अमेरिकी प्रतिनिधिसभाबाट राहत चेकसहितको बिल पारित

१४ सयको राहत चेक र काम गुमाएकालाई बेरोजगारी विमाका अतिरिक्त साप्ताहिक ४ सय डलर लगायतका राहतहरु समेटिएको बिल मध्यरातसम्मको छलफल पछि शनिबार विहानै प्रतिनिधिसभाबाट पारित भएको छ ।

बिलका पक्षमा २१९ र विपक्षमा २१२ मत खसेको थियो । २ जना डेमोक्रेटिक सांसदहरु मैनका जारेड गोल्डेन र ओरेगनका कुर्त शरदारले बिलका विपक्षमा मतदान गरेका थिए ।

रिपब्लिकनहरुको ब्यापक विरोधका बाबजुत बजेट प्रकृयाबाट बिल पारित भएको हो । अब सिनेटमा बजेट प्रकृयाबाट बिल पारित गर्नका लागि फिलिबस्टर ६० भोटको साटो सामान्य बहुमत भए पुग्नेछ । जसका लागि रिपब्लिकनको समर्थन आवश्यक छैन ।

प्रतिनिधिसभाबाट पारित भएपनि राष्ट्रपतिको टेबुलसम्म पुग्दा भने केही संसोधन हुने देखिएको छ । सिनेटका अधिकारीहरुले न्यूनतम ज्याला १५ डलर बनाउने लगायतका प्रावधानहरु अस्वीकार गरिसकेका छन् ।

अब केहीदिनमा बिल मतदानका लागि सिनेटमा लगिनेछ । मार्च १४ अगाडि नै बिल राष्ट्रपति जो बाइडेनको टेबुलमा पुग्ने र हस्ताक्षर हुने अपेक्षा गरिएको छ ।

.

यो बिलले राष्ट्रपति जो बाइडेनको महामारी उद्दार योजनालाई नजिकबाट समेटेको छ भने विद्यालयहरु, भ्याक्सिन वितरण र राज्य तथा स्थानीय सरकारलाई धेरै रकम उपलब्ध गराउनेछ ।

बिलमा हरेक व्यक्तिलाई १४ सय डलर प्रदान गरिने उल्लेख छ । ४ जनाको परिवार भएको खण्डमा उनीहरुले ५६०० सय प्राप्त गर्नेछन् । बार्षिक आम्दानी ७५ हजार डलर भन्दा कम रहेका व्यक्ति र एकलाख ५० हजार डलरभन्दा कम रहेका दम्पत्तिले पूर्णरुपमा राहत चेक पाउनेछन् । सन् २०१९ को वा २०२० को आम्दानीका आधारमा हिसाब गरिनेछ ।

अहिले बेरोजगारी विमाका अतिरिक्त साप्ताहिक ३ सय डलर प्रदान भइरहेकोमा यो बिलले अगस्त २९ सम्म अतिरिक्त साप्ताहिक ४ सय डलर प्रदान गर्नेछ । महामारी सहायता कार्यक्रम पीयुए ५० हप्ताबाट ७४ हप्तासम्म लम्बिनेछ भने महामारी आपतकालिन बेरोजगारी क्षतिपूर्ति २४ हप्ताबाट ४८ हप्ता लम्बिनेछ ।

फुड स्ट्याम्पमा सेप्टेम्बरसम्म १५ प्रतिशत बृद्धि हुनेछ । महिला र बालबालिकाहरुका लागि पोषण कार्यक्रमका लागि ८ सय ८० मिलियन डलर खर्च हुनेछ । चाइल्ड ट्याक्स क्रेडिट पनि ६ बर्षभन्दा कम उमेरकाहरुका लागि ३६ सय डलर र ६ देखि १८ बर्षसम्मकाहरुका लागि ३ हजार डलर हुनेगरी बृद्धि हुनेछ

source khasokhas.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *