अमेरिकी भिषामा नयाँ नियम लागु गर्न विदेश मन्त्रालयको घोषणा

अमेरिकी दूतावास र कन्सुलेटहरुले दिने आप्रवासी भिसा प्राथमिकताबारे विदेशमन्त्रालयले नयाँ घोषणा गरेको छ । दूतावास र कन्सुलेटहरुले आप्रवासी भिसामा रहेको ब्याकलगलाई सम्बोधन गर्न ४ वटा टियरमा भिसा जारी गरिरहेको विदेशमन्त्रालयले जनाएको छ ।

अमेरिकी विदेशमन्त्रालयले बनाएको ४ टियर अन्तरगत पहिलो टियरमा अन्तरदेशीय एडप्सन भिसाका नजिकका आफन्तहरु, २१ बर्ष उमेर पुग्न लागेका कारण भविश्यमा उक्त भिसाका लागि अयोग्य हुनसक्ने एज आउट हुन लागेका आवेदकहरु र अमेरिकी सरकारसँग काम गरिरहेका इराकी र अफगानीहरुलाई प्रदान गरिने निश्चित विशेष आप्रवासी भिसा एसक्यु र एसआईलाई राखिएको छ ।

यो श्रेणीका भिसाहरु दूतावास र कन्सुलेटहरुले पहिलो प्राथमिकताका आधारमा जारी गर्नुपर्नेछ । यी भिसाहरु जारी गरेपछि बाँकी साधनश्रोत दोश्रो टियरका भिसा जारी गर्न लगाउन सकिनेछ ।

दोश्रो टियरमा अमेरिकी नागरिक वा ग्रिनकार्ड वाहकका नजिकका आफन्तहरुको आप्रवासी भिसा र अमेरिकी नागरिकका मंगेतरको भिसालाई प्राथमिकतामा राखिएको छ । नजिकका आफन्तहरु भन्नाले दम्पत्ति र २१ बर्ष ननाघेका छोराछोरीहरु बुझनुपर्छ । यो टियरमा अमेरिका छाडेको एकबर्ष नाघेका ग्रिनकार्डवाहकलाई प्रदान गरिने रिटर्निङ रेसिडेण्ट भिसालाई पनि प्राथमिकतामा राखिएको छ । यी भिसाहरु दूतावास र कन्सुलेटहरुले दोश्रो प्राथमिकतामा जारी गर्नुपर्छ । यी भिसाहरु जारी गरेपछि बाँकी साधनश्रोत तेश्रोे टियरका भिसा जारी गर्न लगाउन सकिनेछ ।

तेश्रो टियरमा परिवारमा आधारित अन्य श्रेणीका आप्रवासी भिसाहरु जारी गरिनेछ । ग्रिनकार्डवाहकका २१ बर्ष नाघेका छोराछोरीहरु, नागरिकका बुबाआमाहरु, नागरिकका २१ बर्ष नाघेका छोराछोरीहरु, नागरिकका दाजुभाई दिदीबहिनीहरु यो श्रेणीमा पर्छन् । तेश्रो टियरमा अमेरिकी सरकारका विदेशमा रहेका निश्चित कर्मचारीहरुलाई प्रदान गरिने विशेष आप्रवासी भिसा एसई पनि पर्छ ।

यी भिसाहरु दूतावास र कन्सुलेटहरुले तेश्रो प्राथमिकतामा जारी गर्नुपर्छ । यी भिसाहरु जारी गरेपछि बाँकी साधनश्रोत चौथो टियरका भिसा जारी गर्न लगाउन सकिनेछ । चौथो प्राथमिकतामा अन्य सबै आप्रवासी भिसाहरु रहेका छन् । जसमा रोजगारमा आधारित आप्रवासी भिसाहरु र डिभी लोटरीमा आधारित भिसा समेत पर्छन् । यसरी डिभी लोटरी र रोजगारमा आधारित आप्रवासी भिसालाई अन्तिम प्राथमिकतामा राखेपछि यो श्रेणीमा पर्नेहरु मारमा परेका छन् ।

तेश्रो र चौथो टियरमा पर्नेहरुको भिसा जारी हुनमा ढिलाई हुनसक्ने अमेरिकी विदेशमन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले स्पष्ट पारेको छ ।

