अमेरिकी राष्ट्रपतिद्वारा डेमोक्रेसी समिटमा प्रचण्डलाई निम्ता

अमेरिकी राष्ट्रपति जो बाइडेनले लोकतन्त्रका लागि विश्व सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निमन्त्रणा गरेका छन् । नेपाल भ्रमणमा रहेकी अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)का प्रशासक समान्था पावरले बुधबार आयोजित पत्रकार सम्मेलनमा ‘समिट फर डेमोक्रेसी’मा प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा दिएको बताएकी हुन् ।

सम्मेलन १५ र १६ चैतमा भर्चुअल माध्यमबाट हुनेछ, जहाँ अमेरिकाको नजरमा लोकतान्त्रिक देखिएका विभिन्न मुलुकका कार्यकारी प्रमुख सहभागी हुने ह्वाइटहाउसको वेबसाइटमा उल्लेख छ । पावरले नेपालमा लोकतन्त्र सुदृढ हुँदै गएको बताइन् ।

अघिल्लोपटक २३ मंसिर ०७८ मा बाइडेनले पहिलोपटक आयोजना गरेको सम्मेलनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए । कूटनीतिक स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले उक्त सम्मेलनमा सहभागी हुने वचन गरेका छन् । गत नोभेम्बरमा अमेरिकासहित चार मुलुकले चैतमा सम्मेलन गर्ने घोषणा गरेका थिए ।

‘लोकतन्त्रका लागि दोस्रो शिखर सम्मेलनले विश्व नेताहरूलाई भर्चुअल रूपमा भेला गर्नेछ,’ अमेरिकी सरकार ह्वाइटहाउसको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सम्मेलनको आयोजनाले लोकतान्त्रिक मूल्यहरूमा आधारित सुरक्षित र निष्पक्ष संसार साझा आकांक्षा र साझा जिम्मेवारी दुवै हो भन्ने सत्यलाई अझ बलियो बनाउनेछ ।’

लोकतन्त्रले आफ्ना नागरिकका लागि कसरी डेलिभर गर्छ र विश्वका सबैभन्दा गम्भीर चुनौतीलाई कसरी सम्बोधन गर्ने भनेर प्रकाश पार्ने पनि ह्वाइटहाउसले जनाएको छ । गत वर्ष आयोजित पहिलो शिखर सम्मेलनमा विश्वका करिब सय सरकारले लोकतन्त्रलाई अगाडि बढाउन, भ्रष्टाचारविरुद्ध लड्न र अधिनायकवादको विरुद्ध लड्न करिब सात सय ५० प्रतिबद्धता गरेका थिए । ती प्रतिबद्धता कार्यान्वयनमा दोस्रो सम्मेलनले जोड दिने युएसएआइडीकी प्रशासकले जानकारी दिइन् । प्रधानमन्त्री प्रचण्डका लागि पनि अघिल्लोपटक नेपालले जनाएको प्रतिबद्धता कार्यान्वयन तथा त्यसमा प्रतिबद्धता जनाउने उपयुक्त अवसर हुने उनको भनाइ थियो ।

युएसएडको भूराजनीतिक एजेन्डा छैन : पावर
युएसएडकी प्रशासक पावरले बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपालमा युएसएडको सहयोगमा भूराजनीतिक एजेन्डा नरहेको बताएकी छिन् । बदलिँदो भूराजनीतिक परिवेशमा नेपाललाई प्रभाव पार्न खोजिएको हो भन्ने पत्रकारको प्रश्नमा पावरले नेपाली दृष्टिकोण र नेपाली नेतृत्वको विकास प्रक्रियालाई युएसएडले सहयोग गर्दै आएको र जारी राख्ने बताइन् ।

उनले भनिन्, ‘हामी दुई देश र जनताबीचको साझेदारीमा प्रतिबद्ध छौँ । शीतयुद्धअघि र पछिको भूराजनीतिक परिवेश बदलिएको हुन सक्छ । नेपाललाई युएसएडको सहयोग भूराजनीतिक उत्पादन होइन, साझेदारीका लागि हाम्रो ६० वर्षभन्दा पुरानो प्रतिबद्धता हो ।’ उनले नेपाल र अमेरिकाबीच ७५ वर्ष पुरानो कूटनीतिक सम्बन्ध र नेपाललाई अमेरिकाले औलो उन्मूलनदेखि बाल मृत्युदर घटाउन गरेको सहयोग हुँदै खोप सहयोगसम्मको घटनाले भूराजनीतिक स्वार्थ भएको प्रश्नको आफैँ खण्डन हुने उल्लेख गरिन् ।

नेपालको लोकतन्त्रले असाधारण प्रगति हासिल गरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लोकतन्त्र सुदृढ गर्न प्रतिबद्ध रहेको आफूले पाएको पनि पावरले सुनाइन् । उनले प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री विष्णु पौडेलसँग बुधबार शिष्टाचार भेट गरेकी थिइन् । ‘प्रधानमन्त्री प्रचण्ड शान्ति प्रक्रिया सम्पन्न गरेर लोकतन्त्र सुदृढ गर्न प्रतिबद्ध हुनुहुन्छ । हाम्रो निकै फलदायी कुराकानी भयो,’ उनले सुनाइन्, ‘नेपालका आन्तरिक र बाह्य लगानीको वातावरण बनाउन, प्रशासनिक ढिलासुस्ती हटाएर सहज परिस्थिति निर्माण गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभएको छ ।’ प्रचण्डले शान्ति प्रक्रियाको जोखिम मोलेको विषय साझा गरेको र नेपालको लोकतान्त्रिक भविष्यप्रति आफू आशावादी रहेको पनि पावरको भनाइ थियो । उनले नेपालको डिजिटल भविष्यप्रति आशावादी रहेको पनि बताइन् । अर्को सन्दर्भमा पावरले नेपाललाई अनुदान दिने प्रक्रिया सहज बनाउन लागिएको पनि बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *