लकडाउनका कारण अमेरिकी दूतावास काठमाडौंमा सबै भिसा अप्वाइन्टमेन्ट रद्द गरिएपनि भिजिटर भिसा नविकरण भने जारी रहेको दूतावासले जनाएको छ । भिसा प्रकृयामा लैजाने अवधि नियमितको तुलनामा लामो भएपनि विगतमा भिजिटर भिसा लिएकाहरुको भिसा विना अन्तरवार्ता नविकरणको प्रकृया जारी राख्ने दूतावासले जनाएको हो ।
अप्रिल २९ बिहिबारदेखि अमेरिकी दूतावास काठमाडौंले आप्रवासी र गैरआप्रवासी भिसाका सबै अप्वाइन्टमेन्टहरु रद्द गरिसकेको छ । अर्को सुचना जारी नहुँदासम्मका लागि भिसा अन्तरवार्ताका अप्वाइन्टमेन्टहरु रद्द गरिएको दूतावासले जनाएको छ ।
पहिले नै आप्रवासी र गैरआप्रवासी भिसाका अप्वाइन्टहरु तय भइसकेकाहरुका सन्दर्भमा सेवा सुचारु भएपछि र अप्वाइन्टमेन्ट उपलब्ध भएपछि दूतावासले आफै सम्पर्क गर्ने जनाएको छ । अहिलेका लागि तय भएका सबै अप्वाइन्टमेन्टहरु रद्द हुनुका साथै नयाँ अप्वाइन्टमेन्टको मिति समेत दिइएको छैन
विना अन्तरवार्ता भिसा नविकरणका सन्दर्भमा भिसा सकिएको ४८ महिना ननाघेका व्यक्तिले सोही श्रेणीको गैर आप्रवासी नयाँ भिसा विना अन्तरवार्ता प्राप्त गर्नसक्छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लींकेनले यो सुविधा सन् २०२१ को डिसेम्बर ३१ सम्मका लागि थप गरेका हुन्।
यो सुविधा अन्तरगत विगतमा अमेरिकाको गैरआप्रवासी भिसा भएका र भिसा सकिएको ४८ महिना ननाघेकाहरुले दूतावासमा अन्तरवार्ता नै दिन नगई ड्रपबक्स सुविधाबाट नयाँ भिसा प्राप्त गर्नसक्छन् । ट्रम्प प्रशासनका विदेशमन्त्रीले यो सुविधा मार्च ३१ सम्म लम्बाएका थिए भने भिसा सकिएको २४ महिना ननाघेकाहरुलाईमात्र यो सुविधा दिइएको थियो
त्योभन्दा अगाडि भिसा सकिएको १२ महिना ननाघेकाहरुलाईमात्र विना अन्तरवार्ता सोही श्रेणीको नयाँ भिसा प्रदान गर्न सकिने प्रावधान रहेकोमा कोरोना महामारीका कारण त्यसलाई बढाएर भिसा सकिएको २४ महिना ननाघेकाहरुलाई सुविधा दिइएको थियो ।
विना अन्तरवार्ता भिसा नविकरण गर्न चाहनेहरुलाई नजिकको दूतावास वा कन्सुलेटको वेवसाइटमा हेर्न सुझाव दिइएको छ । अमेरिकी दूतावास काठमाडौंले नियमित भिसा सेवा सुचारु नगरेको अवस्थामा विगतदेखि नै विगतमा भिजिटर भिसा भएकाहरुका लागि विना अन्तरवार्ता नै सोही श्रेणीको नयाँ भिसा जारी गरिरहेको छ ।
भिजिटर लगायतका गैरआप्रवासी भिसाका सन्दर्भमामात्र यो नियम लागु हुने तर आप्रवासी भिसाका सन्दर्भमा यो नियम लागु नहुने जनाइएको छ । भिसा अन्तरवार्ता दिनुपर्ने वा नपर्ने कुराको निर्धारण सम्बन्धित दूतावास वा कन्सुलेटले गर्नेछन्
अमेरिकाको भिजिटर भिसा समाप्त भएको ४ बर्ष पूरा भएको छैन भने तपाईले त्यो भिसा दूतावासमा विना अन्तरवार्ता नै रिन्यु गर्न सक्नुहुनेछ । तर त्यसका लागि तपाईले मापदण्डहरु पूरा गर्नुपर्छ ।
