अमेरिकी प्रभाव कम गर्न चीनको बाक्लो आउजाउ, आफू बलियो बन्न वाम गठबन्धन चिनियाँ कसरत

काठमाडौं : पछिल्लो पटक नेपाल मामिलामा आफ्नो उपस्थिति कमजोर भएको निष्कर्ष निकालेको चीनले भूराजनीतिक शक्ति सन्तुलन गर्न र आगामी निर्वाचनमा सम्भावित वाम एकताको अवस्था बुझ्न चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ अधिकारीलाई भ्रमणमा पठाउँदै छ। पछिल्लो पटक नेपालमा अमेरिकी प्रभाव बढ्नु, तिब्बती शरणार्थीले खुलेआम आफ्ना गतिविधि सञ्चालन गर्नु अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनपछिको परिणाम भनी चिनियाँहरूले आकलन गरेका छन्।

चिनियाँ विदेशमन्त्री वाङ यी फर्किएको चार महिना बित्न नपाउँदै चिनियाँ कम्युनिस्ट पार्टीका प्रभावशाली नेता एवं विदेश विभाग प्रमुख लिउ जियान्चाओ आइतबार काठमाडौं आउँदै छन्। चिनियाँ विदेशमन्त्री वाङ यी गत चैत ११ गते नेपाल आएका थिए।

चिनियाँ कम्युनिस्ट पार्टीको ६ सदस्यीय टोलीको नेतृत्व गर्दै आइतबार बिहान ११ बजेर ५ मिनेटमा एयर चाइनाको ४३७ नम्बर उडानबाट लिउ त्रिभुवन विमानस्थलमा ओर्लिंदै छन्। नेपालस्थित चिनियाँ दूतावासले उनको भ्रमणको संयोजन गरेको छ। दूतावासले नै शीर्ष नेताहरूको सम्भावित भेट तय गरेको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेताहरू फङ स्यौपिन, छाङ ज्यौछिन, छोइ च्याङ, चङ योया र वन चाङ्ता पनि विदेश विभाग प्रमुख लिउको प्रतिनिधिमण्डलमा छन्। चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख भएपछि लिउको यो पहिलो विदेश भ्रमण हो। उनले नेपालबाट विदेश यात्र सुरु गरेका छन्।

पार्टीको विदेश विभाग प्रमुख भएपछि लिउले असार ९ मा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र असार १० मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भर्चुअल संवाद गरेका थिए। लगत्तै असार १६ मा लिउले परराष्ट्रमन्त्री नारायण खड्कासँग भर्चुअल संवाद गरे। त्यसकै शृंखलास्वरूप नेपालका राजनीतिक दलसँग सम्बन्ध विस्तार गर्न लिउ नेपाल आउन लागेको स्रोतले बतायो।

अमेरिकाको बढ्दो प्रभाव कम गर्ने उपाय खोज्नु र सके वर्तमान सत्ता गठबन्धनलाई भत्काएर आगामी निर्वाचनका लागि कम्युनिस्ट गठबन्धन बनाउन पहल गर्नु भ्रमणको उद्देश्य रहेको चिनियाँ अधिकारीहरूले अनौपचारिक रूपमा पुष्टि गरेका छन्। यद्यपि, बेइजिङस्थित विदेश मन्त्रालयले नेपालस्थित चिनियाँ दूतावासलाई पठाएको पत्रमा विदेश विभाग प्रमुख लिउको नेपाल भ्रमणलाई फ्रेन्ड्ली भिजिट (मैत्रीपूर्ण भ्रमण) भनेको छ।

चिनियाँ विश्वविद्यालयका एक प्राध्यापकका अनुसार चीनले नेपाललाई हेर्ने विगतको दृष्टिकोणलाई परिवर्तन गर्न चाहेको छ। सातपटक नेपाल आएको बताए पनि ती प्राध्यापकले आफ्नो नाम समाचारमा उद्धृत गर्न चाहेनन्। उनले अन्नपूर्ण पोस्ट्सँग भने, ‘चीनविरुद्ध यहाँबाट भइरहेका गतिविधिलाई नजिकबाट अध्ययन गरिरहेका छौं। यस्तै अवस्था कायम रहे नेपाल र चीनको सार्वभौम सुरक्षाका लागि हामी दबाबमूलक कूटनीतिमार्फत उपस्थित हुन पनि सक्छौं।’