ट्रम्प प्रशासनबाट डाइभर्सिटी भिसामा लगाइएको रोक राष्ट्रपति जो बाइडेनले हटाएपनि काठमाडौं दूतावासले मार्चमा एकजनालाई पनि डाइभर्सिटी भिसा जारी गरेन । बाइडेनले ट्रम्पको आप्रवासन रोक खारेज गरेपछि फेबु्रअरीको अन्तिम साताबाट काठमाडौंको दूतावासले सन् २०२१ का विजेताहरुलाई डाइभर्सिटी भिसा जारी गर्ने अपेक्षा गरिएको थियो । तर फेबु्रअरीमा पनि कुनै डिभी विजेतालाई भिसा दिइएन ।

मार्चमा विश्वका अधिकांश अमेरिकी दूतावास र कन्सुलेटबाट डाइभर्सिटी भिसा जारी नगरिएको अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको तथ्यांकमा देखिएको छ । विश्वभरबाट मार्चमा २० जनालाई मात्र डाइभर्सिटी भिसा जारी गरिएको तथ्यांकमा देखिएको छ । जसमा घानाका २ जना, अल्जेरियाका १७ जना र क्यामरुनका एकजना रहेका छन् ।

कोरोनाको महामारीका कारण अमेरिकी दूतावास काठमाडौंमा नियमित भिसा सेवा सुचारु भएको छैन । कहिलेदेखि सुचारु हुने भन्ने सन्दर्भमा पनि दूतावासले केही बताएको छैन । तर चरणबद्ध भिसा सुचारु गर्ने नियम अनुशार अरु कैयन श्रेणीमा भने सिमित संख्यामा भिसा जारी गरिएको छ ।

सन् २०२१ का लागि डिभी विजेता नेपालीहरुको संख्या भने ३८०१ रहेको छ । उनीहरुले गत अक्टोबर १ देखि भिसा पाउन सुरु गर्ने नियम भएपनि ट्रम्पको आप्रवासन रोकका कारण भिसा पाउनमा ढिलो भएको थियो । तर अहिले बाइडेन प्रशासनले रोक हटाउँदा पनि भिसा जारी नगर्नुले उनीहरुमा अन्यौल छाएको छ ।

सन् २०२१ का डिभी विजेताहरुले आगामी सेप्टेम्बरको अन्त्यसम्म भिसा पाइसक्नुपर्ने नियम रहेको छ । सन् २०२१ का डिभी विजेताहरुमा नेपाल एसियामा दोश्रो भएको छ ।

आर्थिक बर्ष २०२२ का गत अक्टोबर ७ देखि डिभीका लागि आवेदन खुलेकोमा नोभेम्बर १० सम्म डिभी लोटरी भरिएको थियो । यो डिभीको नतिजा भने सन् २०२१ को मे ८ मा सार्वजनिक हुनेछ ।

डिभी लोटरीको नतिजा आगामी शनिबारदेखि

डिभी लोटरी २०२२ को नतिजा आगामी शनिबारदेखि सार्वजनिक हुने भएको छ । नेपाली समय अनुशार शनिबार राती  पौने १०  बजेदेखि डिभी लोटरीको नतिजा हेर्न सकिनेछ । गत अक्टोबर ७ देखि डिभीका लागि आवेदन खुलेकोमा नोभेम्बर १० सम्म डिभी लोटरी भरिएको थियो ।

अमेरिकाको न्युयोर्क समय अनुशार मे ८ तारिख अपरान्ह १२ बजेदेखि डिभी लोटरीको नतिजा सार्वजनिक हुने अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेट ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ ।

अमेरिकी कङ्ग्रेसको कार्यादेश प्राप्त डाइभर्सिटी आप्रवासी भिसा कार्यक्रम अमेरिकी विदेश मन्त्रालयले वार्षिक रूपमा सञ्चालन गर्ने गर्दछ । आप्रवासन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २०३(सी) ले ऐतिहासिक रूपमा कम दरमा संयुक्त राज्य अमेरिका आप्रवासन गर्ने देशका व्यक्तिहरूलाई “डाइभर्सिटी आप्रवासी” का रूपमा एक वर्गको हैसियत प्रदान गर्ने व्यवस्था गरेको छ ।

आर्थिक वर्ष सन् २०२२ का लागि ५०,००० डाइभर्सिटी भिसा (डिभी) उपलब्ध गराइनेछ ।

Leave a Reply

Your email address will not be published.