काठमाडौँ — नेपालस्थित अमेरिकी दूतावासले नेपाल र अमेरिकाबीच सैन्य सम्झौता भएको दाबी गर्दै आएको दस्तावेज असत्य भएको जनाएको छ । अमेरिकी दूतावासले मंगलबार साँझ ट्विट गर्दै अमेरिकाले कुनै पनि देशलाई स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सामेल हुन नभन्ने र कुनै पनि देशले त्यसका लागि माग आएको खण्डमा त्यस मागलाई सम्बोधन गर्ने जनाएको छ ।
‘नेपाल र अमेरिकाबीच सैन्य सम्झौता भएको दाबी गर्ने केही अनलाइन सञ्चारमाध्यममा प्रकाशित दस्तावेज असत्य हो’ अमेरिकी दूतावासले भनेको छ, ‘नीतिअनुसार अमेरिकाले कुनै पनि देशलाई स्टेट पार्टनरशिप प्रोग्राम(एसपीपी)मा सामेल हुन भन्दैन तर कुनै देशबाट त्यसका लागि माग आएको खण्डमा भने त्यस्तो मागको सम्बोधन गर्दछ।’
अमेरिकाले नेपाललाई एसपीपीमा सहभागी हुनका लागि प्रस्ताव आएको विषय सार्वजनिक भएपछि त्यसले राजनीतिलाई तरंगित बनाएको छ । जटिल बन्दै गएको भूराजनीतिक परिस्थितिमा त्यस प्रकारको सम्झौतामा नेपाल जान नहुने र नेपाललाई ठूला शक्ति राष्ट्रहरुबीचको प्रतिस्पर्धा पर्न सक्ने भन्दै त्यसबाट जोगिन विज्ञहरुले सुझाव दिएका छन् ।
मंगलबार दिनभर यस विषयमा चासो र चर्चा बढेपछि साँझ दूतावासले आफ्नो भनाइ सार्वजनिक गरेको हो ।
‘स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) अमेरिकी राज्यको नेशनल गार्ड तथा साझेदार विदेशी मुलुकबीचको एक आदानप्रदान कार्यक्रम हो,’ दूतावासको ट्विटरमा भनिएको छ, ‘अमेरिकी नेशनल गार्डले स्वदेशमा भूकम्प, बाढी र वन डढेलो जस्ता प्राकृतिक विपत्तिविरुद्ध जुध्नका लागि अमेरिकाका प्रथम उद्धारकर्ताहरूलाई सहयोग गर्दछ।’
दूतावासले साढे दुई दशकदेखि कायम रहेको एसपीपीमा ९० भन्दा बढी देशसँग ८० भन्दा बढी साझेदारीहरू समावेश भएको जनाएको छ । ‘तीमध्ये अधिकांश देशहरू यस क्षेत्रमा छैनन्’ दूतावासले भनेको छ ।
दूतावासले प्रकृतिक प्रकोपसहितको विषयमा नेसनल गार्डले राम्रो काम गर्दै आएको जनाएको छ ।
‘आँधीबेहरीदेखि भूकम्प, बाढी र डढेलोसम्मका प्राकृतिक तथा अन्य विपद्को अवस्थामा अमेरिका आफ्नो अग्रपङ्क्तिका उद्धारकर्ताका रूपमा रहेका नेशनल गार्डहरूको उत्कृष्ट अभ्यासको अनुभव तथा क्षमता साटासाट गर्न चाहन्छ,’ अमेरिकी दूतवासले भनेको छ, ‘यस प्रकारको सहकार्यको सहजीकरणका लागि एसपीपी प्रभावकारी माध्यम हो।’
परराष्ट्रमन्त्री नारायण खड्काले सरकार कुनै पनि सैन्य गठबन्धनमा नजाने बताएका छन् । अमेरिकी जर्नेलको नेपाल भ्रमणका क्रममा आएको ‘स्टेट पार्टनरसीप प्रोग्राम’ (एसपीपी) प्रस्ताव सम्बन्धमा मन्त्री खड्काले उक्त कुरा बताएका हुन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा मन्त्री खड्काले अमेरिकी सेनाको प्रशान्त क्षेत्रका प्रमुख चार्ल्स ए. फ्लिनको नेपाल भ्रमणका क्रममा एसपीपीमा हस्ताक्षर अर्थात् अमेरिकी सैन्य गठबन्धन गर्ने विषय हल्लामात्रै भएको दाबी गरे ।
उनले कांग्रेस नेतृत्वको सरकार कुनै पनि सैन्य गठबन्धनमा नजाने बताए । ‘अमेरिकाका जर्नेलको नेपालको भ्रमण र उहाँको भेटघाट यो कहीं अमेरिकी सैन्य गठबन्धनमा नेपाललाई लाने प्रस्ताव हो कि, भन्ने १० बुँदे केही पत्रपत्रिकाले लेखेका छन् । स्टेट पार्टनरसीपअन्तर्गत हिजोको दिनमा एमसीसी आइरहँदा हामीले इन्डो-प्यासिफिकका कुरा गर्यौं । यसमा कुनै गठबन्धनमा सहभागी हुने कुरा भएको छैन । सैन्य गठबन्धनमा फस्न लाग्यो नेपाल भन्ने बाहिर आएको छ । त्यो होइन,’ उनले भने, ‘कांग्रेस नेतृत्वको सरकार स्वाभीमानी, राष्ट्रवादी र देशभक्ति रहेको छ । विगतमा प्रधानमन्त्री, राष्ट्रपतिको भ्रमण हुँदा कुरा उठेनन् । कहिले काहीं यस्ता विषय उठाइने गरिएको छ । तर संसद्मा म पूर्ण विश्वासकासाथ निवदेन गर्न चाहन्छु । स्वाभीमानी, राष्ट्रवादी र मुलुकको हितमा काम गर्ने सरकारले कुनै खालका सैन्य गठबन्धनमा जाँदैन । आवश्यकता छैन ।’
प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई कुनै पनि सैन्य गठबन्धनमा जान आवश्यकता नरहेको उनले बताए । उनले भने, ‘के को लागि टाढाको देशले कुन हवाई मार्ग प्रयोग गरेर कुन दिशा प्रयोग गर्छ । हामी पत्रपत्रिकाको हल्लाको पछि नजाऔं ।’
परराष्ट्रमन्त्री खड्काले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण तयारीलाई शंकाको दृष्टिले नहेर्न आग्रह गरेका थिए । दुई पक्षको सम्बन्धलाई थप मजबुत बनाउन, आपसी सम्बन्धलाई गति प्रदान गर्न र सम्बन्धका नयाँ आयाम ल्याउनका लागि दुई देशको भ्रमण तथा छलफल अपरिहार्य रहेको उनले दाबी गरे ।