थियो। अन्तर्राष्ट्रिय पर्यवेक्षणहरूले चाहिँ चुनावमा धाँधली भएको नदेखिएको बताएका छन्।
अर्गनाइजेशन फर सेक्युरिटी एन्ड कोअपरेशन इन युरोप नामक संस्थाले ट्रम्पको चुनावी अभियान समूहका आरोपहरूलाई ‘आधारहीन’ भन्दै त्यसले ‘लोकतान्त्रिक संस्थाप्रतिको विश्वासमा आघात पुर्याएको’ जनाएको छ।
यसपालि अमेरिकी निर्वाचनमा सर्वाधिक सङ्ख्यामा मतदाताहरू सहभागी भएका छन्। मतदानको दिनभन्दा अगाडि गरिएका वैचारिक मत सर्वेक्षणहरूले प्रस्तुत गरिएका नतिजाहरूमा जो बाइडनको सहज जित हुने आकलनदेखि लिएर झिनो मत अन्तरले डोनल्ड ट्रम्पको जित हुनेसम्मका प्रक्षेपणहरू थिए।
ह्वाइट हाउसमा पुग्न जारी कडा प्रतिस्पर्धालाई सारा विश्वले नजिकबाट नियालिरहेको छ। खासमा अमेरिकी नागरिकहरूले हरेक चार वर्षमा लिने निर्णयले देशको परराष्ट्र नीतिमा परिवर्तन ल्याउन सक्छ र त्यसले अरू देशप्रति लिइने नीतिमा महत्त्वपूर्ण भूमिका खेल्छ।
यद्यपि रणमैदान भनिएका केही राज्यको भोटले नै अबको राष्ट्रपति को बन्ला भन्ने कुरा निर्धारण गर्ने बताइन्छ । झण्डै एक दर्जन राज्यबाट कस्तो भोट कसलाई गयो भन्ने कुराले नै परीणाम प्रभावित हुने छ । त्यसैले पनि दुबै उम्मेदवारले धेरैजसो चुनावी अभियान तिनै राज्यमा केन्द्रित बनाए ।
यस्तै फ्लोरिडा राज्यमा ट्रम्पविरुद्ध ठूलो नारावाजी र प्रदर्शन भएको छ । यस्तै राजधानी वासिंटन डिसीका सडकमा ट्रम्प विरोधी प्रदर्शन भइरहेका छन् । ह्वाइटहाउस अगाडि समेत सडक अवरुद्ध हुनुका साथै केही बेर तनाब नै भएको थियो । यस क्रममा केही प्रदर्शनकारी पक्राउ परेका छन् ।
अरु केही राज्यमा पनि विरोध प्रदर्शन भएका छन् । हुलाकबाट पनि ठूलो संख्याले मतदान गरेकाले अन्तिम परीणाम आउन अरु केही दिन लाग्ने बताइएको छ । हुलाकबाट मतदान गर्ने कुराको ट्रम्पले सुरुदेखि नै विरोध गर्दैआएकाले हुलाकको मतदानमा उनी पछि पर्नसक्ने आंकलन गरिएको छ ।
राष्ट्रपति डोनल्ड ट्रम्पले भने आफूहरूको जित हुन लागेको दाबी गरे । रातको साढे २ बजे भाषण गर्दै बाइडेनले धाँधली गरेको भन्दै आफूहरु अदालतमा जाने चेतावनी दिएका छन् । उनले जितको नजिक पुगिरहँदा ठूलो ठगी भएको भन्दै मतगणना नै रोक्नुपर्ने बताएका थिए ।