तपाईको भिजिटर भिसा भिसा रिन्यु गर्नका लागि तपाईले सन् २००८ को जनवरी १ वा त्यसपछि पूरानो भिसाका लागि अन्तरवार्ता दिएको हुनुपर्छ । तपाईको पहिलेको भिसा मल्टिपल इन्ट्री सहितको हुनुपर्छ ।
पहिले जारी भएको भिसा पूरा अवधि अर्थात ५ बर्षका लागि नै जारी भएको हुनुपर्छ । भिजिटर भिसाका लागि हालेको आवेदन अस्वीकृत भएको हुनुहुँदैन भने पूरानो भिसा हराएको, चोरी भएको वा खारेज गरिएको हुनुहुँदैन ।
अमेरिकन आपतकालिन कर्मचारीहरुलाई नेपाल छाड्न अनुमति
अमेरिकी सरकारको विदेश मन्त्रालयले नेपालमा रहेका अमेरिकन कर्मचारीहरुका परिवार र गैर आपतकालिन कर्मचारीहरुलाई नेपाल छाड्न अनुमति दिएको छ । नेपालमा कोरोना संक्रमण दर दैनिक १० हजारको नजिक पुगेपछि अमेरिकाले स्वेच्छिक रुपमा नेपाल छाड्न चाहने गैर आपतकालिन कर्मचारीहरु र सबै कर्मचारीका परिवारलाई नेपाल छाड्न अनुमति दिएको हो ।
नेपालबाट नियमित व्यवसायिक उडानहरु स्थगित भइसकेका छन् । अन्तर्राष्ट्रिय उडान रोकिएको बेला नेपालबाट अमेरिका प्रस्थान गर्न चाहने अमेरिकन र ग्रिनकार्डवाहकहरुका लागि अमेरिकी दूतावास काठमाडौंले फर्म उपलब्ध गराएको छ । फर्म भरेको खण्डमा आफूहरुलाई को को व्यक्ति नेपालबाट प्रस्थान गर्न चाहन्छ भन्नेबारे बुझ्न सहयोग हुने र चार्टड उडान उपलब्ध हुनासाथ सुचनाहरु उपलब्ध गराउने दूतावासले जनाएको छ ।
अमेरिकी दूतावास काठमाडौंले भने अमेरिकी सरकारको पहलमा कुनै पनि उद्दार उडानको आयोजना नगरेको दूतावासले स्पष्ट पारेको छ । अहिलेको समयमा नेपालबाट कुनै चार्टड उडान प्रस्थान गर्नेबारे आफूहरुलाई सुचना नभएको र भविश्यमा हुने त्यस्ता उडानबारे आफूहरुलाई जानकारी प्राप्त हुनासाथ ती उडानहरुमा टिकट किन्नका लागि सुचनाहरु उपलब्ध गराउने दूतावासले जनाएको छ ।
अहिलेका लागि मे १४ सम्म अन्तर्राष्ट्रिय उडानहरु स्थगित भएपनि परिवर्तित अवस्थालाई सम्बोधन गर्न उडान स्थगन लम्बिनसक्ने तर्फ दूतावासले सचेत गराएको छ । यद्यपी सरकारले लकडाउनको बेलामा नेपाल छाड्न चाहनेहरुका लागि चार्टड उडानको अनुमति दिने चाहना व्यक्त गरेको भन्दै दूतावासले नेपाल छाड्न चाहने अमेरिकनहरुका लागि फर्मको व्यवस्था गरेको हो ।
अहिले नेपालबाट नयाँ दिल्लीमा साताको दुईवटा बाहेक सबै अन्तर्राष्ट्रिय उडानहरु स्थगित भइसकेका छन् । यसैबीच नेपालको पर्यटन मन्त्रालयले काठमाडौं फर्कन सहयोग चाहिने पर्यटकहरुका सन्दर्भमा फर्मको व्यवस्था गरेको छ । पर्यटकहरुको स्थान र अवस्थाबारे जानकारी हासिल गर्नका लागि उक्त फर्मको व्यवस्था गरिएको हो ।