नेपालका कम्युनिस्ट शक्तिहरू एक भए यहाँको सार्वभौमिकता बलियो हुने भएकाले चीनले ती शक्तिहरूको एकताका लागि सुझाव दिनु स्वाभाविक रहेको उनको भनाइ छ। एमाले र माओवादी केन्द्रका नेताहरू चिनियाँ कम्युनिस्ट पार्टीको नियमित सम्पर्कमा रहको र सम्भव भए पार्टी एकता नत्र चुनावी मोर्चा बनाउनेबारे यहाँका नेताहरूसँग छलफल भइरहेको उनले सुनाए। यद्यपि, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल पार्टी एकीकरणका लागि तयार हुन्छन् भन्नेचाहिँ चीनलाई पनि पूर्ण विश्वास नरहेको उनले बताए। एकीकरण सम्भव नभए चुनावी गठबन्धन गर्न सुझाव दिइरहेको उनले जानकारी दिए।

एमाले र माओवादीका दोस्रो तहका नेताहरूबीच आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मोर्चा बनाएर लड्नेबारे छलफल भइरहेको छ। निर्वाचनमा गठबन्धन गरेर जानेबारे कम्युनिस्ट शक्तिहरूबीच ‘ट्र्याक टु’ बैठकहरू भइरहेका छन्। पछिल्लो पटक राष्ट्रिय एकता अभियान नामको पार्टी नै खोलेर वामदेव गौतमले वाम शक्तिहरूको एकताका लागि पहल गरिरहेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा पनि आगामी निर्वाचनमा कम्युनिस्ट शक्तिहरू मिल्ने विषयमा सशंकित देखिन्छन्। प्रधानमन्त्री देउवा त्यही भएर पनि माओवादी केन्द्र अध्यक्ष दाहालसँग बेलाबखत तर्सिने गरेका छन्। आफ्नो अभीष्ट पूरा भए जुनसुकै बेला दाहाल एमाले अध्यक्ष ओलीसँग मिल्न सक्ने प्रधानमन्त्रीको बुझाइ रहेको कांग्रेसका एक शीर्ष नेताले बताए। ‘प्रधानमन्त्री देउवालाई प्रचण्डसँग रत्तिभर विश्वास छैन। जुनसुकै बेला प्रचण्डले धोका दिन सक्छन् भन्नेमा प्रधानमन्त्रीज्यू सजग हुनुहुन्छ,’ ती कांग्रेस नेताले भने। कम्युनिस्ट शक्तिहरूबीच सम्भावित गठबन्धनका प्रयासहरूबारे प्रधानमन्त्री जानकार रहेको उनले बताए।

चिनियाँहरू पनि कम्युनिस्ट एकताका लागि सत्ता गठबन्धन ढाल्न खोजिरहेका छन्। आफ्नो फाइदाका लागि चिनियाँहरूले कम्युनिस्ट शक्तिहरूको एकतलाई जोड दिँदै आएका छन्। कम्युनिस्ट शक्तिहरूबीच पार्टी एकीकरण गराउने र त्यो सम्भव नभए निर्वाचनलक्षित मोर्चा बनाउन नेपालका कम्युनिस्टहरूलाई दबाब दिने चीनको लबिइङ छ। संसद्मा कम्युनिस्टहरूको उपस्थिति बलियो भए नेपालमा अमेरिकी प्रभाव कम हुँदै जाने उनीहरूको बुझाइ छ। यही अवस्था बुझ्न बेइजिङले सीपीसीका विदेश विभाग प्रमुखलाई नेपाल पठाएको चिनियाँ अधिकारीहरूले बताएका छन्।

आफू बलियो बन्न वाम गठबन्धन गराउने चिनियाँ कसरत

नेपालले एक चीन नीति अख्तियार गर्दै आएको छ। यसको मतलब नेपालबाट चीनविरोधी गतिविधि नहोस् भन्ने बेइजिङ चाहन्छ। तर, पछिल्लो सरकारको क्रियाकलापले नेपालले अख्तियार गर्दै आएको एक चीन नीतिप्रति बेइजिङको विश्वास घट्दै गएको चिनियाँ कूटनीतिज्ञले अनौपचारिक प्रतिक्रिया दिन सुरु गरेका छन्।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन भएपछि नेपालमा अमेरिकी प्रभाव बढेको र वर्तमान सरकार चिनियाँ परियोजना बीआरआई कार्यान्वयनमा उदासीन देखिएको चिनियाँहरूले बुझ्न थालेका छन्। ‘एमसीसी र एसपीपी दुवै चीनविरोधी रहेको बेइजिङले स्पष्ट रूपमा बुझेको छ। एमसीसी अनुमोदन हुनु नै बीआरआई परियोजना संकटमा पर्नु हाम्रो बुझाइ हो,’ एक चिनियाँ अधिकारीले अन्नपूर्णसँग भने। यद्यपि, कम्युनिस्ट सरकार आए बीआरआई कार्यान्वयनमा सहज हुने उनको ठम्याइ छ।

पछिल्ला घटनाक्रममा वर्तमान सरकारले चीनविरोधी गतिविधिलाई प्रश्रय दिएको बेइजिङको बुझाइ छ। चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउनु दुई दिनअघि चैत ९ मा नेपालस्थित अमेरिका, बेलायत, अष्ट्रेलिया, युरोपेली युनियनका वरिष्ठ कूटनीतिज्ञले ललितपुरस्थित तिब्बती शरणार्थी शिविरको भ्रमण गरेका थिए। त्यसको केही दिनअघि सोही स्थानमा तिब्बती शरणार्थीले आयोजना गरेको ल्होसार कार्यक्रममा अमेरिका, बेलायत, अस्टे«लियालगायत मुलुकका राजदूतहरू सहभागी भएका थिए।

अमेरिकी उपविदेशमन्त्री एवं तिब्बत मामिला संयोजक उज्रा जियाले नेपाल भ्रमणका क्रममा जेठ ७ गते स्वयम्भूस्थित तिब्बती स्कुल र जावलाखेलस्थित तिब्बती शरणार्थी शिविर भ्रमण  गरेकी थिइन्।

पछिल्लो पटक असार २२ गते  तिब्बती शरणार्थीले नेपालस्थित विभिन्न मुलुकका कूटनीतिज्ञहरूका साथमा धार्मिक नेता दलाई लामाको जन्मदिन मनाएका थिए। चिनियाँहरूको दबाबमा प्रहरीले धार्मिक नेता लामाको जन्मोत्सव कार्यक्रममा हस्तक्षेप प्रयास गरेको थियो। सञ्चारकर्मीलाई सो कार्यक्रमको रिपोर्टिङ गर्न प्रहरीले अवरोध गरेको थियो।

पछिल्लो पटक अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) रद्द गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन हुनेमा चीन सशंकित भएको छ। नेपालस्थित चिनियाँ दूतावासका डिफेन्स अटेचीले अमेरिका उड्नुअघि प्रधानसेनापति प्रभुराम शर्मालाई भेटेर एसपीपी र त्यसको कार्यान्वयनको विषयमा चासो राखेको जंगी अड्डा स्रोतले बताएको छ।


चीनले कम्युनिस्ट शक्ति मिलाएर नेपालमा स्पेस खोज्दै छ 

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला चीनलाई राजनीतिक स्पेस दिए। जुन अहिले समाप्तजस्तै छ। शेरबहादुर देउवा गत वर्ष प्रधानमन्त्री बनेपछि ओली प्रधानमन्त्री हुँदा चीनले पाएको स्पेस बन्द गरिदिए। चिनियाँ प्रभावले नै त्यो बेला नेकपा बनेको थियो। तत्कालीन नेकपा अहिले विभाजित छ।

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखको नेपाल भ्रमण कम्युस्टि शक्तिहरूको एकताका लागि नै हो। चीन कम्युनिस्टहरूको एकता गराएर नेपालमा आफ्नो बलियो स्पेस बनाउन चाहन्छ। मेरो विचारमा नेपालका वाम शक्तिहरूलाई मिलाउन खोज्नु भनेको चीनको हस्तक्षेप हो। राजनीतिक दलहरूको एकता हुनु वा छुट्टिनु भनेको त्यहाँका नेता र जनताको अधिकार हो, न कि कुनै अमुक मुलुकको।

चीनलाई हामीले कसरी व्यवहार गर्ने भनेर भारत र अमेरिकालाई हामी सोध्दैनौं। त्यस्तै भारत र अमेरिकालाई हामीले गर्ने व्यवहारबारे समेत चीनलाई सोध्न जरुरी छैन। तर, सञ्चारमाध्यममा पढे सुनेअनुसार कम्युनिस्ट शक्तिलाई एकता गर्ने उद्देश्यले सीपीसीका नेता आएका हुन भने त्यो सरासर चीनले आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोजेको हो। नेपाल छिमेकी मुलुकहरूसँग स्वतन्त्र ढंगले द्विपक्षीय सम्बन्ध अगाडि बनाउन चाहन्छ।

Leave a Reply

Your email address will not be published.