अमेरिकाले नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को सहयोगमा तथ्यपरक बहसलाई स्वागत गर्ने बताएको छ । अभिव्यक्ति स्वतन्त्रता र तथ्यमा आधारित सार्वजनिक बहसलाई समर्थन गर्नेभन्दै अमेरिकी दूतावासले शान्तिपूर्वक आफ्ना भनाइ राख्न पाउनु आधारभूत प्रजातान्त्रिक अधिकार भएको भन्दै अमेरिका दशकौंदेखि नेपालको विकास र दीर्घकालीन समृद्धिको पक्षमा रहेको ट्वीट गरेको छ ।
केही दिन अघि गृह मन्त्रालयले मित्रराष्ट्रहरूका सहयोगमा सञ्चालित विकास आयोजना, त्यहाँ कार्यरत कर्मचारी, विदेशी नागरिक र तिनको सम्पत्तिलाई लक्षित गरी प्रत्यक्ष या परोक्ष रूपमा सञ्चारमाध्यम वा सामाजिक सञ्जाल प्रयोग गरी नकारात्मक टिकाटिप्पणी गर्ने, धम्कीपूर्ण अभिव्यक्ति दिने जस्ता गतिविधि गरे त्यसलाई सुक्ष्म निगरानी र विश्लेषण गरी कारबाही गर्ने व्यहोराको विज्ञप्ति जारी गरेको थियो ।
यो विज्ञप्तिपछि एमसीसीको सम्बन्धमा बोल्नेको मुख थुन्ने काम भएको भन्दै नेकपा एमालेका नेता भीम रावल लगायतले सार्वजनिक अभिव्यक्ति दिदैं सरकारसँग आफूलाई समातेर थुन्न खुला चुनौती नै दिएका थिए । विशेषतः महाकालीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएको घटनापछि विद्यार्थी संगठन लगायत अन्य संगठित समूहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको थियो । नेपालमा भारत विरोधी गतिविधि देखिन थालेको भन्दै सरकारले भारतको अनुरोध वा भारतलाई खुसी पार्न उक्त विज्ञप्ति जारी गरेको भन्दै आलोचना भैरहेको छ ।
यो विज्ञप्तिपछि एमसीसीका सदाबहार विरोधीहरू पनि अझै सक्रिय बनेका थिए । अमेरिकी दूतावासले एमसीसीका सम्बन्धमा गरिने तथ्यगत बहसलाई स्वागत गर्दै अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पार्नुले गृहमन्त्रालयको विज्ञप्तिसँग एमसीसीको साइनो नरहेको बुझिएको छ ।
भारतले भने नेपालमा भारतको विरोध हुँदा औपचारिक रूपमा गुनासो गर्ने गरेको पूर्व परराष्ट्र सचिव मधुरमण आचार्यले उल्लेख गरेका छन् ।
‘नेपालमें हमारे प्रेमीयोँका सँख्या बढरही है’, भारतका तत्कालीन प्रधानमन्त्री अटलविहारी बाजपेयीले नेपालका प्रधानमन्त्री सूर्यबहादुर थापासँगको भेटमा भनेको प्रसंग उल्लेख गर्दै उनले ट्वीटमा लेखेका छन्, ‘त्यो केही दिनअघि नेपालमा उनको पुत्ला जलाइएकोमा व्यङ्गोक्ति थियो । थापाले ‘त्यो केही हैन’ भने रोक लगाउँछु भनेनन् । कुरा यसै सामसुम भयो ।’